मुग्लिन–पोखरा सडक योजना (पश्चिमखण्ड)को म्याद दोस्रोपटक थप गरिएको छ । पृथ्वी राजमार्ग विस्तार जारी भइरहेकामा जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रोपटक म्याद थप गरिएको हो ।
पश्चिमखण्ड विस्तार गर्न आगामी २०८२ पुस १६ गतेसम्मका लागि थप भएको मुग्लिन–पोखरा सडक योजना (पश्चिमखण्ड)का इन्जिनियर सौजन्य नेपालले जानकारी दिए ।
पश्चिम खण्डमा ०७८ जेठ २ गते सम्झौता भई ०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । ०८१ भदौ १२ गतेसम्म म्याद रहेकामा त्यस अवधिमा उल्लेख्य प्रगति नभएपछि पहिलोपटक एक सय एक दिनका लागि म्याद थप भएको थियो ।
दोस्रोपटक थपिएको म्यादभित्र निर्माण कम्पनीले काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । हालसम्म यो खण्डमा ३४.९४ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । हालसम्म २३.९१ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये ५.४५ किलोमिटर दुईतर्फी र १८.४६ किलोमिटर एकतर्फी कालोपत्र भएको छ ।
पश्चिम खण्डअन्तर्गत म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र पोखरा महानगरपालिका पर्दछन् । यो खण्डमा ११ पुल निर्माण गर्ने लक्ष्य रहेकामा पाँचवटा पुल सम्पन्न भएका छन् । सडकको स्तरोन्नति हुने क्षेत्रभित्र रहेका २४ खानेपानी संस्थासँग सम्बन्धित पाइप लाइन तथा संरचना स्थानान्तरण कार्यका लागि सम्झौता भई सम्बन्धित उपभोक्ताबाट स्थानान्तरणको काम भइरहेको जनाइएको छ ।
वि.सं. २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पश्चिमखण्डको ठेक्का रु. सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।