कैलालीको धनगढीबाट प्रहरीले करिब आधा किलो सुनसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको पलियाकला खिरी बस्ने ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित बर्मालाई धनगढीको ट्राफिक चोक चौराहाबाट ५४९.२०० ग्राम सुनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टको नेतृत्वमा खटिएको टोलीले भारतीय नम्बर युपी ३२ जेभी ९२०० नम्बरको कारलाई चेकजाँच गर्दा गाडीभित्र ज्याकेटको खल्तीमा लुकाइराखेको सुन बरामद गरेको हो। सुनका दुईवटा टुक्रा बरामद गरिएको प्रहरी उपरीक्षक विष्टले बताए।
यस्तै, ४४ हजार आठ सय नेपाली रुपैयाँ, एक थान ल्यापटप, दुई थान मोबाइलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। बरामद सुन कहाँबाट ल्याएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले बताएका छन्।