१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ९ बुधबार १७:१३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भोलि दिउँसोदेखि आइतबार बिहानसम्म देशभर भीषण वर्षा हुने, ५६ जिल्ला ‘रेडअलर्ट’मा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १७:१३:oo

मंगलबारदेखि सक्रिय बनेको मनसुनी प्रणालीका कारण बिहीबार दिउँसोबाट देशभर भीषण वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ।

यो अवधिमा बाढीपहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा राखेको छ। महाशाखाले सोमबार राति विशेष बुलेटिन जारी गर्दा बिहीबारदेखि शनिबारसम्मका लागि २७ जिल्लामा रेडअलर्ट जारी गरेको थियो।

तर, वर्षा गराउने प्रणाली नेपाल नजिक झन शक्तिशाली बनेकाले वर्षा हुने क्षेत्र र असर बढी पर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

‘यो वर्षाले धानबालीलाई त असर गर्छ नै, यो साताभर किसानलाई धान नकाट्न अनुरोध छ, काटिसकिएको छ भने भित्र्याउनुहोला,’ मानन्धरले भनिन्, ‘यसबाहेक पर्वतारोहणमा नजान अनुरोध छ। बाढीपहिरोका घटना पनि बढ्न सक्ने भएकाले सचेत रहनुहोला।’

रेडअलर्ट जारी भएका जिल्लामा रात्रिकालीन बस चलाउन रोक लगाउने निर्णय सरकारले यसअघि नै गरेको थियो। महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा र त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि आइतबार बिहानसम्म अधिकांश स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ। तराईमा हावाहुरीको समेत चेतावनी दिइएको छ।

गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भने आरिघोप्टे तहको वर्षाको सम्भावना छ। 

कहिले के हुन्छ ?
बिहीबार  ः
बिहीबार दिउँसोदेखि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी तथा लुम्बिनीका थोरै स्थान तथा मधेशका एक–दुई स्थानमा भीषणदेखि अत्यधिक वर्षाको चेतावनी दिइएको छ। तराईमा हावाहुरी चल्नेछ।

शुक्रबार : शुक्रबार पनि देशभर वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका केही स्थान तथा मधेशका थोरै स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ। तराईमा हावाहुरीको समेत सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा अत्यधिक वर्षाको चेतावनी दिइएको छ।

शनिबार : अधिकांश स्थानमा वर्षा हुनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ। लुम्बिनी, गण्डकी तथा कर्णालीका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

आइतबार : आइतबार बिहानसम्म वर्षा हुनेछ। देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि आइतबार दिउँसोदेखि मौसममा सुधार आउने मौसमविद् मानन्धरले बताइन्। गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यी हुन् रेडअलर्ट जारी भएका ५६ जिल्ला
कोशी :
 झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर

मधेश : सिराहा, सप्तरी र पर्सा

बागमती : मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप

गण्डकी : म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ

लुम्बिनी : रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया

कर्णाली : जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान

सुदूरपश्चिम : कैलाली, डोटी र अछाम