६ कट्ठा क्षेत्रफलमा ४२ वटा कोठासहित तीनतले सुविधासम्पन्न भवन निर्माण गरिने
मकवानपुरको मनहरी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । शनिबार एक कार्यक्रमबिच नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रशासकीय भवन निर्माणको शिलान्यास गरेका हुन् ।
लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको मनहरीले नयाँ प्रशासकीय भवन निर्माण थालेको हो । राष्ट्रिय वन क्षेत्रको जग्गाको स्वामित्व गाउँपालिकाअन्तर्गत ल्याएर मनहरीले भवन निर्माण कार्य थालेको गाउँपालिकाका योजना महाशाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिए ।
६ कट्ठा क्षेत्रफलमा ४२ वटा कोठासहित तीनतले सुविधासम्पन्न भवन निर्माण गर्ने गरी मनहरीले ठेक्का सम्झौता गरेको उनले बताए । प्रशासनिक भवन निर्माणका लागि तामाकोशी–ढाचा जेभी बालाजु काठमाडौंले निर्माणका लागि गत असोज १४ गते सम्झौता गरेको उनको भनाइ छ ।
आठ करोड २८ लाख ६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी काम सुरु गरिएको उक्त भवन निर्माण आगामी ०८२ चैत ३० गते सम्पन्न गर्नुपर्नेछ ।
उनका अनुसार उक्त भवन निर्माणका लागि सहरी विकास मन्त्रालयबाट ३० लाख रुपैयाँ प्राप्त भएको र अन्य रकम गाउँपालिकाबाट व्यहोर्ने गरी ठेक्का सम्झौता भएको छ । भवनका लागि मन्त्रालयबाट थप सहयोग प्राप्त हुने विश्वास रहेको छ ।