नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल जित्न सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ८४ रन बनायो ।
पहिलो विकेटको लागि ओपनरद्वय सैफ जैव र विनोद भण्डारीले ११७ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले ठूलो स्कोर बनाउन सफल भयो । यदपि मध्यक्रम र तल्लो क्रमले सोचेजस्तो प्रदर्शन नगर्दा सुदूरपश्चिमले कीर्तिमानी रन बनाउन सकेन । ११.६ ओभरमा पहिलो विकेट गुमाएको सुदूरपश्चिमले बाँकी ९ विकेट गुमाउँदा मात्र ६७ रन बनायो ।
इंग्ल्यान्डका २६ वर्षीय बाँया हाते बलरले ४३ बलमा सर्वाधिक ६९ रन बनाए । ८ चौका र २ छक्का प्रहार गरेका जैवलाई किशोर महतोले ललित राजवंशीबाट क्याच आउट गराएका हुन् । उनले एनपिएलमा दोस्रो अर्धसतक हो । यसअघि लुम्बिनीविरुद्ध ९० रन बनाएका थिए ।
अर्का ओपनर विनोदले ३१ बलमा ४१ रन बनाए । १ चौका र ३ छक्का प्रहार गरेको विनादलाई राजवंशीले बोल्ड गरेका हुन् । तेस्रो नम्बर क्रिजमा आएका ब्रान्डन म्याकमुलेन र हरमित सिंहले समान १४ रन बनाए ।
९ रन बनाएका कप्तान दीपेन्द्रसिंह ऐरीलाई मोहम्मद मोहसिनले वैकल्पिक खेलाडी हेमन्त धामीबाट क्याच गरेका थिए । न्युजिल्यान्डका ३२ वर्षीय खेलाडी स्कट कुगेलेइनले पनि १० बलमा जम्मा १३ रन बनाए । आशा गरिएका आशिफ शेखले मात्र १ रन बनाएन सके । नरेश बुढाऐर पनि ८ रन बनाएर आउट भएका हुन् ।
टस हारेर बलिङमा आएको जनकपुरको लागि मोहम्मद मोहसिन र किशोरले समान सर्वाधिक तीन विकेट लिए । ललित, जेम्स निसमले समान एक विकेट हात पारेका हुन् । शेर मल्ल र हर्ष ठाकर विकेट विहिन भए ।
यसअघि जनकपुरलाई पहिलो क्वालिफायरमा हराउँदै सुदूरपश्चिम फाइनलमा स्थान बनाएको थियो । जनकपुर कर्णालीलाई इलिमिनेटरमा हराउँदै तेस्रो पटक सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो ।
यसअघि भएको दुबै खेलमा सुदूरपश्चिम विजयी भएको थियो । पहिलो क्वालिफायरमा सुदूरपश्चिम आठ विकेटले विजयी भएको थियो । लिग चरणमा भने सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले हराएको थियो ।