काठमाडौं महानगरपालिकाले शुक्रबार अपरान्ह आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गर्याे। महानगरका कुनै नयाँ कार्यक्रमबारे जानकारी दिन त्यो पत्रकार सम्मेलन आयोजना गरिएको थिएन । आफ्नै प्रमुख प्रशासकीय अधिकृतको ‘बदमासी’ बाहिर ल्याउन पत्रकार सम्मेलन गरिएको थियो ।
महानगरका प्रवक्ता नवीन मानन्धरले नेतृत्व गरेको कार्यक्रममा काठमाडौंको पुरानो बसपार्कस्थित काठमाडौं भ्यू टावर निर्माणसम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले बदमासी गरेको भन्दै त्यसबारे ‘खुलासा’ गरिएको थियो ।
प्रवक्ता मानन्धरका अनुसार गुरागाईले प्रक्रिया नै पुरा नभई नक्सा स्वीकृत गरेको प्रवक्ता मानन्धरको दाबी छ। सो भवनको नक्सा हालसम्म स्वीकृत भएको छैन । तर भवन निर्माणको नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाइँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको आरोप लागेको छ। ‘हामीले नक्सा पास नगरेपनि ठेकेदार कम्पनीले आधिकारीक रुपमा नक्सा पास गरेको बताएर काम अगाडि बढाउन लागेको देखिन्छ । त्यसैले एउटा कमिटि बनाएर उहाँमाथि छानबिन हुन्छ,’ प्रवक्ता मानन्धरले भने ।
स्रोतका अनुसार छानविन नसकिएसम्म उनलाई काम गर्न रोक लगाउने तयारी छ । ‘अब उहाँले महनगरमा काम गर्ने वातावरण हुन्छ जस्तो लाग्दैन,’ मेयर बालेन शाहको सचिवालयका एक अधिकारीले भने ।
स्रोतका अनुसार मेयर बालेनकै निर्देशनमा शुक्रबार पत्रकार सम्मेलन गरी प्रशासकीय अधिकृत गुरागाईको गैरकानुनी काम सार्वजनिक गरिएको हो ।
गुरागाई तीन महिनाअघि मात्र महानगरपालिकामा हाजिर भएका थिए । पछिल्लो समय बालेन र गुरागाईबीच राम्रो सम्बन्ध समेत नरहेको स्रोत बताउँछ।
गत असोजमा संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई हटाएर गुरागाईलाई काठमाडौंमा पठाएको थियो।
यसअघि यसैगरी मेयर बालेनले प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई हटाएका थिए । अधिकारीले कर्मचारी भर्नामा नगर परिषद्को निर्णय कीर्ते गरेको आरोप लागेको थियो ।
प्रमुख प्रशासकीय अधिकृतको कैफियत देखिए उहाँलाई कापमाको जिम्मेवारीबाट मुक्त गर्नुपर्छः उपप्रमुख डंगोल
यस प्रकरणमा उपमेयर सुनिता डंगोलले निष्पक्ष छानबिनका लागि आग्रह गरेकी छिन्। ‘निष्पक्ष छानविन भएपछि दोषिलाई कारबाही हुनुपर्छ, त्यसमा दुईमत भएन,’ उनले भनिन्, ‘यदि कसैले त्यहाँ षडयन्त्र रचेको रहेछ भने त्यसको पनि छानविन हुनुपर्छ । त्यसमा क–कस्को सहभागी छ त्यसको पनि निष्पक्षरुपमा छानबिन हुनुपर्छ ।’
त्यसमा एक जना व्यक्तिको मात्रै सहभागिता हो कि अरुको पनि छ भन्ने पत्ता लगाएर उनीहरुहरुलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्नेमा उनको जोड छ । ‘यो संगठित भ्रष्टाचार हो कि भन्ने पनि आशंकाहरु देखिए भने त्यस उपर पनि छानविन गरी कारबाही हुनुपर्छ,’ उपप्रमुख डंगोलले भनिन्,‘प्रमुख प्रशासकीय अधिकृतको कैफियत देखिएमा तुरुन्तै उहाँलाई कामपाको जिम्मेवारीबाट मुक्त गरिनु पर्दछ र यसमा अरु क–कस्को संलग्नता छ त्यो पनि निष्पक्ष छानविन गर्नुपर्छ । यदि यो विषयमा संगठित भ्रष्टाचार भएको रहेछ भने त्यस उपर पनि कारबाही हुनुपर्छ ।’
त्यस विषयमा क–कस्को के–के मा संलग्नता रही भ्रष्टाचार गरिएको हो त्यस उपर पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालै छानविन गर्नु पर्ने उनको भनाई छ ।
यस्ता छ काठमाडौं यस प्रकरणमा महानगरको प्रेस बिज्ञप्ती
प्रेस विज्ञप्ति
काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुरानो बसपार्कस्थित कि.नः १३७३ क्षेत्रफल २३–५–३–३ जग्गामा काठमाडौं महानगरपालिकाको नाममा टावर निर्माण गर्न २०७१/११/२० मा का.म.पा को कार्यपालिका वैठकको निर्णय भई मिति २०७१/११/२२ मा श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. र का.म.पा बिच दुई पक्षीय सम्झौता भएको यहाँहरुलाई अवगत नै छ ।
सोही कार्यको लागि मिति २०७२÷४÷२३ मा राष्ट्रिय दैनिक गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरि २०७२/५/६ मा प्लिन्थ लेभल सम्म नक्सा पास भएको मिति २०७३/४/३० मा श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. र का.म.पा बिच निर्माणको अवधि पाँच वर्ष सहित जम्मा ३० वर्षको लागि डिजाइन निर्माण सञ्चालन र हस्तान्तरणको ढाँचामा दुई पक्षिय सम्झौता समेत भएको देखिएको थियो । साथै मिति २०७४ बैशाख ८ गते दुवै पक्षविच मिति २०७३ बैशाख १३ मा कामपाले स्वीकृत गरेको नक्साभन्दा विपरीतको संरचना निर्माण गर्न नपाइने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ । सो बमोजिम भवन निर्माण इजाजत जारी सम्बन्धमा दुई तल्ला basementर जमिन तल्लादेखि १० तल्लासम्म गरी जम्मा १२ तल्लाको निर्माण गर्न नक्सा पास गरेकोमा प्लिन्थ लेभल सम्मको निर्माण कार्य गर्न स्वीकृति प्रदान गरिएकोमा प्लिन्थ लेभलसम्मको निर्माण कार्य सम्पन्न भई कामपाको प्राबिधिक जांच पश्चात प्लिन्थ लेभलभन्दा माथिको नक्सा पास गरिसकेपछि मात्र माथिको निर्माण प्रक्रिया अगाडि बढाउनु पर्नेमा सो नगरी डवल basement प्लिन्थ लेभलभन्दा माथि दुई तल्ला basement र जमिन तल्लादेखि १० तल्लासम्म जम्मा १२ तल्ला स्ट्रक्चर मात्र निर्माण भएको देखिएको भनि वडा कार्यालयको इन्जिनियरबाट फिल्ड प्रतिबेदनमा पेस भएको छ ।
श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लिबाट मिति २०८०/७/१ मा नक्सा पास म्याद थप तथा नक्सा संसोधन गर्न (भवन निर्माण मापदण्ड २०८० को FARमापदण्ड वमोजिम) निवेदन पेस गरेको थियो । त्यस्तै काठमाडौँ भवन निर्माण मापदण्ड २०७५ परिच्छेद–२ दफा १३ बमोजिम निर्माण सम्पन्न भएको भवनको हकमा हालकायम रहेको दस्तुर लिई सुपर स्ट्रक्चर नक्सा पास गर्न सकिने व्यवस्था छ । सोही सम्बन्धमा निर्माण साझेदार जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. ले सुपर स्ट्रक्चर नलिइ निर्माण गरेको जम्मा बेसमेन्ट सहित १२ तल्लाको लागि जरिवाना लिइ नक्सा पास प्रकृया अगाडी बढाइएकोमा बिभिन्न समयमा कामपाको आधिकारिक नक्सा पास प्रणाली EBPS मार्फत नक्सा पास प्रकृया अगाडि बढाइएको थियो । सोही प्रकृयामा १२ तल्लाको नक्सा पास प्रकृया अगाडि बढाउनु पर्नेमा १९ तलाको संशोधित नक्सा पेश गरेको देखिन्छ । सो नक्सा मिति २०७४ बैशाख ८ गते दुवै पक्षविच भएको सम्झौता बिपरित भएकाले नक्सा संशोधन प्रकृया रोकिएको थियो । कामपाको आधिकारिक नक्सा पास प्रणाली EBPS बमोजिम मिति २०८०/११/२२ देखि प्राबिधिक कारणले रोकिएको प्रकृया विद्युतिय नक्सा पास प्रणालीमा मिति २०८१/५/३० गते प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुख हरिशचन्द्र लामिछानेलाई फर्वाड गरिएको देखिन्छ । साथै २०८१/६/१० गते हरिशचन्द्र लामिछानेले रजिस्ट्रेसन डेस्कको अनिरा तुलाधर,अनिरा तुलाधरले वार्ड ईन्जिनियर शुशिल केसीलाई , शुशिल केसीले निर्मल कुमार भट्टराईलाई र निर्मलकुमार भट्टराईले हरिशचन्द्र लामिछानेलाई फर्वाड गरेको देखिन्छ । २०८१/६/१३ मा हरिशचन्द्र लामिछानेले निर्मल कुमार भट्टराइलाई र २०८१/६/१८ मा निर्मल कुमार भट्टराईले सुधा रिजाललाई र सुधा रिजालले निर्मलकुमार भट्टराईलाई फरवार्ड गरेको देखिन्छ । मिति २०८१/६/२० मा निर्मलकुमार भट्टराईले हरिश्चन्द्र लामिछानेलाई फरवार्ड गरी आज मिति २०८१ पुस ५ गतेका दिनसम्म कामपाको आधिकारिक नक्सा पास प्रणलीमा विभागीय प्रमुखको डेक्समै रहेको देखिन्छ । उल्लेखित व्यहोरा बमोजिम सो भवनको नक्सा हालसम्म स्वीकृत भएको छैन । तर भवन निर्माणको नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिन्छ । यस विषयमा थप छानविन गरी नियम विपरित कार्य गर्ने जो कसैलाई कानून बमोजिम कार्वाही प्रक्रियाका लागि सम्वन्धित निकायमा सिफारिस गरिन्छ ।
धन्यवाद
नवीन मानन्धर
प्रवक्ता
काठमाडौं महानगरपालिका
मिति २०८१/९/५