मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
रासस काठमाडौं
२o८१ पौष ७ आइतबार १५:o२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्री गाउँ पुगेपछि...

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार १५:o२:oo

लाैराेको सहारामा उभिएको बुढो शरीर । पावरवाला चस्माले परैबाट कसैलाई ठम्याउन खोज्दै थियो । आफ्नै जिल्लाबाट चुनिएर गएका नेता मन्त्री बनी गाउँघर आएको खबर सुनेर लमजुङ राईनास नगरपालिका– ७ का ७९ वर्षीय वृद्ध धनश्याम गिरी हर्षित देखिन्छन् । आफूले भोट दिएर जिताएको जनप्रतिनिधि मन्त्रीका हैसियतले एक्कासि आफ्नै घरआँगनमा आउँदा खुसी देखिनलाई स्वाभाविकै मान्नुपर्ला ।

जिल्लावासी तथा स्थानीय गाउँलेले उनीप्रति देखाएको आशा र भरोसालाई अझ जगाउनुपर्दछ भन्ने मूल्यमान्यतालाई आत्मसात् गर्दै जिल्लावासी जनतासँग एक–आपसमा रमाउन मन पराउने नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ  यही पुस ३ र ४ गते गृहजिल्ला लमजुङको राईनास नगरपालिका हुँदै क्व्हलासोथार गाउँपालिका र पर्यटकीयस्थल घलेगाउँसम्म पुगे । क्व्हलासोथार गाउँपालिकाको प्रशासकीय भवन र मालिङ प्राथमिक अस्पतालको भवन उद्घाटन गरेका मन्त्री गुरुङले स्थानीयवासीसँग प्रत्यक्ष भेटेर उनीहरूको दुःखसुख बुझे  । मन्त्री भेट्नैका लागि काम छोडेर बाटामा हात जोड्दै उभिएका स्थानीयप्रति कृतज्ञ भई मन्त्री गुरुङ हालखबर सोध्दै भन्थे, ‘ज्यानलाई आरामै छ नि बुबा–मुवा, दाजु–दिदी,  साथी ।’

राईनास नगरपालिका– ८ तार्कुघाटस्थित श्री वीरभक्ति माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा  पुगेका मन्त्री गुरुङले विद्यालयको अवस्था प्रत्यक्ष नियाले । विद्यार्थीका लागि आवश्यक पर्ने कम्प्युटर प्रयोगशाला, स्कुलबस र खेलमैदानलगायत भौतिक पूर्वाधारको अभाव भएको महसुस गर्दै उनले थपे, ‘शौचालय निकै फोहाेर रहेछ, यसलाई व्यवस्थित गर्नुहोस् ।’

सूचना प्रविधिमैत्री विद्यालय बनाउने उद्देश्यका साथ उनले जिल्लाका १० विद्यालयमा कम्प्युटर प्रयोगशालाकाे समेत व्यवस्था गरिदिएका छन्।  मन्त्री गुरुङ अहिले मन्त्रालयको जिम्मेवारीअन्तर्गत देशभर इन्टरनेट फोन सेवा विस्तार गर्न लागेका छन् ।

गाउँमा मन्त्री पुग्दा जनताका असीमित आशा र माग त हुन्छन् नै राम्रो काम गरेको भनेर प्रशंसा गर्ने जनता पनि प्रशस्तै भेटिए । राईनास नगरपालिका– ४ का पद्मराज पन्थीले मन्त्री गुरुङलाई धन्यवाद दिँदै भने, ‘यो चिल्लो सडक तपाईंकै कारणले सम्भव भएको हो मन्त्रीज्यू ।’

७२ वर्षीय स्थानीय पन्थीले भने, ‘सडक पक्की बनेपछि हामी गाउँलेको दैनिकी फेरिएको छ । रोजगार र व्यापार फस्टाएको छ । मान्छेहरूको चहलपहल बढ्दो छ ।’ दुई वर्षअघि धुलाम्मे हुने राईनास गाउँपालिकाको सडक अहिले मन्त्री गुरुङकै पहलमा कालोपत्र भएको छ ।

‘हामीले भवन मात्र होइन, स्थानीय सिंहदरबार पाएका छौँ,’ मन्त्री गुरुङले भने, ‘जनताको सेवालाई प्रविधिमैत्री बनाउँदै छिटो र सहज सेवा प्रदान गर्नेतर्फ उन्मुख हुनेछौँ ।’

मन्त्री गुरुङले हालै चीनसँग गरेका विभिन्न सम्झौताबारे बुझिने गरी सो अवसरमा स्थानीयवासीलाई अवगत गराएका थिए । गाउँमा व्यापार र रोजगारीका प्रशस्त सम्भावना रहेको बताउँदै उनले चीनलाई मकैको घाँस बेचेर आयआर्जन गर्न सकिने बताए  । ‘हामीले चीनसँग सम्झौता गरेका छौँ, अब मकैको घाँस चीनमा बिक्री हुन्छ । घाँस लगाउनुहोस्,’ मन्त्री गुरुङले भने ।