बारामा कारभित्र मृत भेटिएका व्यक्ति प्रहरीकै कर्मचारी भएको खुलेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ निवासी राजकुमार रुम्बाको शव कारमा फेला परेको हो ।
शनिबार बिहान जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–११ स्थित सडकखण्डको छेउमा बागमती नम्बरको ०१–०२८–च–७६१६ नम्बरको कारबाट रुम्बाको शव फेला परेको बारा प्रहरीले जनाएको छ । मृतक प्रहरीकै कार्यालय सहयोगी(परिचर) भएको बाराका एसपी महेन्द्र खड्काले बताए । रुम्बा सिमरास्थित विमानस्थलमा कार्यरत थिए।
अमाडार सडक खण्डको बाटोको साइडमा रोकी राखिएको कारभित्र उनको शव फेला परेको हो । मृतकको टाउको पछाडि चोट भएकाले हत्याको आशंका गरिएको छ ।
रुम्बाको हत्या हो वा होइन त्यसबारे यकिन गर्नका लागि अनुसन्धान भईरहेको एसपी खड्काले बताए । घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्तन कुकुर मगाइएको छ ।
सो कार भने राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर श्रीकान्त तिवारीको भएको खुलेको छ । काम पर्याे भनेर रुम्बाले उनीसँग कार लिएर गएका थिए।