१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १४ सोमबार १o:४१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एभरेस्ट फ्रेन्चाइज महिला भलिबल आजबाट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १o:४१:oo

नेपालमा पहिलोपटक आयोजना हुन लागेको एभरेस्ट महिला लिग सोमबारदेखि सुरु हुँदै छ । लिगमा सहभागी ६ क्लबका कप्तान तथा प्रशिक्षकले तयारी पूरा भएको र उपाधि जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्ने बताएका छन् । लिगमा सहभागी ६ वटै टोलीले विदेशका राम्रा खेलाडी अनुबन्धित गरी टिम बलियो बनाएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । 

अधिकांश सहभागी हुने घरेलु महिला खेलाडी विभागीय टोलीमा आबद्ध छन् । विभागीय टोली एपिएफ, आर्मी र पुलिसले समयै खेलाडी फुकुवा नगरेका कारण तयारीमा फरक परेको सहभागी फ्रेन्चाइज टोलीले दुःखेसो पोखेका छन् । ‘हामीसँग आबद्ध भएका खेलाडी केही विभागीय क्लबमा आबद्ध छन्, उनीहरूले समयै खेलाडी रिलिज नगर्दा सामूहिक रूपमा समयमै अभ्यास गर्न पाएनौँ,’ उनीहरूको संयुक्त भनाइ छ, ‘हामीले एक साता पनि सबै खेलाडीलाई एकै साथ प्रशिक्षण 
गराउन पाएनौँ ।’ 

आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले आयोजना हुने लिगमा मधेश युनाइटेड, चितवन शक्ति, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णालीले प्रतिस्पर्धा गर्दै छन् । १९ असोजसम्म हुने लिगको सोमबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा ललितपुरले काठमाडौं स्पाइकर्सविरुद्ध उद्घाटन खेलमा सामना गर्नेछ ।

विदेशी खेलाडीले टोली बलिया
काठमाडौंका प्रशिक्षक जगदीश भट्टले उपाधि जित्न खेल्ने बताए । ‘हाम्रो लक्ष्य उपाधि नै हो । यसैअनुसार तयारी भएको छ,’ राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका भट्टले भने । ‘विदेशी खेलाडी आएसँगै टिम बलियो भएको छ । हाम्रो लक्ष्य उपाधि जित्ने हो । त्यसका लागि तयार छौँ,’ राईले भने । ललितपुरका सहायक प्रशिक्षक योगेश हमालले तयारी राम्रो नभएको बताए । उनले विभागीय टिमले समयमै खेलाडी नदिँदा तयारी प्रभावित भएको बताए । ‘विभागीय टिमले खेलाडी समयमै फुकुवा नगर्दा तयारी नै राम्रो हुन पाएन,’ हमालले भने, ‘एक दिन मात्रै पूरा टिम राखेर अभ्यास गरेका छौँ ।’

यसअघि आयोजकले विभागसँग सहकार्य नगरी आफ्नो खेलाडी लिएको र मार्की घोषणा गरेपछि खेलाडीलाई प्रतियोगितामा सहभागी हुन रोक लगाएको थियो । प्रतियोगिताको तीन दिनअघि मात्रै विभागीय टिम र आयोजकबिच कागजी प्रक्रिया मिलेपछि खेलाडी फुकुवा भएको थियो । काठमाडौंको मार्कीमा उषा भण्डारी छिन् । मधेशको मार्कीमा निरुता ठगुन्ना, चितवनमा राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही, ललितपुरकी लिबेरो सलिना श्रेष्ठ, गण्डकीकी सरस्वती चौधरी र कर्णालीमा मिडब्लकर सुमित्रा रेग्मी मार्की खेलाडीका रूपमा छन् । कर्णालीका प्रशिक्षक तथा न्यु डायमन्ड एकेडेमीका सञ्चालक कुमार राईले विदेशी खेलाडीको आगमनले टिम मजबुत भएको बताए ।