मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
यानिस भारुफाकिस
२o८१ पौष ७ आइतबार १o:५५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आफ्नै अवसानको मार्ग खन्दै छ पश्चिम 

Read Time : > 2 मिनेट
यानिस भारुफाकिस
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार १o:५५:oo

बेलायत र युरोपलाई गतिहीनतामा छाड्दै पश्चिमी गुरुत्वाकर्षणको केन्द्र अमेरिका सर्नुले युरोपलाई निष्क्रिय, पश्चगामी र बढ्दो रूपमा असान्दर्भिक बनाइरहेको छ

युरोप, ग्लोबल साउथ र डोनाल्ड ट्रम्पको विजयपछिको अमेरिकासमेतका मध्यमार्गी पण्डितहरूको एउटा सानो समूह पश्चिम पतनोन्मुख रहेको विश्वास गर्छ । निश्चय नै, पश्चिममा मुठीभर मानिसको हातमा यति धेरै शक्ति कहिल्यै केन्द्रित भएको थिएन, तर यसको अर्थ पश्चिमको शक्ति क्षय भइसक्यो भन्ने नै हो त ? 

पश्चिममा पतनको यो भाष्यलाई अंगीकार गर्नुका समुचित कारण छन् । जसरी रोमन साम्राज्यले आफ्नो आधिपत्यलाई अर्काे सहस्राब्दीसम्म विस्तारित गर्न रोमलाई अलपत्र छाडेर आफ्नो राजधानी कन्स्टान्टिनोपल सारेको थियो, उसैगरी बेलायत र युरोपलाई गतिहीनतामा छाड्दै पश्चिमी गुरुत्वाकर्षणको केन्द्र संयुक्त राज्य अमेरिकामा सरेको छ र त्यसले युरोपलाई निष्क्रिय, पश्चगामी र बढ्दो रूपमा असान्दर्भिक बनाइरहेको छ ।  तर, यी पण्डितको उदासीको एउटा गहन कारण छ– आफ्नो मूल्य प्रणाली (मानव अधिकार, विविधता र खुलापन)प्रति पश्चिमको प्रतिबद्धतामा आएको कमी र पश्चिमको अवनतिमा अलमलकोे प्रवृत्ति । साँपले काँचुली फ्याँकेझैँ पश्चिमले बीसौँ शताब्दीमा आफ्नो प्रभुत्व कायम राख्न मद्दतगार रहेको मूल्य प्रणालीले एक्काइसौँ शताब्दीमा प्रभुत्वका लागि सहयोग नगर्ने देखेर तिनलाई परित्याग गरी शक्ति हासिल गरिरहेको छ । पुँजीवादको उदयका लागि प्रजातन्त्र कहिल्यै पूर्वसर्त थिएन, न त अहिले हामीले ठान्ने गरेका पश्चिममा मूल्य नै यसका लागि पूर्वसर्त हुन् । 

आफ्नो प्रभुत्वकालका दौरान, पश्चिमा शक्ति बाह्य भूमिमा निर्बाध रह्यो । युरोपले मानिसलाई अधीनस्थ तुल्याउन र स्रोतमाथि लुट मच्चाउन लाखौँ उपनिवेशवादीलाई अन्यत्र पठायो । युरोपेलीले अमेरिका, अफ्रिका र अस्ट्रेलियादेखि आजको प्यालेस्टाइनका हरेक नरसंहारमा गर्ने पहिलो काम भनेकै त्यहाँका मूलवासीलाई अमानव र तिनका जमिनलाई स्वामित्वविहीन घोषणा गर्नु हो । तर, विदेशमा निर्बाध रहे पनि पश्चिमा शक्तिले घरमा चुनौतीको समाना गर्नुपर्‍यो । थोरैको स्वामित्वमा रहेका कलकारखानामा आफूले उत्पादन गरेका सामानको पर्याप्त खपत हुन नसक्दा उत्पन्न आर्थिक संकटविरुद्ध रुग्ण वर्गले मुठी उचाले । ती द्वन्द्व बजारका लागि तँछाडमछाड गरिरहेका पश्चिमा शक्तिबिच औद्योगिकस्तरको युद्धमा परिणत हुँदै दुई विश्वयुद्धमा परिणत भए । फलतः पश्चिमका सम्भ्रान्तवर्गले केही सहुलियत दिनुपर्‍यो । घरेलु रूपमा उनीहरूले सार्वजनिक शिक्षा, स्वास्थ्य प्रणाली र पेन्सनलाई अनिच्छापूर्वक स्वीकार गर्नुपर्‍यो । अन्तर्राष्ट्रिय रूपमा पश्चिमको क्रूर युद्ध र नरसंहारको आक्रोशले उपनिवेशवादको उन्मूलन, मानव अधिकारको विश्वव्यापी घोषणा र अन्तर्राष्ट्रिय फौजदारी अदालततर्फ डोर्‍यायो ।

दोस्रो विश्वयुद्धपछिका केही दशकसम्म पश्चिम वितरणात्मक न्याय, मिश्रित अर्थतन्त्र, विविधता, विधिको शासन र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाकै चमकमा रुमल्लियो । आर्थिक रूपमा, ब्रिटन वुड्सका रूपमा चिनिने अमेरिकी डिजाइनको विश्वव्यापी मौद्रिक प्रणालीले यी मूल्यको असाधारण रूपमा सेवा गरेको थियो, जसले अमेरिकालाई आफ्नो अधिशेष युरोप र जापानमा रिसाइकल गर्न अनुमति दियो । खुद निर्यातलाई कायम राख्न आफ्ना सहयोगीमा डलरीकरणलाई अनुमति दियो । तर, सन् १९७१ सम्म आइपुग्दा अमेरिका व्यापार घाटाको देश बनिसकेको थियो । जर्मनीको शैलीमा आफ्नो पेटी कस्नुको साटो अमेरिकाले ब्रिटन वुड्सलाई सिध्यायो र व्यापार घाटा थप बढायो । जर्मनी, जापान र पछि चीन खुद निर्यातक बने, जसका डलर–मुनाफा अमेरिकाको ऋणपत्र तथा सेयर किन्न वाल स्ट्रिट पठाइए । 

त्यसपछि, अमेरिकी शासकवर्गमा एउटा भ्रम पर्‍यो– विदेशी पुँजीपतिका उत्पादन र डलर अमेरिका भित्रिन्छन् भने किन घरेलुस्तरमा मालवस्तुको उत्पादन गर्नुपर्‍यो ? त्यसैले उनीहरूले सम्पूर्ण उत्पादन लाइन विदेश पठाए र अमेरिकामा अ–औद्योगिकीकरणको क्रम सुरु भयो । यो दुस्साहसी कदमको केन्द्रमा वाल स्ट्रिट थियो । 

आफ्नो यो भूमिका निर्वाह गर्न यो अनियन्त्रित हुनुपर्थ्यो । तर, थोक विनियमनलाई उचित ठहर्‍याउन अर्थशास्त्रीय एवं राजनीतिक दर्शनको आवश्यकता हुन्थ्यो । मागले आपूर्ति आफैँ सिर्जना गर्‍यो र नवउदारवादको जन्म भयो । डेरिभेटिभहरूले न्युयोर्कका बैंकमार्फत ओइरिएको विदेशी पुँजीको सुनामीमा सवार भएर संसारलाई आच्छादित गरे । जब सन् २००८ मा यो लहर टुट्यो, पश्चिम पनि योसँगै झन्डै डुब्यो । 

अत्तालिएका पश्चिमा नेताले जनतामाथि मितव्ययिता थोपर्दै वित्तपोषकलाई पुनः लगानीका लागि समर्थ बनाउन तीन सय ५० खर्ब अमेरिकी डलर मुद्रण गर्न अनुमति दिए । यो रकम वास्तवमा क्लाउड क्यापिटल निर्माणका लागि थियोे, जसले बिग टेकलाई पश्चिमा जनसंख्याको मन मस्तिष्कमाथि बलियो पकड राख्न अनुमति दियो । फाइनान्सरहरूको समाजवाद, तल्ला ५० प्रतिशतबाट विरोधको सम्भावनाको अन्त्य र बिग टेकको क्लाउड पुँजीप्रति आत्मसमर्पणको संयोजनले नयाँ पश्चिमलाई जन्म दियो, जसका अतिसम्भ्रान्तका लागि पछिल्लो शताब्दीका मूल्य प्रणालीको अब खासै उपादेयता रहेन । स्वतन्त्र व्यापार, एन्टी–ट्रस्टका नियम, लोकतन्त्र, आप्रवासनप्रतिको खुलापन, विविधता, मानव अधिकार र अन्तर्राष्ट्रिय अदालतलाई पनि त्यही व्यवहार गरियो, जुन अमेरिकाले आफ्ना मित्रवत् तानाशाहहरूलाई उपादेयता सकिएपछि गर्ने गर्छ । युरोपले आफ्नो पैसाको संघीयकरण गरे पनि राजनीतिक शक्तिलाई संघीय बनाउन नसकेर अकर्मण्य बनेको छ । विकासशील विश्व पहिलेभन्दा बढी ऋणमा छ । केवल चीन मात्र पश्चिमको मार्गमा उभिएको छ । तर, चीन आधिपत्य जमाउन चाहँदैन । ऊ केवल आफ्ना सामान निर्बाध बेच्न चाहन्छ । 

तर, पश्चिमाहरू अहिले चीन घातक चुनौती हो भन्नेमा विश्वस्त छन् । छोराबाट मारिन्छौ भन्ने भविष्यवाणीमा विश्वास गरेका कारण आफ्नै छोराको हातबाट मरेका इडिपसका पिताजस्तै पश्चिमा पनि चीनलाई डुबाउन र पश्चिमी शक्तिलाई गम्भीर चुनौती दिन नसक्ने बनाउन अथक प्रयास गरिरहेका छन् । उनीहरू चीनलाई ब्रिक्सलाई रेनमिन्बीमा आधारित ब्रिटन बुड्सशैलीको प्रणालीमा रूपान्तरण गर्नबाट रोक्न चाहन्छन् । 

(भारुफाकिस ग्रिसका पूर्ववित्तमन्त्री हुन् ।) प्रोजेक्ट सिन्डिकेटबाट