१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ११ शुक्रबार
  • Friday, 27 September, 2024
टेकराज थामी काठमाडाैं
२o८१ असोज ११ शुक्रबार o८:४५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कारागार कार्यालयकै कर्मचारीबाट महिला कैदी बलात्कृत !

घटना ढाकछोपको प्रयास, पोल खुल्ने डरले पीडितलाई गरियो सप्तरी, सिराहा र उदयपुर कारागार सरुवा 

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ११ शुक्रबार o८:४५:oo

सप्तरी जिल्ला कारागारमा महिला कैदीबन्दी बलात्कृत भएकी छन् । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आत्महत्या दुरुत्साहन कसुरमा जन्मकैद भुक्तान गरिरहेकी महिलालाई कारागारकै कर्मचारीले बलात्कार गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय उदयपुरमा परेको छ ।

जाहेरीअनुसार बलात्कारमा आरोपी सिराहा राजविराज नगरपालिका– ८ का ३५ वर्षीय चन्दन भनिने चन्द्रनारायण यादव हुन् । उनले महिला कैदीबन्दीलाई कारागार कार्यालयको प्रशासनिक भवनस्थित बिजुलीघरभित्र लगी ५ माघ ०८० को अपराह्न ४ः३० बजे बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । बलात्कारमा संलग्न चन्दन सप्तरीस्थित कागागार कार्यालयमा १७ वर्षदेखि कार्यालय सहयोगीका रूपमा काम गर्दै आएका छन् । पीडित महिलालाई सरुवा गरी अहिले उदयपुर कारागार पुर्‍याइएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले महिला कैदीबन्दीमाथि बलात्कार भएको भन्दै जाहेरी परेको र जाहेरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा पठाइएको बताए । ‘सप्तरीबाट सरुवा भई उदयपुर कारागार आएकी महिलामाथि बलात्कार भएको जाहेरी हामीकहाँ परेको हो । जाहेरीमा उल्लेख भएअनुसार वारदातस्थल सप्तरी कारागार कार्यालय हो । त्यसैले अनुसन्धानका लागि प्राप्त जाहेरी जिल्ला प्रहरी कार्यालय, सप्तरी पठाइएको छ । अब उतैबाट अनुसन्धान प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

जिप्रका उदयपुरले गत ३० भदौमै जहेरी जिप्रका सप्तरी पठाएको हो । तर, जिप्रका सप्तरीमा अहिलेसम्म पनि जाहेरी दर्ता हुन सकेको छैन । सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जाहेरीबारे जानकारी नभएको बताए । ‘महिला कैदीबन्दीमाथि बलात्कारको विषयमा हामीकहाँ जाहेरी परेजस्तो लाग्दैन । यद्यपि, यस सम्बन्धमा बुझ्नैपर्ने हुन्छ । शाखा कार्यालयमा पनि जाहेरी आउन सक्छ,’ उनले भने ।

जाहेरीमा उल्लेख भएअनुसार पीडित महिलाले १६ साउन ०७६ देखि सप्तरी महिला कारागारमा कैद सजाय भुक्तान गर्दै आएकी थिइन् । उनले एक वर्षअघि मात्रै नाइकेको जिम्मेवारी पाएकी थिइन् । जसले गर्दा उनलाई कारागारको प्रशासनिक कार्यालयसम्म आउजाउ र कर्मचारीसँग कुराकानी गर्न छुट थियो । सोही क्रममा उनी ५ माघ ०८० का दिन कारागारस्थित प्रशासनिक भवन पुगेकी थिइन् । उनलाई कारागारमा कार्यालय सहयोगीका रूपमा कार्यरत चन्दनले विशेष काम छ भन्दै परिसरभित्रको बिजुलीघरमा लगेर जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । जाहेरीअनुसार कोठाभित्र प्रवेश गरेपछि चन्दनले चुकुल लगाए । सल थुतेर महिलाको मुख बन्द गरी सिसी देखाउँदै हल्ला गरे अनुहारमा एसिड खन्याइदिने धम्की दिए । डर, त्रास, धम्कीपछि चुपचाप बसेकी महिलालाई चन्दनले हात बाँधेर बलात्कार गरेको पीडितको भनाइ छ ।

घटना सार्वजनिक नगर्न भन्दै पीडितलाई ज्यान मार्ने धम्की
बलात्कारपछि डराएकी पीडित महिला केही दिन चुपचाप बसिन्, तर मन शान्त भएन । उनले सँगै बस्ने अर्की महिला कैदीबन्दीलाई आफ्नो पीडा सुनाइन् । खबर भित्रभित्रै फैलिएर चन्दनकहाँ पुग्यो । आफ्नो कर्तुत सार्वजनिक हुने डरले उनी आत्तिए । कारागार प्रशासनसँग मिलेर उनले महिलालाई ९ फागुन ०८० मा सिराहास्थित महिला कारागार सरुवा गराए । तैपनि उनमा बेचैनी कम भएन । उनी पटक–पटक सिराहा कारागार पुगे । र, घटना सार्वजनिक नगर्न भन्दै पीडित महिलालाई ज्यान मार्ने धम्की दिए । 

पटक–पटक सिराहा कारागार जानुपर्ने झन्झट भएपछि चन्दनले पीडित महिला कैदीबन्दीलाई गत १४ असारमा पुनः सप्तरी कारागारमै सरुवा गरेर ल्याए । घटना सार्वजनिक नगरिदिन भन्दै अनेक प्रलोभन दिए । ज्यान धम्की पनि दिए । तर, केही सीप नचलेपछि पुनः कारागार प्रशासनसँग मिलेर महिलालाई गत ८ साउनमा उदयपुर कारागार सरुवा गरे । पटक–पटक उदयपुर कारागार पुगेर उनले महिलालाई डर, धाकधम्की र प्रलोभन दिइरहे, तर महिला गलिनन् । उनी जाहेरी दिने निर्णयमा पुगिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनले गत २१ भदौमा कार्यालयमा जाहेरी दिएकी थिइन् । घटना सप्तरीमा भएको भन्दै जिप्रका उदयपुरले अनुसन्धान गर्न ३० भदौमा जिप्रका सप्तरीमा जाहेरी पठाएको थियो । तर, जिप्रका सप्तरीले भने जाहेरीको सम्बन्धमा जानकारी नभएको जनाएको छ । 

सप्तरी कारागार कार्यालय प्रमुख प्रवीणकुमार अधिकारीले घटना जाहेरीमा उल्लेख भएजस्तो नभएको बताए ।