महोत्तरीमा डाँका समूहले एकजनाको हत्या गरेको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका-४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको हो । आज बिहान ४ बजेको समयमा आएका ७/८ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले बताए ।
डाँकाले घरमा रहेको मङ्गलसूत्र र औंठी र नगद ८० हजार लुटेर लगेको डिएसपी जयसवारले बताए । हत्या गरिएका व्यक्ति पूर्वगाविस सचिव हुन् । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
घटना स्थलमै आईपुगेका मधेश प्रदेशका डिआईजी लालमणी आचार्यले घटनाबारे प्रहरीले सुक्ष्म अनुसन्धान गर्ने र हत्यारा नउम्किने बताए । डाँका समुहले मृतक झाकै छिमेकी तथा आफन्त प्रदिप झाको घरमा समेत डाँका गरेकोमा सोहि घरमा कोहि व्यक्ति नभएकोले के कति सामान डाँका भएको हो भन्ने तत्काल नखुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुप्रसाद जयसवारले बताए ।
महोत्तरीमा विभिन्न डाँका समुह सकृय भई विभिन्न व्यक्तिको घरमा लुटपाट गर्नुका साथै विभिन्न व्यक्तिलाई घाईते समेत बनाउदै आएकोमा पछिल्लो समय केहि डाँकाहरु प्रहरीले नियन्त्रणमा लिई मुद्दा समेत चलाएपनि अझै डाँका रोकिएको छैन ।