१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
२o८१ असोज १४ सोमबार o६:५९:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सयौँ यात्रु राजमार्गमै अलपत्र

वर्षा मत्थर भएको २४ घण्टा बितिसक्दा आइतबार साँझसम्म पनि सरकारले उद्धारमा सक्रियता नदेखाउँदा घरमै पहिरोमा पुरिएकाहरूको खोजी भएको छैन । सयौँ नागरिक राजमार्गमै अलपत्र परेका छन्, केही पैदल हिँडेरै गन्तव्य छोट्याउँदै छन् ।

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार o६:५९:oo

चितवनबाट आएको बसका १६, गोरखाबाट आएको बसका पाँच र बुटवलबाट आएको विंगर माइक्रोका १४ गरी सबै  ३५ जनाको घटनास्थलमै मृत्यु

शनिबार भिजिबिलिटीलगायत कारण देखाउँदै बाढी र पहिरोमा फसेकाहरूको उद्धारमा ढिलाइ भएको बताएको सरकारले वर्षा मत्थर भएको २४ घण्टा बितिसक्दा आइतबार साँझसम्म पनि सयौँ नागरिकको उद्धार गर्न सकेको छैन । काभ्रेमा कम्तीमा १९ जना अझै पहिरोमा पुरिएको सूचना पाएर पनि उद्धार हुन सकेको छैन भने पृथ्वी राजमार्ग र बिपी राजमार्गमा सयौँ यात्रु अलपत्र छन् । उद्धारकै पर्खाइमा दुई बिरामीले सडकमै ज्यान गुमाएका छन् । 

काभ्रेका विभिन्न पालिकामा कम्तीमा १९ जना पुरिएको सूचना प्रहरीलाई भए पनि उद्धार भएको छैन । तेमाल गाउँपालिका– २ मा शनिबार एकै घरमा आठजना पुरिएकोमा चारजनाको मात्र शव भेटिएको छ । तेमाल गाउँपालिकाका विभिन्न गाउँमा मात्रै १४ जनाको उद्धार हुन नसकेको गाउँपालिकाका अध्यक्ष चन्द्र लामाले बताए । नमोबुद्ध नगरपालिका– ५ ठोक्रेमा पहिरोमा पुरिएका दुईजना र वडा नम्बर १ श्यामपाटीमा पुरिएका दुईजनाको उद्धार हुन सकेको छैन । बेथानचोक गाउँपालिका– ४ मा पुरिएका आठमध्ये चारको मात्र शव निकालिएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए । 

रोशी खोलाले सडक कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध बनेको बिपी राजमार्गमा अलपत्रहरूको उद्धारमा ढिलाइ हुँदा दुई बिरामीले सडकमै तड्पिएर ज्यान गुमाएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका– ४ मल्लगाउँकी ९४ वर्षीया टीकामाया भुजेल र महोत्तरीको बर्दीबास नगरपालिका– ७ का ४५ वर्षीय मानबहादुर सिजालीको शनिबार मृत्यु भएको हो ।

उनीहरू शुक्रबारदेखि नै सडकमा रोकिएका थिए । टीकामाया दम र मानबहादुर मिर्गौलाका रोगी थिए । टीकामाया सार्वजनिक बस र मानबहादुर एम्बुलेन्समा काठमाडौं जाँदै थिए । मृत्युपछि शवको पनि उद्धार भएन । आइतबार सिन्धुलीतर्फ जाने सडक एकतर्फी खुलाएपछि सार्वजनिक गाडीमै फिर्ता लगेर टीकामायाको दाहसंस्कार गरिएको छ भने मानबहादुरको शव पनि एम्बुलेन्समा बर्दीबास फर्काइएको छ ।

बिपी राजमार्गको काभ्रे खण्डमा भने अझै आठ सय यात्रु अलपत्र छन् । आइतबार दुई सयजतिको हेलिकोप्टरबाट उद्धार भए पनि अधिकांश यात्रु सडकमै रहेको काभ्रे प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काले जानकारी दिइन् । उनका अनुसार केही मान्छे हिँडेरै काठमाडौंतिर लागेका छन् । एउटा समूह भकुन्डेसम्म आइपुगेको छ । काभ्रे खण्डको ठाउँ–ठाउँमा राजमार्ग क्षतिग्रस्त छ । 

झ्याप्ले खोला पहिरोका कारण पृथ्वी रागमार्गअन्तर्गत धादिङ खण्डमा पनि सयौँ सवारी र यात्रु अझै अलपत्र छन् । केही सवारीसाधन टनेल छिचोलिएको निर्माणाधीन सुरुङमार्गबाट पास गराइए पनि आइतबार साँझसम्म त्यहाँबाट तल चार किलोमिटरजति गाडीको लाइन लागेको थियो । साँझ ७:३० बजेतिर झ्याप्ले खोला पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । 

 झ्याप्ले खोलाकी स्थानीय सरू तामाङले जे देखिन् : यात्रुले गुहार भन्न पनि पाएनन्
काठमाडौंको चन्द्रागिरि नगरपालिका– २ की ३८ वर्षीया सरू तामाङको जस्ताको टहरा झ्याप्ले खोला किनारमै छ । अविरल वर्षाको त्रासमा रातभर जागा रहेकी सरू शनिबार बिहान ४ बजे ओछ्यानमा झकाउँदै मात्रै के थिइन्, जमिन थर्किँदै आएको डरलाग्दो आवाजले झसंग भइन् । 

‘हतपत टहराको ढोका खोलेँ । त्यहीवेला झ्याप्ले खोलामाथिको ढिस्को सामुन्ने बज्रियो । जमिनमा फेरि कम्पन भयो । आत्तिएर सडकको डिलमा पुगेँ । पहिरो खसेको ढिस्कोतर्फ नियालेँ । अविरल वर्षासँगै वेगले सडकतर्फ माटोको लेदो झरिरहेको थियो,’ उनले सुनाइन् । सडकको भित्तातर्फ लाइनमा बसेका यात्रुवाहक बसतर्फ उनको नजर पुग्यो ।

जो काठमाडौं प्रवेशका लागि पाँच घण्टादेखि प्रतीक्षारत थिए । हेर्दाहेर्दै ढिस्कोबाट झरेको लेदोले यात्रुवाहक बा.३ज १३४५ नम्बरको बसलाई पुरिदियो भने ना.४ख २२७० नम्बरको अर्को बसलाई सडकभन्दा तलको खोँचमा झारिदियो । दुवै बसका यात्रुले गुहार भन्न पनि पाएनन् । सरूका अनुसार लु.१ज ४५७८ नम्बरको माइक्रो भने सुरुकै चरणमा पुरिसकेको थियो ।

‘बसको ठिक पछाडितर्फ थिए, दुईवटा टुरिस्ट बस । ढिस्कोबाट बगेर आएको लेदो दुवै बसको हुटमा थुप्रियो । पहिरोले धकेलेर बसलाई अर्को किनारमा पुर्‍यायो,’ उनले घटनाबारे भनिन्, ‘लेदोले बसको झ्यालमा क्षति पु¥यायो । भाग्यवश बसको हुट बलियो थियो । यात्रुहरू बालबाल बाँचे ।’ 

यी सबै दृश्य प्रत्यक्ष नियालिरहेकी सरूलाई अब बाँचिन्न भन्ने लाग्यो । ज्यान जोगाउन चाँडोभन्दा चाँडो घटनास्थलबाट भाग्ने मनस्थिति बनाइन् । ढिस्कोबाट झरेको लेदोले धादिङतर्फ जाने सडक पूर्ण रूपमा अवरुद्ध थियो । त्यसो हुँदा उनी अब नागढुंगातर्फ अघि बढ्नुको विकल्प थिएन । अघि बढिन्, तर त्यसतर्फ पनि जान सकिनन् । किनकि ढिस्को खसेर त्यसतर्फको सडक पनि अवरुद्ध भइसकेको थियो । 

विलखबन्धमा परेकी उनले उद्धारका लागि प्रहरीलाई खबर गरिन् । स्थानीय तहका जनप्रतिनिधिसँग गुहार मागिन् । तर, उद्धारमा कोही आएनन् । शनिबार अपराह्न २ बजेतिर वर्षा कम हुँदै गयो । प्रहरी बल्ल घटनास्थल आइपुग्यो । आइतबार नयाँ पत्रिका टिम झ्याप्ले खोला पुग्दा उनकै टहरामा भेटिएकी सरूले अगाडि भनिन्, ‘पहिरोले बस थिच्यो । सडक पूर्ण रूपमा अवरुद्ध बन्यो । यात्रुहरू सडकमा गुहार मागिरहेका थिए । मसँगै रहेका अर्का यात्रुले प्रहरीलाई उद्धारका लागि टेलिफोन गरे । स्थानीय जनप्रतिनिधिलाई पनि उद्धार गर्न भन्यौँ । तर, हाम्रो आवाज कसैले सुनेनन् । शनिबार दिउँसो २ बजेतिर मात्रै प्रहरी घटनास्थल आइपुगेको थियो ।’

चितवनबाट १६ यात्रु बोकेर आएको थियो बा.३ज १३४५ नम्बरको बस । सबै यात्रु त्यहीँ अस्ताए । ना.४ख २२७० नम्बरको बस भने गोरखाबाट काठमाडौंतर्फ आएको थियो । बसमा सवार पाँचै यात्रुको ज्यान गयो । त्यस्तै, बुटवलबाट आएको लु.१ज ४५७८ नम्बरको विंगर माइक्रोमा रहेका १४ यात्रुको पनि त्यहीँ ज्यान गयो । 

झ्याप्ले खोला पहिरोले ठुलो मानवीय क्षति निम्त्यायो । योलगायत साना–ठुला अन्य पहिरोले राजमार्ग अवरुद्ध हुँदा कैयौँ यात्रु सडकमा अलपत्र परे । आइतबारसम्म पनि कतिपय यात्रु सडकमै अलपत्र छन् । सरकारले उद्धार गरेको छैन । पशुपतिनाथको दर्शन गर्न शुक्रबार साँझ लुम्बिनीबाट पर्यटक बसमा हिँडेका भारतीय पर्यटकको टोली झ्याप्ले खोलाको पहिरोले दुई दिन थुनिए । पहिरो खस्नुभन्दा केही समयपछि मात्रै पुगेका उनीहरू धन्न जोगिए । राजस्थानबाट तीर्थाटनका लागि आएका ३० जनाको टोलीको उद्धार नभएपछि उनीहरू भोकभोकै भिज्दै हिँडेरै पशुपति दर्शन गर्न जाने निर्णयमा पुगे । आइतबार उनीहरूले पशुपति दर्शन गरे । 

टोलीका एक गिरधरसिंह सिसोडियाले भने,‘हामी पशुपतिनाथ मन्दिरको दर्शन गर्न आएका थियौँ । सडकमा पहिरो खस्यो । यात्रुवाहक बस पहिरोले पुरिए । अर्कोतर्फ भाग्न खोज्दा त्यता पनि पहिरो खस्यो । हामी त मृत्युको ‘ट्रयाप’मा फसेझैँ लाग्यो । घनघोर वर्षामा रातभर भिज्यौँ । धन्न बाँचियो ।’ 

अघिल्लो बसका यात्रु पहिरोमा पुरिए । पछि रहेका बसका यात्रु लाखापाखा लागे । तर, भारतीय पर्यटकका लागि झ्याप्ले खोला नौलो ठाउँ थियो । उनीहरू कहीँ जान सकेनन् । उद्धारका लागि चाँडै नै सुरक्षाकर्मी वा स्थानीय सरकार आउने आशामा थिए उनीहरू । तर, त्यसो हुन सकेन । राजस्थानका सुरेन्द्रसिंह दरमारले नेपाल सरकारप्रति लक्षित गर्दै नमिठोसँग गुनासो पोखे, ‘चारधाममध्येको एक पशुपतिनाथ मन्दिर हो । भारतबाट मात्रै हामीजस्ता धेरै पर्यटक आउँछन् । हामी अलपत्र बन्यौँ । दुई दिनसम्म पनि हाम्रो उद्धार हुन सकेन । हामीलाई यहाँ सरकार नै नभएजस्तो भान भयो । जेहोस् पशुपतिनाथको कृपाले ज्यान जोगियो । त्यसैमा हामी खुसी छौँ ।’

शनिबार बिहानदेखि आइतबार साँझ ७:३० बजेसम्म नै नागढुंगा सडक पूर्ण रूपमा अवरुद्ध बन्यो । उपत्यकाबाट बाहिरिने ट्रक तथा बसका लस्कर थानकोटदेखि नागढुंगासम्मै देखिन्थे । उता धादिङतर्फ झ्याप्ले खोलादेखि बस र ट्रकका लस्कर सडकमा देखिन्थे । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम केसीले काठमाडौैं भित्रिने बस तथा ट्रकको लाइन धादिङतर्फ करिब चार किलोमिटरसम्म पुगेको बताए । उनले भने, ‘शुक्रबार र शनिबारको अविरल वर्षाले धादिङतर्फको सडकखण्डमा मात्रै ४८ ठाउँमा पहिरो खसेको छ । धादिङतर्फका पहिरो करिब–करिब पन्छाइसकिएको छ । सडकमा बस र ट्रकको लाइन निकै लामो छ । 

करिब चार किलोमिटरसम्म बस तथा ट्रकका लाइन होलान् ।’नागढुंगा नाकाबाट धादिङतर्फ प्रवेश गर्ने सडकमाथिको एउटा ढिस्को छैन, जुन अविरल वर्षासँगै सडकमा नखसेको होेस् । नागढुंगा नाकाबाट झ्याप्ले खोलासम्मको दूरी करिब साढे एक किलोमिटर मात्रै छ । तर, यसबिचमा १० भन्दा धेरै ठाउँमा लेदोसहितको पहिरो गएको छ । कति ठाउँमा रुख ढलेर सडकमा आइपुगेका छन् त कति ठाउँमा माटोको ढिस्को । नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीले शनिबार दिउँसो २ बजेबाट पहिरो पन्छाउन सुरु गरेकोमा आइतबार साँझ ७:३० बजेसम्म पनि जारी थियो । 

प्रहरी वृत्त थानकोटका डिएसपी सूर्यप्रसाद सुवेदीले भने, ‘शनिबार र आइतबार दिनभरजसो एक्स्काभेटर प्रयोग गरी पहिरो पन्छाए, मृतकको शव निकाले । अवरुद्ध भएको झन्डै ३६ घण्टापछि साँझ ७:३० पछि भने पृथ्वी राजमार्ग बल्ल एकतर्फी रूपमा खुलेको छ । अहिले भने यात्रुवाहक बस तथा ट्रकहरू एकतर्फी रूपमा आउजाउ गरिरहेका छन् ।’ 

काभ्रे खण्डमा दुई सयको उद्धार, अझै आठ सय यात्रु अलपत्र

बिपी राजमार्गको काभ्रे खण्डमा अझै आठ सय यात्रु अलपत्र छन् । आइतबार दुई सयजतिको हेलिकोप्टरबाट उद्धार भए पनि अधिकांश यात्रु सडकमै रहेको काभ्रे प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काले बताइन् । उनका अनुसार केही मान्छेहरू हिँडेरै काठमाडौंतिर लागेका छन् । एउटा समूह भकुण्डेबेँसीसम्म आइपुगेको छ । काभ्रे खण्डको ठाउँ–ठाउँमा राजमार्ग क्षतिग्रस्त छ । मंगलटार बजार बाढीले क्षति गर्दा आवतजावत रोकिएको छ । जसका कारण दुवैतर्पm सयौँ गाडी रोकिएका छन्, यात्रु अलपत्र छन् ।

 सिन्धुलीखण्डमा एम्बुलेन्स र गाडीमै बिरामीको ज्यान गयो
बिपी राजमार्ग अवरुद्ध हुँदा दुई बिरामीले गाडी र एम्बुलेन्समै प्राण त्यागेका छन् । कमलामाई नगरपालिका– ४ मल्लगाउँकी ९४ वर्षीया टीकामाया भुजेल र महोत्तरीको बर्दीबास नगरपालिका– ७ का ४५ वर्षीय मानबहादुर सिजालीको बाटोमै ज्यान गएको हो । टीकामाया दमले ग्रस्त थिइन् भने मानबहादुरलाई मिर्गौलाको समस्या थियो ।

उनीहरूलाई उपचारका लागि शुक्रबार काठमाडौं ल्याइँदै थियो । तर, रोशी खोलाको बाढीले राजमार्ग भत्किएर शुक्रबार अवरुद्ध बनेपछि उनीहरू बाटोमै रोकिएका थिए । यो अवस्थामा अगाडि बढ्न सक्ने स्थिति भएन । बिपी राजमार्गको खुर्काेट–मूलकोटको बिचमा सडक भासिएपछि गाडी र एम्बुलेन्स पछाडि फर्काउन पनि नसक्ने स्थिति बन्यो । त्यसपछि उनीहरू एक दिन बाटोमै बस्न बाध्य भए । समयमै उद्धार नहुँदा भुजेलले बाटोमा नै  बा.२१च ७५२३ नम्बरको गाडीमै देहत्याग गरिन् । प्राण त्यागेपछि पनि उनको शव गाडीमै थियो । आइतबार सडक एकतर्फी खुलाएपछि मात्र दाहसंस्कार गरिएको छ । 

मानबहादुरले पनि ज.१च १७०८ नम्बरको एम्बुलेन्समा प्राण त्यागेका छन् । आइतबार दिउँसो मात्र एम्बुलेन्स सिजालीको शव बोकेर बर्दीबास फर्किएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले भने बिरामीको मृत्यु भएको जानकारी आइतबार बिहान मात्र प्राप्त भएको बताए । ‘सडक अवरुद्ध भएपछि सयौँ गाडी रोकिएका थिए । तर, बिरामी रहेकोबारे हामीलाई जानकारी गराइएको थिएन,’ काफ्लेले बताए । 

तस्बिर : अमुल थापा/नयाँ पत्रिका