१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ८ मंगलबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ८ मंगलबार o७:५६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

क्यानडाबाट नेपाल बोलाएर दुई दिन थुनामा राखी ५० लाख असुली 

तीन प्रहरीमाथि कारबाही सिफारिस

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ८ मंगलबार o७:५६:oo

एसपी प्रजित केसी नेतृत्वको छानबिन समितिले इन्सपेक्टर प्रतीक सिंह, सहायक हवल्दार गणेश खड्का र प्रहरी जवान साजन शर्मा चपाईमाथि कारबाही गर्न सिफारिस 

क्यानडामा रहेका एक युवकलाई नेपालमा बोलाएर दुई दिन थुनामा राखी प्रहरीकै मिलेमतोमा ५० लाख रुपैयाँ असुल गरिएको घटनामा तीन प्रहरीमाथि कारबाही सिफारिस भएको छ । क्रिप्टो कारोबारमा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गत १४ भदौमा आशीष आचार्यलाई पक्राउ गरेको थियो । पछि क्यानडामा क्रिप्टो कारोबार गरेको भन्दै नेपालको कानुन आकर्षित नहुने भनेर दुई दिनपछि छाडियो । यसबिचमा उनका परिवारसँग बार्गेनिङ गरेर बिचौलियामार्फत ५० लाख रुपैयाँ असुलिएको पुष्टि भएको छ । 

यो घटनामा दुई प्रहरीको मिलेमतो र एक प्रहरीको लापरबाही रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले गरेको छानबिनले देखाएको छ । एसपी प्रजित केसी नेतृत्वको छानबिन समितिले इन्सपेक्टर प्रतीक सिंह, सहायक हवल्दार गणेश खड्का र प्रहरी जवान साजन शर्मा चपाईमाथि कारबाही गर्न सिफारिस भएको हो । इन्सपेक्टर सिंहको लापरबाही देखिएकाले उनलाई सचेत गराउन र अन्य दुईको मिलेमतो रहेको भन्दै ठगी कसुरमा मुद्दा चलाउन सिफारिस भएको हो । 

पैसा असुल्ने पूर्वयोजनाअनुसार नै पक्राउ गरिएको छानबिनले औँल्याएको छ । १४ भदौमा हवल्दार खड्का बिदामा थिए । तर, क्रिप्टो कारोबार गर्नेको सूचना आएको भन्दै उनी कार्यालय गएर आशीष आचार्य र तेजबहादुर तामाङलाई पक्राउ गरी परिसर लगेका थिए । तामाङलाई भोलिपल्टै छाडियो भने आचार्यलाई थप अनुसन्धानका लागि भन्दै राखिएको थियो । 

दुई दिन थुनामा राखेर उनलाई आइतबार साँझ छाडिएको थियो । त्यसबिचमा आचार्यका परिवारले तेज तामाङलाई ५० लाख रुपैयाँ बुझाएका थिए । प्रहरीलाई बुझाउने नाममा त्यो पैसा लेनदेन भएको थियो । पैसा लेनदेन भएकै दिनमा आचार्य छुटेका थिए । तर, प्रहरी निरीक्षक प्रतीक सिंहले ‘गुडफेथ’मा छाडिएको बताएका थिए । आचार्यकी दिदीले ५० लाख बुझाएर छुटेको बताएपछि इन्सपेक्टर सिंहले माथिल्लो तहमा जानकारी गराएका थिए । त्यसपछि छानबिन सुरु भएको थियो । छानबिनको क्रममा ५० लाख लेनदेन भएको पुष्टि भएको छ । त्रिचन्द्र कलेजको शौचालयमा पैसा लेनदेन भएको प्रहरी स्रोत बताउँछ । ५० लाखमध्ये तामाङले ३५ लाख आफ्नो कृषि विकास बैंकमा रहेको खातामा जम्मा गरेका थिए । बाँकी १५ लाख कसले लियो खुल्न सकेको छैन । फरार रहेका तामाङको बैंक खाता प्रहरीले रोक्का राखेको छ । 

आचार्यको विषयमा प्रहरीलाई सूचना दिने उनै तामाङ थिए । तामाङ र आचार्य क्यानडामा सँगै बस्दथे । उनीहरू साथी हुन् । आचार्यले क्रिप्टो कारोबारबाट प्रशस्त पैसा कमाएकाले उनलाई नेपाल ल्याएर प्रहरी लगाई थर्काएर पैसा असुल्ने योजना उनको देखिन्छ । ‘तामाङले नै नेपाल आउन भनेर आचार्यलाई निकै कर गरेको देखिन्छ,’ छानबिनमा आबद्ध एक प्रहरी अधिकारीले भने । 

तामाङ र हवल्दार खड्काबिच पुरानै चिनजान भएकाले उनीहरू मिलेरै योजना बनाएको छानबिनबाट खुलेको छ । कतिसम्म भने पक्राउ परेपछि आचार्यका परिवारलाई तर्साउन पनि उनै खड्का गएका थिए । तामाङले आचार्यकी दिदीलाई महिला आयोगको क्यान्टिनमा हवल्दार खड्कासँग भेट गराएका थिए । जसमा उनले क्रिप्टो कारोबारमा पाँच वर्षसम्म कैद सजाय हुन सक्ने बताउँछन् । त्यही डरपछि उनको परिवारले छुटाउन भनेर पैसा बुझाएको थियो । प्रहरीले पैसा लिएको पुष्टि हुन सकेको छैन र पैसा बुझिसकेपछि पनि तामाङ र खड्काबिच पटक–पटक फोन सम्पर्क देखिएको छ । इन्सपेक्टर सिंहले आफूमातहतको प्रहरीलाई निगरानीमा राख्न नसकेको भन्दै लापरबाही औँल्याइएको हो । पक्राउ परेका आचार्य भने छुटेलगत्तै क्यानडा पुगेका थिए । उनका बारेमा सूचना दिएर पक्राउ गराउने र पैसा असुल्ने तामाङ पनि छानबिन सुरु भएलगत्तै फरार भएका छन् ।