गुन्डागर्दीको आरोपमा तरुण दलका केन्द्रीय सदस्यसहित आठ जना पक्राउ परेका छन्। काभ्रेको रोशी गाउँपालिका ४ महादेवटार घर भएका कुलध्वज तामाङसहितलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले दरबारमास्थित लिक्विड लाउञ्जमा बैतडीका रमेश भट्टमाथि कुटपिट गरेका थिए। पक्राउ परेका कुलध्वज यसअघि ज्यान मुद्दा र चोरी मुद्दा खेपिसकेका व्यक्ति हुन्।
उनीसहितको समूहले भट्टलाई कुटेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
त्यस्तै तरुण दल, काभ्रेका अध्यक्ष सुजन लामा, पब्लिक युथ क्याम्पस, धोबिचौरका स्ववियु उपसभापति रहेका काभ्रे तिमालका मिलन लामा, काभ्रेको भुम्लु गाउँपालिका तरुण दलका अध्यक्ष सुलभ पहारी, तरुण दलका काभ्रे जिल्ला सदस्य युवराज लामा, सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तरुण दल अध्यक्ष दावा लामासहित डम्बरबहादुर कार्की र शक्ति लामालाई प्रहरीले पक्राउ गरेको हो।
सो रेष्टुरेन्ट तरुण दलकै नेता संजीव लामा ‘स्याल’को हो। उनीमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।