१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ८ मंगलबार
  • Wednesday, 25 September, 2024
करुणा थापा
२o८१ असोज ८ मंगलबार १७:२६:oo
Read Time : > 2 मिनेट
ब्लग डिजिटल संस्करण

चलचित्र ‘खुस्मा’ले उठाएका सवाल

Read Time : > 2 मिनेट
करुणा थापा
नयाँ पत्रिका
२o८१ असोज ८ मंगलबार १७:२६:oo

सामान्यतया युद्धमा रिस हुन्छ, आवेग हुन्छ, एकअर्कामाथि विजय प्राप्त गर्ने होडबाजी हुन्छ। तर, द्वन्द्वभित्र पनि प्रेम हुन्छ, सपना हुन्छ, तडप हुन्छ भन्ने परिकल्पना सायदै हामी गर्छौँ। युद्ध भनेको मैदान हो। हामी जित र हारको मात्रै लेखाजोखा गछौँ। तर, युद्धभित्र अंकुरिएको प्रेमको लेखाजोखा गर्ने मुटु हामीले बनाइसकेका छैनौँ। युद्धभित्रको प्रेमलाई लेखाजोखा गर्ने दुस्साहस निर्देशक अशोक थापामगरले गरेका छन्, यो दुस्साहस भर्खरै रिलिज भएको नेपाली चलचित्र ‘खुस्मा’ले गरेको छ। अनि गरेका छन् कलाकार धीरज मगर र उपासनासिंह ठकुरीले ।

यो चलचित्रलाई ‘द्वन्द्वभित्रको प्रेम’ भन्न सकिन्छ। खाम भाषामा ‘खुस’ भनेको काख र ‘मा’ भनेको आमा अर्थात् आमाको काख भन्ने बुझिन्छ। चलचित्रले आमाको काख रित्तिँदा भोग्नुपरेको पीडालाई दर्शकको आँखाबाट बगाउने जमर्को गरेको छ।

पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाभित्रको एउटा गाउँ हो, मैकोट। जहाँ चलचित्रका अधिकांश दृश्य छायांकन गरिएको छ। ०५२ बाट सुरु भएको १० वर्षे जनयुद्धको सुरुवात नै रोल्पा रुकुमबाट भएको थियो। ‘खुस्मा’ले द्वन्द्वकालीन समयलाई मसिनो तरिकाले दर्शकसामु पुर्याउने प्रयास गरेको छ।

मैकोट पुग्न अहिले पनि उत्तिकै गाह्रो छ। त्यहाँको जनजीवन अहिले पनि उत्तिकै कष्टकर छ। मगर समुदायको बाहुल्यता रहेको मैकाेटमा आफ्नै रीतिरिवाज र परम्परा छन्। फुपू चेला र मामा चेलीबिचको विवाह अहिले पनि स्वीकार्य छ। मन परेको किशोरीलाई किशोरले ‘तानेर’ आफ्नो बनाउने प्रथा पनि छ। फुपू चेलालाई अस्वीकार गरी आफ्नो रोजाइमा विवाह गर्नु त्यति वेला ठुलै चुनौती थियो। त्यही चुनौतीभित्र प्रस्फुटित भएको प्रेमलाई खुस्माले उजागर गरेको छ। द्वन्द्वमा हार र जितको लेखाजोखा हुन्छ भन्ने भाष्यलाई चुनौती दिँदै द्वन्द्वमा प्रेम र तडप पनि हुन्छ भन्ने यथार्थलाई चलचित्रले देखाउन खोजेको छ।

चलचित्र सरल तरिकाले बगेको छ। निर्देशक अशोक थापामगरले चलचित्रमा स–साना कुरालाई मनछुने गरी प्रस्तुत गर्ने प्रयास गरेका छन्। द्वन्द्वकालमा राज्य र माओवादी दुवैको चपेटामा परेको परिवार, द्वन्द्वबाट बच्नका लागि बिदेसिनुपरेको अवस्था, द्वन्द्वमा ज्यान गुमाएका परिवारको सदस्यको मानसिक र भावनात्मक पीडा एवं द्वन्द्वले टाढा बनाएको प्रेमलाई चलचित्रले सहज रूपमा देखाएको छ। द्वन्द्वको समयमा काख रित्तिएका हजारौँ आमाको प्रतिनिधित्व गर्दै चलचित्रमा दुईवटा आमाको काख रित्तिएको छ। दुईवटा श्रीमतीले आफ्ना श्रीमान् गुमाएका छन्। सास र लासको पर्खाइमा रहेकी श्रीमतीको विश्वास रित्तिएको छ। छोराको बाटो कुर्दाकुर्दै प्राण त्याग गरेकी आमाको सपना रित्तिएको छ। एउटा सुन्दर परिवार द्वन्द्वले गर्दा कसरी क्षतविक्षत् भएको छ भन्ने तितो सत्य उठान गर्न यो चलचित्र सफल भएको छ।

चलचित्र हेर्दै गर्दा कलाकारको अभिनय काल्पनिकजस्तो लाग्दैन। अभिनेत्री उपासनासिंहको कलाकारितामा प्रश्न उठाउने कुनै ठाउँ देखिँदैन। चलचित्र अवधिभर उपासनाको उदास आँखा, थर्थराएका ओठहरूले दर्शकको मनलाई बाँधेर राख्न सफल भएको छ। छोरा हरायो भन्ने खबर सुन्नासाथ के गरौँ, कसो गरौँ भन्दै छट्पटाएर दौडिएकी आमाको तडप दर्शकको आँखाबाट पनि सहजै बग्न थाल्छ। द्वन्द्वकालमा धेरै आमाले भोगेको पीडालाई यस चलचित्रले साँच्चै नै समेटेको छ । परिवारको सदस्य हराउँदा परिवारका अन्य सदस्य एक्लाएक्लै कोठामा डाँको छोडेर रोएका छन्। सबैले देख्ने गरी रुँदा परिवारको अर्को सदस्यलाई कमजोर बनाउँछ भन्ने हेक्का राख्दै परिवारभित्र भावनात्मक सम्बन्ध कति बलियो हुन्छ भन्ने अनुभूति दर्शकहरूलाई गराइएको छ।

पूर्वी रुकुमका केही ठाउँमा अहिले पनि ‘छोट्टी’ बस्ने (स्थानीय भाषामा) चलन पनि छ। छोट्टी बस्ने परम्परालाई पनि चलचित्रमा सरल तरिकाले देखाइएको छ। चलचित्रमा उपासनाले आफ्नो श्रीमानको सम्झनामा लगाएको रुख समातेर रुँदा मैले ०६० सालमा कालिकोट जाँदा त्यहाँ द्वन्द्वमा आफन्त गुमाएका परिवारले लगाएको रुख सम्झिएँ। सायद अझै पनि परिवारका सदस्य त्यो रुख अँगालेर रुन्छन् होला जस्तो लाग्यो।

सरकारलाई झक्झक्याउन, आफन्त गुमाएका परिवारको पीडा महसुस गराउन ‘खुस्मा’ सफल भएको छ। द्वन्द्वको इतिहास आजको पुस्तालाई बुझाउन र महसुस गराउन पनि ‘खुस्मा’ हेर्नै पर्ने एउटा चलचित्र हो, जसले द्वन्द्वभित्रको प्रभाव, प्रेम र तडपलाई उजागार गरेको छ। ‘खुस्मा’ केवल एउटा चलचित्र मात्र होइन, आफैँमा एउटा जीवन्त दस्ताबेज हो।