१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
टेकराज थामी काठमाडाैं
२o८१ असोज ९ बुधबार o६:३२:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सहकारीको रकम अपचलनमा संलग्न संगीता तामाङ सहकारी बोर्डकै सदस्य नियुक्त

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार o६:३२:oo

सहकारी ठगीका 'बादशाह' डिबी बम्जन, इच्छाराज तामाङ, जिबी राई, तेजबहादुर बम्जन र ज्ञानबहादुर बम्जन परिवारकी सदस्य तथा रकम अपचलनमा संलग्न संगीता तामाङलाई परराष्ट्रमन्त्री आरजु राणाको प्रस्तावमा गरियो सहकारी बोर्डको सदस्य नियुक्त

गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र शिव शिखर बहुउद्देश्यीय सहकारीको करिब १२ अर्ब ६१ करोड अपचलनमा संलग्न संगीता तामाङलाई संसदीय छानबिन समितिले दोषी किटान गरेर प्रतिवेदन बुझाएको दुई दिन नबित्दै सरकारले सहकारी विकास बोर्डको सदस्य नियुक्त गरेको छ । ३१ भदौमा संसदीय समितिले गरेको सिफारिसअनुसार उनीमाथि कारबाही प्रक्रिया थाल्नुपर्नेमा सरकारले २ असोजको मन्त्रिपरिषद् बैठकबाट सहकारी बोर्डको सदस्यमा नियुक्त गरेर उल्टै पुरस्कृत गरेको छ । सत्तारूढ कांग्रेसको भगिनी संगठन नेपाल महिला संघकी केन्द्रीय सदस्यसमेत रहेकी संगीता कांग्रेसकै सिफारिसमा नियुक्त भएकी हुन् । 

सहकारीमन्त्रीको नेतृत्वमा रहने सहकारी विकास बोर्ड यस्तो निकाय हो जसले सरकार र सहकारी आन्दोलनलाई नीतिगत विषयमा सहयोग गर्ने, सहकारी आन्दोलनलाई प्राविधिक तथा आर्थिक सहयोग मिलाउने तथा सरकार र सहकारी आन्दोलनबिच समन्वय गर्ने जिम्मेवारी पाएको छ । तर, यस्तो निकायमा सहकारी ठगीमै संलग्न व्यक्तिलाई नियुक्ति गर्नुले जोखिममा परेका बचतकर्तामाथि सरकारबाटै ठाडो अन्याय भएको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले संगीता तामाङ बोर्ड सदस्यमा नियुक्त भएको पुष्टि गरे । उनले भने, ‘संगीता तामाङ राष्ट्रिय सहकारी बोर्डको सदस्यका रूपमा नियुक्त हुनुभएको साँचो हो । गत २ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई बोर्ड सदस्यका रूपमा नियुक्त गरेको हो जस्तो लाग्छ ।’ 

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले बोर्ड सदस्यमा नियुक्त गर्न सिफारिस गरेकी हुन् । त्यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अर्कै व्यक्तिको नाम सिफारिस गरेको थियो । तर, उक्त सिफारिसपत्र परराष्ट्रमन्त्री राणाकहाँ पुगेपछि संगीताको नाम राखेर सच्याइएको थियो । मन्त्रालय स्रोतले भन्यो, ‘सहकारी मन्त्रालयले बोर्ड सदस्यका रूपमा नियुक्त गर्न अरू नै कसैको नाममा सिफारिस गरेको थियो । पछि त्यो पत्र परराष्ट्रमन्त्रीकहाँ पुगेछ । उहाँले मन्त्रालयको सिफारिसमा चित्त बुझाउनु भएनछ । मन्त्रालयबाट गएको नाम काटेर संगीता तमाङ नाम राखिदिनुभयो । पछि मन्त्रिपरिषद् बैठकबाट पनि सोही नाम पारित भयो ।’ 

सोमबार बसेको सहकारी बोर्डको बैठकमा समेत उनी सहभागी भइसकेकी छिन् । बोर्ड अध्यक्ष बलराम अधिकारीको अध्यक्षतामा बसेको बैठकपछि सबै सदस्य सहभागी सामूहिक तस्बिर बोर्डको वेबसाइटमै राखिएको छ । 

संगीता ललितपुर सातदोबाटोस्थित तत्कालीन गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको तीन अर्ब १२ करोड ६६ लाख २२ हजार १३२ रुपैयाँ र भक्तपुर कौशलटास्थित शिव शिखर बहुउद्देश्यीय सहकारीको नौ अर्ब ४९ करोड ३२ लाख २२ हजार ८९६ रुपैयाँ डुबाउनेमध्येकी एक हुन् । 

गोरखा सेभिङबाट साबिकको गोरखा विकास बैंक स्थापनाका लागि लिएको ऋण उनले अझै चुक्ता गरेकी छैनन् । गोरखा सेभिङ एन्ड क्रेडिड कोअपरेटिभ लिमिटेडबाट अवैध रूपमा झिकिएको रकमबाटै तत्कालीन गोरखा विकास बैंक स्थापना गरिएको थियो । त्यहाँको कर्मचारीसमेत रहेकी तामाङको बैंकमा सेयर थियो । उक्त सेयर पनि उनले गोरखा सेभिङ सहकारीबाटै लिएकी थिइन् । 

यो तथ्यलाई सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले ३१ भदौमा सरकारलाई बुझाएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । ‘गोरखा विकास बैंकमा नै कर्मचारी भएर काम गरेको तथा विभिन्न सहकारी संस्थापक सञ्चालक समितिमा रहेर काम गर्ने संगीता तामाङको नाममा रहेको बैंकको सेयर पनि सहकारीले नै लगानी गरेको थियो,’ गोरखा सेभिङ सहकारीबारे प्रतिवेदनमा उल्लेख गरिएको खण्डमा लेखिएको छ । 

प्रतिवदेनअनुसार गोरखा विकास बैंकको संस्थापक डिबी (डम्बरबहादुर) बम्जन र तेजबहादुर तामाङ हुन् । तेजबहादुर डिबीकै सहोदर दाइ हुन् । बैंकको संस्थापक शेयरमध्ये सात लाख ८२ हजार ९०२ कित्ता कित्ता डिबी र तेजबहादुरको नाममा छ । उनीहरूले बैंकको सेयर खरिद गर्ने रकम गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभबाट ल्याएका थिए । सोही बैंकमा कर्मचारीका रूपमा कार्यरत संगीता डिबी र तेजबहादुरकी भान्जी हुन् । बम्जन दाजुभाइले आफूसँगै भान्जीलाई पनि गोरखा सेभिङबाट रकम निकालिदिएर बैंकको सेयर दिलाएका थिए ।

प्रतिवेदनमा भनिएको छ, ‘साबिकको गोरखा विकास बैंकको संस्थापक सेयरमध्ये सात लाख ८२ हजार ९०२ कित्ता सेयरको सेयर प्रमाणपत्र डिबी बम्जन र तेजबहादुर तामाङको नाममा रहेको भए तापनि त्यसमा लगानी भने सहकारीको थियो । तेजबहादुर तामाङ डिबीका सहोदर दाइ हुन् । त्यस्तै, गोरखा विकास बैंकमा नै कर्मचारी भएर काम गरेको तथा विभिन्न सहकारीको संस्थापक सञ्चालक समितिमा रहेर काम गर्ने संगीता तामाङको नाममा रहेको बैंकको सेयर पनि सहकारीले नै लगानी गरेको थियो । संस्थापकहरूले तत्कालीन गोरखा विकास बैंक स्थापना गर्न सहकारीबाट पैसा लिने गरेको र उक्त ऋण नै अहिलेसम्म पनि चुक्ता नभएको देखिन्छ ।’ 

गोरखा सेभिङ सहकारीका संस्थापक भने इच्छाराज तामाङ थिए । उनले पछि सिभिल सहकारी खोले । उनले पनि उक्त सहकारीको एक हजार ४८७ बचतकर्ताको पाँच अर्ब ५९ करोड ३३ लाख ११ हजार १३७ डुबाएका छन् । सोही अभियोगमा उनी अहिले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् । इच्छाराज र बम्जन दाजुभाइ नातेदार हुन् । अहिले गोरखा सेभिङ डुबिसकेको छ । तर, हालसम्म कुनै पनि बचतकर्ताको रकम फिर्ता हुन सकेको छैन । मुलुकभर कार्यक्षेत्र हुने गरी गोरखा सेभिङ ८ फागुन ०५४ मा खोलिएको थियो । बम्जन दाजुभाइले सहकारीबाट लिएको एक अर्ब ३२ करोड ५३ लाख रुपैयाँभन्दा बढी ऋण अझै तिरेका छैनन् । 

त्यस्तै, संगीता तामाङको अप्रत्यक्ष भूमिका शिव शिखर बहुउद्देश्यीय सहकारी डुबाउनमा पनि छ । शिव शिखर कृषि सहकारी र शिखरदीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय बनेको थियो । शिखरदीप बहुउद्देश्यीय भने तेजबहादुर तामाङ नेतृत्वको गोरखादीप बचत तथा ऋण सहकारी र धनबहादुर तामाङ नेतृत्वको शिखर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ मर्ज भएर बनेको थियो । मर्जपछि सहकारीको अध्यक्षमा धनबहादुर नै बनेका थिए । धनबहादुर संगीताका श्रीमान् हुन् । उक्त सहकारीको सचिव संगीता नै थिइन् । 

संसदीय समितिको प्रतिवेदनमा भनिएको छ, ‘एकीकरण हुँदा शिखर र गोरखादीप सेभिङका अध्यक्ष डिबी बम्जनकी भान्जी संगीता तामाङका श्रीमान् धनबहादुर तामाङ थिए । शिखर सेभिङको ०६५ को प्रारम्भिक साधरणसभाले अध्यक्षमा धनबहादुर तामाङ, उपाध्यक्षमा केदारनाथ शर्मा, सचिवमा धनबहादुरकी श्रीमती संगीता तामाङ र कोषाध्यक्षमा तेजबहादुर तामाङ रहेको देखाउँछ । यी दुई संस्थाको एकीकरण केदारनाथ शर्मा र तेजबहादुर तामाङले अघि बढाएका थिए ।’

शिव शिखर बहुउद्देश्यीय सहकारीले ३२ हजार ६१२ बचतकर्ताको नौ अर्ब ४९ करोड ३२ लाख २२ हजार ८९६ रुपैयाँ डुबाएको छ । तर, बचतकर्ताको रकम फिर्ता हुन सकेको छैन । 

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा संगीताबारे लेखिएको छ– गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड ८ फागुन २०५४ मा नेपालभर कार्यक्षेत्र भएर स्थापना भएको थियो । संस्थापक अध्यक्ष इच्छाराज तामाङ भए पनि त्यसपछि डम्बरबहादुर (डिबी) बम्जन तामाङले अध्यक्ष भएर संस्था सञ्चालन गरेका हुन् । संस्थापकहरूले तत्कालीन गोरखा विकास बैंक स्थापना गर्न गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभबाट पैसा लिने गरेको र उक्त ऋण नै अहिलेसम्म पनि चुक्ता नभएको देखिन्छ । साबिकको गोरखा विकास बैंकको संस्थापक सेयरमध्ये ७ लाख ८२ हजार ९०२ कित्ता सेयरको प्रमाणपत्र डिबी बम्जन र तेजबहादुर तामाङको नाममा रहेको भए पनि त्यसमा लगानी भने सहकारीको थियो । तेजबहादुर डम्बरका सहोदर दाजु हुन् । त्यस्तै, गोरखा विकास बैंकमा नै कर्मचारी भएर काम गरेको तथा विभिन्न सहकारी संस्थामा सञ्चालक समितिमा रहेर काम गर्ने संगीता तामाङको नाममा रहेको बैंकको सेयर पनि सहकारीले नै लगानी गरेको थियो ।

ठूला सहकारी डुबाउने बम्जनको ‘पारिवारिक ग्याङ’

हाल पुर्पक्षका लागि कारागारमा रहेका इच्छाराज तामाङले गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड स्थापना गरेका थिए । तर, पछि उक्त सहकारी उनले नातेदार डम्बरबहादुर (डिबी) बम्जन तामाङ र तेजबहादुर बम्जन तामाङलाई जिम्मा लगाए । आफूले सिभिल सहकारी खोले । तेजबहादुर डिबीका सहोदर दाइ हुन् । गोरखा सेभिङको अध्यक्ष डिबी बनेपछि तेजबहादुरले पनि आफ्नै नेतृत्वमा गोर्खादीप बचत तथा ऋण सहकारी संस्था खोले ।

डिबी र तेजबहादुरकी सहोदर दिदी हेमकुमारीकी छोरी हुन्, संगीता तामाङ । मामाहरूले तत्कालीन गोरखा सेभिङबाटै रकम निकालिदिएर तत्कालीन गोरखा विकास बैंकमा उनलाई सेयर दिलाइदिएका थिए ।

उनी उक्त बैंकको कर्मचारी पनि थिइन् । संगीताकै श्रीमान् धनबहादुर तामाङको नेतृत्वमा शिखर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ सहकारी सञ्चालनमा थियो । त्यसमा संगीता सचिव थिइन् ।

शिखर सेभिङ र गोर्खादीप मर्ज भएर शिखरदीप बहुउद्देश्यीय सहकारी बन्यो । पछि शिखरदीप र शिव शिखर कृषि सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी बन्यो । तेजबहादुर र डिबीकी अर्की आमापट्टिका भाइ हुन् ज्ञानबहादुर बम्जन ।

उनले पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था खोले । २६ असार ०६५ मा खुलेको उक्त सहकारी पछि बहिनीज्वाइँ गितेन्द्रबाबु (जिबी) राईलाई सुम्पिएर ज्ञानबहादुर निस्किए ।

गोरखा सेभिङ, सिभिल सहकारी, शिव शिखर बहुउद्देश्यीय र सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट मात्रै बचतकर्ताको १९ अर्ब ५६ करोड ८१ लाख ४४ हजार १२७ रुपैयाँ डुबेको छ ।