आफ्नो पालिकाका सेवाग्राहीले सेवा नपाएको भन्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापामगरले जिल्ला प्रशासन कार्यालय गुल्मीको राहदानी शाखाको स्क्यानर तोडफोड गरेका छन् । बिहीबार स्क्यानर फुटेपछि राहदानीसम्बन्धी सेवा नै ठप्प भएको छ । तोडफोडपछि अध्यक्ष मगरलाई प्रहरीले नियन्त्रणमा लिएकोमा साँझ नै छुटेका छन् ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले टोकन प्रणालीमा राहदानी वितरण व्यवस्थित भए पनि गाउँपालिका अध्यक्षले आवेगमा तोडफोड गरेको आरोप लगाए । लिखित आत्मालोचनासहित क्षतिपूर्ति दिने सहमतिपछि प्रहरी नियन्त्रणबाट छोडिएको उनको भनाई छ ।
सेवाग्राहीकै काम गर्दागर्दै रात पर्ने अवस्थामा कार्यालय समयपछि कालिगण्डकी गाउँपालिका अध्यक्ष शाखामा पसेर स्क्यानर फुटालेको राहादानी शाखाका कम्प्युटर अपरेटर सन्देश अधिकारीले बताए ।
उनले सिसि टिभी फुटेज सुरक्षित भएकाले कर्मचारीले फुटाले भनेर गरिएको आरोप निराधार भएको बताए । उनले एक जनाको बिषयमा गाउँपालिका अध्यक्षले स्क्यानर फुटालेकाले सवै कालिगण्डकीको बिषयमातर्क दिन नहुने बताए ।
राहदानी शाखाका कम्प्युटर अपरेटर सन्देश अधिकारीका अनुसार बिहीबार र शुक्रबारका ४०–४० वटा टोकन वितरण भइसकेकोमा शुक्रबार राहदानीको काम नहुने बताए ।
नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेयले सवैखाले समस्या वार्ता र संवादको माध्यमबाट गर्नुपर्ने बताए । उनले भूगोलको समस्या उठान पनि तर्कसंगत भएकाले सेवा प्रभावित हुने गरेर सार्वजनिक सम्पति क्षति गर्न नहुने तर्क गरे ।
अध्यक्ष थापामगरले भने टाढाबाट आएका कालीगण्डकीका नागरिकलाई सेवा दिन गरिएको आग्रह कर्मचारीले अस्वीकार गरेपछि सामग्री फुटाएको बताए । ‘पहिला आउनेले टोकन पाउँछन्, कालीगण्डकी टाढा भएकाले त्यहाँका नागरिक प्रशासन आइपुग्दा टोकन सकिन्छ,’ उनले भने, ‘न्यायोचित सेवाप्रवाह हुनुपर्छ । मैले सिस्टमको विरोध गरेँ, नागरिकलाई सेवा दिन गरिएको माग सुनिएन । आवेगमा स्क्यानर फुटाएँ ।’