१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
तस्बिर सौजन्य : आशबहादुर ब्लोन
२o८१ असोज १४ सोमबार १२:३७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हेटौँडा–काठमाडौं जाेड्ने दुई सडक र धरान–चतरा सडक सञ्चालनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १२:३७:oo

गत बिहीबारदेखि शनिबारसम्मको अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण अवरुद्ध हेटौँडालाई संघीय राजधानीसँग जोड्ने दुईवटा र मकवानपुर र सिन्धुली जोड्ने एउटा राजमार्ग सोमबार बिहानबाट पुनः सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार पहिरो खसेर अवरुद्ध भएका त्रिभुवन राजपथअन्तर्गत हेटौँडा–भैँसे–चित्लाङ–चन्द्रागिरि–काठमाडौं र त्रिभुवन राजपथअन्तर्गत नै हेटौँडा–भैँसे, सिमभञ्ज्याङ–पालुङ–नौबिसे तथा मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा–सिन्धुली–धरान–चतरा सडक पुनः सञ्चालनमा आएका हुन्।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले वर्षासँगै खसेको पहिरो पन्छाएपछि उक्त सडक खण्डहरू सञ्चालनमा आएको जानकारी दिए। प्रहरी निरीक्षक सापकोटाका अनुसार हेटौँडालाई काठमाडौंसँग जोड्ने अन्य चारवटा सडक खण्डहरू अझै पनि अवरुद्ध छन्।

हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी–फाखेल सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका– २ सिमखोलामाथिको पुल भत्किएकाले उक्त सडक अवरुद्ध छ। यस्तै, कुलेखानी–सिस्नेरी–छैमले सडक खण्डअन्तर्गत इन्द्रसरोवर– ३ रामचन्द्र भञ्ज्याङ र सिस्नेरी बजारमा बाढी र पहिरोले सडकमा क्षति पुर्‍याउँदा सडक पूर्ण रूपमा अवरुद्ध छ।

यता कुलेखानी–मार्खु सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका– १ सिम्लाङमा सडकमाथिबाट खसेको पहिरोले अवरुद्ध बाटो अहिलेसम्म सञ्चालनमा ल्याउन सकिएको छैन। दक्षिणकाली–छैमले–सिस्नेरी सडकखण्डकै इन्द्रसरोवर गाउँपालिका– २ सिमखोलास्थित लच्का सिमखोलामा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ सडक पूर्ण रूपमा अवरुद्ध छ।

भीमफेदी गाउँपालिका– ४ रातोमाटे, भीमफेदी– ६ ढोकाफेदीमा खसेको पहिरोले हेटौँडा–कुलेखानी जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध बनाएको छ। यसैगरी, कान्ति लोकपथअन्तर्गत भीमफेदी गाउँपालिका– ८ स्थित बागमती खोलामाथिको बगुवा पुलको मकवानपुरतर्फ बाढीले क्षति पुर्‍यााउँदा उक्त खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ।

कान्ति लोकपथअन्तर्गत नै बकैया गाउँपालिका– १२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आँपचौरमा खसेको पहिरो पन्छाउन नसक्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रहेको छ।

पानी पर्न रोकिएसँगै सडक विभाग, नेपाल प्रहरी र स्थानीय पालिकाहरूसँगको सहकार्यमा अवरुद्ध सडकबाट पहिरो पन्छाउने काम चलिरहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए।