१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ९ बुधबार ११:o४:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

१२ असोजदेखि अग्रिम टिकट बुकिङ : दसैँका लागि अनलाइनबाटै टिकट काट्ने सुविधा ल्याइने 

१७ असोजदेखि रुट परमिट खुला, मालवाहक गाडीलाई रोक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार ११:o४:oo

दसैँको समय घर फर्कने यात्रुको चापलाई व्यवस्थापन गर्न आगामी शनिबार (१२ असोज)देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ । सोमबार यातायात व्यवस्था विभागमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायतका सरोकारवालाको संयुक्त बैठकले १२ असोजदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए । 

अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसाय गर्न आफ्नो घरदेखि टाढिएकाहरू दसैँमा घर फर्किन्छन् । सोही कारण सामान्य अवस्थाको तुलनामा यसवेला यात्रुको चाप अत्यधिक बढी हुन्छ । दसैँ मनाउनकै लागि घटस्थापनापछि काठमाडौं उपत्यकाबाट दैनिक लाखौँ सर्वसाधारण बाहिरिने गर्छन् । जसले गर्दा तत्काल गाडी पाउने सम्भावना कम हुन्छ । सोही विषयलाई लक्षित गर्दै सार्वजनिक यातायातको १२ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको हो । 

सामान्यतः घटस्थापनादेखि विद्यालय तथा कलेज बिदा हुन्छन् । साथै, कतिपय व्यावसायिक  कार्यालयहरू पनि त्यसवेलादेखि बन्द हुन्छन् । त्यसले गर्दा असोज १७ गतेदेखि यात्रुको चाप उच्च हुने अनुमान छ ।  

विशेष गरी सरकार र व्यवसायीबीच भाडादर वृद्धि गर्ने विषयमा सहमति जुट्न नसक्दा ढिलाइ भएको थियो । पछिल्लो तीन वर्षदेखि सार्वजनिक यातायातको भाडादर समायोजन भएको छैन । सोही कारण भाडा समायोजनको विषयमा ठोस निर्णय हुनुपर्ने व्यवसायीको माग थियो । तर, सरकारले चाडपर्वका वेला भाडादर बढाउन चाहेको थिएन । यसमा सहमति नहुँदा अग्रिम टिकट बुकिङ खुलाउन ठोस सहमति हुन सकेको थिएन । सोही क्रममा गत शनिबार भौतिक तथा यातायात मन्त्रालयमा भएको बैठकमा सरकार र व्यवसायीबिच तिहारसम्म भाडा नबढाउने सहमति भएको छ । त्यसपछि सोमबारको बैठकले १२ असोजदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । 

‘चाडपर्वलाई लक्षित यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवाप्रदायकले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा असोज १२ गते शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने,’ बैठकको निर्णयमा भनिएको छ । 

अनलाइन टिकट तयारी
यातायात व्यवसायीले अनलाइनबाटै अग्रिम टिकट बुकिङ गर्न मिल्ने व्यवस्था गर्नुपर्ने निर्णय सोमबारको बैठकले गरेको छ । राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अनलाइन टिकट बुकिङका लागि सक्दो प्रयास गरिने बताए । ‘यसअघिदेखि नै बससेवा डटकमलगायतका सेवाप्रदायकले अनलाइनबाटै सार्वजनिक यातायातको टिकट बुकिङको सुविधा ल्याएका छन् । त्यसमा अधिकांश यातायात कम्पनीहरू आबद्ध पनि भएका छन् । तर, दसैँका वेला अनलाइनबाटै बुकिङ गराउन केही चुनौती छन्,’ उनले भने ।

यता अनलाइन टिकटको सुविधा दिइरहेका सेवाप्रदायक भने यसपालिबाटै शतप्रतिशत रूपमा अनलाइनबाटै अग्रिम टिकट बुकिङ गराउन सकिने बताउँछन् । बससेवा सञ्चालन गरिरहेको दियालो टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पिआर खनालले यसका लागि यातायात व्यवसायी बढी अग्रसर हुनुपर्ने बताए ।अहिले बस सेवामा ७० भन्दा बढी जिल्लाका चार सय ३३ रुट जोडिएका छन् । 

१७ असोजदेखि रुट परमिट खुला, मालवाहक गाडीलाई रोक

यातायात व्यवस्था विभागमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायतको संयुक्त बैठक

यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्नेबाहेकका ठूला सवारीसाधनलाई १७ असोजदेखि १ कात्तिकसम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालनमा रोक लगाइएको छ । यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमा (१७ असोजदेखि १ कात्तिक)सम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय पनि भएको छ । योसँगै सार्वजनिक यात्रुवाहक गाडी त्यो अवधिमा देशभर सञ्चालन हुने र यात्रुको मागअनुसार गाडी व्यवस्थापन गर्न सहज हुने महासंघका अध्यक्ष स्वाँरले बताए ।

के–के भए निर्णय ? 
अनधिकृत काउन्टर, परिचयपत्र, पोसाक नभएका व्यक्तिहरूबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया नियन्त्रण गर्ने निर्णय पनि बैठकले गरेको छ । 

साथै, अग्रिम टिकट बुकिङ, उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने सवारीसाधनको अनुगमन यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्य प्रालि र उपभोक्तासम्बद्ध संस्थासँग सहकार्य गरी गर्नुपर्ने निर्णय पनि भएको छ । यात्रा अवधिमा यात्रुले समेत मादक पदार्थ सेवन गर्न नपाउने निर्णय गरिएको छ । यस्तै, यात्रुले अनिवार्य रूपमा टिकट लिनुपर्ने र काउन्टरबाट यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने निर्णय भएको छ । 

सडकको अवस्था र प्राकृतिक प्रकोपजस्ता काबुबाहिरका परिस्थिति सिर्जना भएर समयमा सवारीसाधन पुग्न नसकेमा सम्बन्धित यातायात कम्पनीले अर्को सवारीसाधन उपलब्ध गराउनुपर्ने भएको छ ।  

यस्तै, सवारीचालकले यात्रुलाई खाना तथा खाजा खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था मिलाउनुपर्ने सहमति पनि भएको छ । मुख्य सडकलाई समयमै मर्मत–सम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध पठाउने निर्णय भइसकेको छ । यता सडक विभागले पनि दसैँलक्षित सडक मर्मत गर्ने तयारी अघि बढाइसकेको छ । घटनास्थापनाभित्र दसैँलक्षित सडक मर्मत सक्ने लक्ष्य विभागको छ । यस्तै, लामो दूरीका यात्रुवाहक सवारीसाधन गन्तव्यतर्फ जानुअघि अनिवार्य रूपमा सवारीको यान्त्रिक अवस्था चेकजाँच गर्ने निर्णय पनि भएको छ । लामो दूरीमा गुड्ने यात्रुवाहक सवारीसाधनमा अनिवार्य रूपमा कम्तीमा दुईजना चालक राख्ने निर्णय पनि भएको छ । 

तीन सय नयाँ गाडी थपिँदै
दसैँंलाई लक्षित गर्दै व्यवसायीले तीन सय हाराहारीमा नयाँ गाडी थप गर्दै छन् । देशभर गरेर व्यवसायीले सोबराबरका नयाँ गाडी थप गर्न लागेको महासंघका अध्यक्ष स्वाँरले बताए ।  ‘घटस्थापनाबाट झन्डै तीन सय नयाँ गाडी सञ्चालनमा आउँछन्,’ उनले भने ।