१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
टेकराज थामी काठमाडाैं
२o८१ असोज ७ सोमबार o६:४९:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेस उपसभापति गुरुङलाई अनुसन्धानमै ल्याइएन, अन्य पाँचविरुद्ध मात्र पक्राउ पुर्जी

संसदीय छानबिन समितिले मितेरी सहकारीको १४ करोड ८१ लाख हिनामिनामा कांग्रेस उपसभापति गुरुङसहित ६ जनामाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरे पनि राजनीतिक शक्तिको आडमा अनुसन्धानमै ल्याइएन

Read Time : > 5 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार o६:४९:oo

ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको १४ करोड ८१ लाख हिनामिनामा संलग्न ज्योति गुरुङसहित पाँचजनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । तर, ठगीमा मुछिएका र संसदीय समितिले कारबाहीको सिफारिससमेत गरेका कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङविरुद्ध भने अनुसन्धान प्रक्रिया नै अघि बढाएको छैन । 

सांसद सूर्य थापाको संयोजकत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले धनराजविरुद्ध थप अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको थियो । समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरीलाई निर्देशन दिएका छन् । तर, गृहमन्त्री लेखकको पार्टीका उपसभापति धनराजलाई छाडेर प्रहरीले अरूविरुद्ध मात्रै पक्राउ पुर्जी जारी गरेको छ ।

धनराजविरुद्ध अनुसन्धान गर्ने कुनै निर्देशन प्राप्त नभएको सिआइबीको भनाइ छ । ‘मितेरी सहकारीको सम्बन्धमा अनुसन्धान प्रक्रिया अघि बढेको छ । घटनामा जोडिएका पाँचजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ,’ सिआइबी प्रमुख एआइजी दीपक थापाले भने, ‘पक्राउ पुर्जी बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले सिफारिस गरेकाहरूको सन्दर्भमा हो । अन्यको विषयलाई लिएर कुनै निर्देशन आएजस्तो लाग्दैन ।’ 

धनराजकी पत्नी ज्योति गुरुङ, सुजन शाक्य, ज्योतिबहादुर भण्डारी, हितमान थापा र प्रकाश थापाको संलग्नतामा सहकारीको १४ करोड ८१ लाख हिनामिना गरिएको भन्दै सहकारीका अध्यक्ष कुम्भराज गुरुङले गत १४ साउनमा बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । उजुरीमा धनराजको नामै किटेर हिनामिनामा संलग्नता रहेको उल्लेख थियो । तर, राजनीतिक दबाबमा रजिस्ट्रार कार्यालयले उनको नाम काटेर बाँकी पाँचजनाको नाम मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा सिफारिस गरेको थियो । त्यसअघि कुम्भराज जाहेरी बोकेर सिआइबी कार्यालय पनि पुगेका थिए । सम्बन्धित कार्यालयको सिफारिसविना अनुसन्धान गर्न नसकिने भन्दै त्यसवेला सिआइबीले जाहेरी फिर्ता गरिदिएको थियो । 

धनराजविरुद्ध अनुसन्धान प्रक्रिया अघि नबढ्ने भएपछि कुम्भराजसहितको टोली सरकारबाट गठित संसदीय छानबिन विशेष समितिमा पुगेर उजुरी दिएको थियो । समितिले सहकारीको कार्यालय अनुगमन गर्नुका साथै कुम्भराजको बयान लिएको थियो । उनले रकम हिनामिनामा धनराजको पनि संलग्नता रहेकोे बयान दिएका थिए । रकम अपचलनकै क्रममा धनराजले २९ फागुन ०७६ मा ज्योतिसँग कागजी सम्बन्धविच्छेद गरेका थिए । संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा धनराजमाथि थप अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको थियो । 

धनराजले सम्बन्धविच्छेदपछि ३ फागुन ०७७ मा मितेरीबाटै १२ लाख रुपैयाँ ऋण लिएका थिए, जसमा ज्योतिलाई ‘हकवाला’का रूपमा श्रीमती उल्लेख गर्दै ल्याप्चे लगाएका छन् । संसदीय छानबिन समितिसँगको बयानमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले पनि उनीहरूको सम्बन्धविच्छेद ‘नाम मात्रको’ भएको बयान दिएका छन् । सहकारी ठगीमा मुछिएका धनराजविरुद्ध छानबिन गर्न कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै आएका छन् । स्वयं धनराजले संसद्मै उभिएर ‘ममाथि छानबिन गरियोस्’ भनेका छन् । 

थापा नेतृत्वको संसदीय समितिले स्पष्ट रूपमा धनराजविरुद्ध थप छानबिन गरी कारबाही अघि बढाउन निर्देशन दिएको छ । ‘सहकारीकै कारण कतिपयले नक्कली विवाहसमेत गर्ने गरेको चर्चा छ । मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुरङसँग सम्बन्धविच्छेद गरेर पनि सँगै बस्ने गरेको चर्चा छ,’ समितिले भनेको छ, ‘निजहरूको सम्बन्धविच्छेदको मिलापत्र फैसला अनुसूची– २३ मा प्रस्तुत गरिएको छ ।

सहकारी संस्थाका तर्फबाट निज ज्योति गुरुङ र धनराज गुरुङसमेतका उपर प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, हेटौँडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्युरोमा आएकोमा समितिले सो सम्बन्धमा थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशितसमेत गरेको छ । यसअघि समितिले ज्योति गुरुङलाई खोजी गरी समितिसमक्ष उपलब्ध गराइदिन गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ ।’ 

मन्त्रिपरिषद्ले समितिको सुझाव कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई पत्रसहित सिफारिस गरेको छ ।धनराजविरुद्धको छानबिन सिफारिस गृह मन्त्रालय पुगेको थियो । तर, गृहले धनराजविरुद्ध छानबिन गर्न निर्देशन नगरेको प्रहरीको दाबी छ । ‘धनराजविरुद्ध अनुसन्धान गर्न हालसम्म कतैबाट निर्देशन आएको छैन । प्रतिवेदन त वेबसाइटमा राखिएको छ । हामीले त्यहीँ अध्ययन गरेका हौँ । तर, धनराजविरुद्ध अनुसन्धान गर्न भनिएको छैन । त्यसो हुँदा उनीविरुद्ध हालसम्म कुनै अनुसन्धान सुरु गरिएको छैन,’ सिआइबी स्रोतले भन्यो । 

गृह मन्त्रालयले भने समितिको सबै सिफारिस कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन भएको जनाएको छ । गृहप्रवक्ता ऋषिराम तिवारीले व्यक्तिविशेषभन्दा पनि समितिले गरेको सिफारिस कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन गरिएको बताए । ‘अनुसन्धान र छानबिन सम्बन्धमा व्यक्तिविशेषमा नजाऊँ । समितिले जुन–जुन विषयमा छानबिन गर्न भनेको छ, ती विषय कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयमा निर्देशन गइसकेको छ । सोहीअनुसार प्रहरीले कार्य सम्पादन गर्दै होला,’ उनले भने । 

सिआइबीमा पेस भएको जाहेरीमा उल्लेख भएअनुसार मितेरीका तत्कालीन महाप्रबन्धक ज्योतिले कम्पनीमा लगानी गर्ने भन्दै ज्योतिबहादुरको नाममा मनोमानी ढंगले १२ करोड ५० लाख रुपैयाँ झिकेकी थिइन् । रकम निकासा गर्न ज्योतिलाई मितेरीका कर्मचारी सुजन, हितमान र प्रकाशले सघाएका थिए । तर, उक्त रकम मितेरीमा हालसम्म फिर्ता भएको छैन । रकम उठाउन मितेरीले पटक–पटक प्रयास गरेको थियो । तर, ज्योति अमेरिका फरार भएपछि मितेरी संकटमा फसेको थियो । 

घटना अध्ययन गर्न मितेरीले आन्तरिक छानबिन समितिसमेत बनाएको थियो । यसक्रममा मनोमानी ढंगले झिकिएको १२ करोड ५० लाख रुपैयाँ र त्यसको ब्याज जोडेर ज्योति र उनको समूहबाट असुल गरिनुपर्ने रकम १४ करोड ८१ लाख रुपैयाँ निर्धारण गरिएको थियो । घटनामा संलग्न ज्योति ०५७ मा मितेरीमा बचत संकलकमा रूपमा प्रवेश गरेकी थिइन् । ०७० मा उनी मितेरीको कोषाध्यक्ष भइन् । फरार हुनु अघिसम्म उनी मितेरीको महाप्रबन्धक पदमा कार्यरत थिइन् । सिआइबीका अनुसार ज्योतिले सम्बन्धविच्छेदपूर्व धनराजका नाममा पनि ऋण झिकेकी थिइन् । दुईबिच २९ फागुन ०७६ मा सम्बन्धविच्छेद भयो ।

एआइजी दीपक थापा
प्रमुख, सिआइबी

मितेरी सहकारीको सम्बन्धमा अनुसन्धान प्रक्रिया अघि बढेको छ । बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले सिफारिस गरेका पाँचजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अन्यका विषयमा कुनै निर्देशन आएजस्तो लाग्दैन ।

  •  मितेरीको रकम हिनामिनामा पत्नी ज्योति गुरुङसँगै धनराजसहित ६ जनाको संलग्नता रहेको भन्दै सहकारीका अध्यक्ष कुम्भराज गुरुङले गत १४ साउनमै बागमती प्रदेश सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी दिएका थिए । तर, राजनीतिक दबाबमा रजिस्ट्रार कार्यालयले धनराजको नाम काटेर सिआइबीलाई सिफारिस गरेको थियो । 
  •  रकम अपचलन गर्ने नियतले नै २९ फागुन ०७६ मा धनराजले पत्नी ज्योतिसँग ‘कागजी डिभोर्स’ गरेका थिए । त्यसको एक वर्षपछि उनले मितेरीबाटै थप १२ लाख ऋण लिएका थिए जसमा हकवाला भनेर श्रीमतीका रूपमा ज्योतिलाई नै राखेर ल्याप्चे लगाएका थिए । 
  •  सम्बन्धविच्छेद गरेको दाबी गरिसकेपछि पनि कानुनमन्त्री हुँदा धनराजले ०८१ मा ज्योतिको दायित्वको भागसहितको ऋण एकैपटक ८४ लाख तिरेका थिए ।

सूर्यदर्शन सहकारी ठगीमा पूर्वडिआइजी जोशी पक्राउ
प्रहरीले पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा पूर्वडिआइजी छविलाल बन्जाडे जोशीलाई पक्राउ गरेको छ । सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिकोे प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री रमेश लेखकले निर्देशन दिएपछि कास्की प्रहरीको पत्रका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले ‘जरुरी पुर्जी’ दिएर जोशीलाई आइतबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो । 

कास्कीका प्रहरी प्रवक्ता विनोद शर्माले सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा अनुसन्धानका लागि जोशीलाई नियन्त्रणमा लिइएको बताए । उनलाई पोखरा ल्याइएको छ । जोशीमाथि कास्की प्रहरीले नै अनुसन्धान अगाडि बढाउनेछ । 

संसदीय छानबिन विशेष समितिकोे प्रतिवेदनमा गोर्खा मिडियाका अध्यक्ष जिबी राई, तत्कालीन प्रबन्ध–निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेल र सञ्चालक छवि जोशीमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न भनिएको थियो । सूर्यदर्शनसहित पाँच सहकारीबाट ६५ करोड रुपैयाँ अवैध रूपमा गोर्खा मिडियामा आएको समितिको निष्कर्ष थियो । सोही आधारमा प्रहरीले जोशीलाई पक्राउ गरेको हो । रम्तेल यसअघि नै पक्राउ परी पुर्पक्षका लागि थुनामा छन् भने जिबी मलेसियामा फरार छन् । पूर्वगृहमन्त्री तथा सांसद लामिछाने काठमाडौंमै छन् । 

समितिको सिफारिसमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडया नेटवर्कको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध–निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’ 

अन्य कम्पनीको हकमा पनि यसैगरी सञ्चालक, निर्णयकर्ता एवं मुख्य जिम्मेवारलाई कानुनबमोजिम जवाफदेही बनाउन भनिएको छ । संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार गोर्खा मिडियामा कानुनविपरीत सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट ६५ करोड ५४ लाख चार हजार ५३८ रुपैयाँ रकम गएको थियो । 

सूर्यदर्शनको सवा अर्ब ठगीमा १९ जनाविरुद्ध मुद्दा, १४ जना अझै फरार
सूर्यदर्शन सहकारीको एक अर्ब ११ करोड अपचलन मुद्दामा कास्की अदालतमा १९ जनाविरुद्ध मुद्दा चलेको थियो । तर, तीमध्ये पाँचजना पुर्पक्षका लागि थुनामा गएका छन् भने बाँकी फरार छन् ।सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जिबी)का मुख्य सहयोगी डन पृष्ठभूमिका महेन्द्र भोटेका नामले परिचित पोखराका शिवबहादुर गुरुङ, सहकारीका सञ्चालक समिति सदस्य भविश्वर अर्याल, उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल र सहकारीका पूर्वसचिव अनुज नकर्मी अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा छन् ।

फरार रहेकामध्ये ठगी मुद्दाका मुख्य प्रतिवादीहरू सहकारीका पूर्वअध्यक्ष जिबी, पूर्वअध्यक्ष रहेका उनका दाइ भूपेन्द्र र सहकारीका वर्तमान अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढामगरविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत १२ माघ ०८० मा डिफ्युजन नोटिस जारी गरेको थियो । कास्की प्रहरीको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले १८ असोज ०८० मा एक हजार ३६ जनाको एक अर्ब ११ करोड रकम अपचलन भएको निष्कर्षहित १९ जनाविरुद्ध मुद्दा चलाएको थियो । सहकारी ऐन, २०७४ को दफा १२४ अनुसार आठदेखि १० वर्ष कैद सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता भएको थियो ।

तर, पछि प्रहरीले सहकारीको थप अनुसन्धान गर्दा ०७२ अघिको सहकारीको सफ्टवेयर नियन्त्रणमा लिएपछि थप २५ जनाको संलग्नता पाइएको थियो । त्यतिखेर २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भए पनि पक्राउ परेका छैनन् ।