कञ्चनपुरका संयुक्त विद्यार्थीले गृहमन्त्री रमेश लेखकलाई सरकारी जमिनमाथि भइरहेको अतिक्रमण हटाउने विषयमा प्रश्न गरेका छन्। उनीहरूले महेन्द्रनगर नगर विकास समितिसहितकाे अतिक्रमित जमिन कहिले खाली गराउनुहुन्छ? भन्दै प्रश्न गरेका हुन्।
विद्यार्थीले आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूलगेटमा गृहमन्त्री रमेश लेखक र भीमदत्त नगरपालिका मेयर पदम बोगटीको फोटो नै टाँसेर भूमाफियालाई संरक्षण कहिलेसम्म गृहमन्त्री ज्यू? भन्दै प्रश्न गरेका छन्।
उनीहरूले गृहमन्त्री लेखक र भीमदत्त नगर विकास समितिका अध्यक्षसमेत रहेका मेयर बोगटीलाई अवैध संरचना भत्काउन जिल्ला प्रशासन भएको सर्वदलीय एवं सर्वपक्षीय बैठकको निर्णय कार्यान्वयन गर्न माग गरेका छन्।
संयुक्त विद्यार्थीका प्रतिनिधि कञ्चनपुरका दीपेन्द्रसिंह ऐरीले नगर विकास समितिका अध्यक्ष बोगटी र गृहमन्त्री लेखकलाई रचनात्मक रूपमा प्रश्न सोधेर प्रशासनको गेटमा ब्यानर टाँसेको बताए। उनले गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रवि लामिछानेले देशभरका अतिक्रमित सरकारी जमिन खाली गर्ने निर्णय कार्यान्वयन नभएको र दबाब दिन स्थानीय र संघीय सरकारलाई प्रश्न गरेको बताए।
‘गृहमन्त्री रमेश लेखककै गृहनगरमा सरकारी जमिन अतिक्रमण भएको छ,’ उनले भने, ‘तैपनि हटाउने काम सुरु भएको छैन। गत वर्ष मात्रै प्रशासनले जिल्लाभरिको अतिक्रमित सरकारी जमिन खाली गर्ने निर्णय गरे पनि सुरुवाती चरणमा कार्यान्वयन भएकाे, तर अहिले सुस्ताएको छ।’ ऐरीले गृहमन्त्री लेखककै गृहनगरमा रहेको नगर विकास समितिको ६३८ बिघा ८ कट्ठा १३ धुर जमिन वर्षौँदेखि दोहन भइरहेकाले अतिक्रमणकारी माथि गृहमन्त्रीले एक्सनमा उत्रिनुपर्ने बताए। उनले गृहमन्त्रीकै संरक्षणमा अतिक्रमणकारी मौलाएको आरोप लगाएका छन्।
जिल्लाका सरकारी अधिकारीले सरकारी जमिनमाथिको अतिक्रमण हटाउने अभियान सुरुवात गरिएको बताएका छन्। उनीहरूले सचेत युवा विद्यार्थीले सरोकारवालालाई दबाब दिनु ठिकै भएको बताएका छन्। भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले अतिक्रमित सरकारी जमिन हटाउने अभियान निरन्तर अघि बढाउने र नरोकिएको बताए।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले पनि सार्वजनिक जमिन अतिक्रमण हटाउने काम नरोकिएको बताए। प्रजिअ सापकोटाले भीमदत्त नगरपालिका मात्रै होइन अन्य पालिकातिर पनि अतिक्रमित सरकारी जमिन खाली गराउने काम निरन्तर जारी रहेको बताए।
चैत ०८० मा प्रशासनमा भएको निर्णयअनुरूप भीमदत्त, बेलौरी, बेलडाँडी राजमार्ग सडक क्षेत्रको बेदकोट, शुक्लाफाँटामा अतिक्रमित सरकारी जमिन केही खाली गराए पनि अहिले सुस्ताएको भन्दै नागरिकले समेत पालिकासहितका सरकारी निकाय अग्रसरमा जोड दिएका छन्। गृहमन्त्री कञ्चनपुरकै भएकाले अतिक्रमित सरकारी जमिन युद्धस्तरमा खाली हुनुपर्ने नागरिकको भनाइ छ।