मन्त्रिपरिषद्को बैठकले शुक्रबार नेपाल प्रहरीका दुई नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ । एक साताअघि भएको सिफारिसअनुसार दुर्गासिंह चन्द र भरतबहादुर बोहरा एआइजीमा बढुवा भएका हुन्।
उनीहरूमध्ये बोहराले नौ दिनपछि अनिवार्य अवकाश पाउँदै छन् । उमेरहदका कारण १४ पुसमा अवकाश पाउन लागेका बोहरालाई सरकारले विशिष्ट श्रेणीमा बढुवा गरेको छ । यसले राज्यको आर्थिक दायित्व थप्नेछ।
यसअघि गत कात्तिकमा सरकारले दुई दिनका लागि किरण राणालाई एआइजीमा बढुवा गरेर अवकाश दिएको थियो। आफूनिकटलाई सुविधा दिन केही दिनका लागि बढुवा गर्ने प्रवृत्तिले राज्यलाई आर्थिक भार बढ्दै गएको छ ।
एसएसपी बढुवा चार महिनादेखि रोकियो
सरकारले गत कात्तिकयता एआइजीका रिक्त पदमा तीनपटक बढुवा निकालिसकेको छ । तर, एसएसपीमा बढुवा निकाल्न सकेको छैन । हाल एसएसपीका २३ पद रिक्त छन्।
स्रोतका अनुसार बढुवामा ४० एसएसपीबिच प्रतिस्पर्धा छ । सबै आकांक्षीले शक्तिकेन्द्रबाट दबाब दिएपछि गृह मन्त्रालयले बढुवा निकाल्न सकेको छैन । यसले एकातर्फ बढुवामा अस्वस्थ प्रतिस्पर्धा बढेको छ भने अर्काेतर्फ बढुवामा ढिलाइ हुँदा तल्लो तहसम्मको बढुवा प्रक्रियासमेत प्रभावित भएको छ । यसरी बढुवामा भएको ढिलाइले बढुवाका आकांक्षीहरूसमेत तनावमा परेका छन्।
गत भदौ १५ मै एसएसपीका १७ पद रिक्त भएका थिए । तर, चार महिनासम्म ठुलो संख्यामा पदहरू रिक्त हुँदा कतिपय कार्यालयहरूसमेत प्रभावित बनेका छन्।