चर्चित टिमुरबोटे काण्डका ज्युँदा सहिद तथा कांग्रेस सोलुखुम्बुका पूर्वजिल्ला सभापति प्रभुराम बस्नेतकी धर्मपन्ती बुद्धकुमारी बस्नेतको प्रथम वार्षिक पुण्यतिथिका अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । बुद्धकुमारीका सुपुत्र शुभराम बस्नेतका अनुसार बुद्धकुमारीको प्रथम वार्षिक पुण्यतिथिको अवसर पारेर शुक्रबार पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
शंकरदेव क्याम्पसका पूर्वस्ववियु सभापति तथा कांग्रेसका युवा नेता शुभरामले स्वतन्त्र विद्यार्थी युनियन शंकरदेव र युवा रेडक्रस सर्कल शंकरदेवको संयुक्त आयोजनामा रक्तदान गरिएको जानकारी दिए ।
‘रेडक्रस अभियान : रक्तदान जीवनदान’ नारासहित आयोजित रक्तदान कार्यक्रममा विद्यार्थी, प्राध्यापक, राजनीतिज्ञलगायत १५४ रक्तदाताले रक्तदान गरेका थिए । बुद्धकुमारीको गत वर्ष क्यान्सरको उपचारका क्रममा अमेरिकामा निधन भएको थियो । पुण्यतिथिकै अवसर पारेर छोरी इन्दिरा बस्नेतले शान्तिनगरस्थित निःसहाय सेवा सदनमा वृद्धवृद्धा तथा अशक्तलाई भोजन गराएकी छिन्।
टिम्बुरबोटे कान्ड बिपी कोइरालाको नेतृत्वमा कांग्रेसले पञ्चायती व्यवस्थाविरुद्ध सशस्त्र क्रान्ति गरेकै वेला भएको थियो। १ पुस ०३१ मा सोलुखुम्बु जिल्लाकाे तिंगला गाउँको टिम्बुरबोटे जंगलमा कांग्रेसका १३ जना स्वतन्त्र सेनानीको हत्या भएको थियो।