मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १४ सोमबार
  • Tuesday, 28 January, 2025
२o८१ माघ १४ सोमबार १५:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

रुघाखोकी लागेको वेला आइसियूको तस्बिर राखेर भ्रम फैलाइयो : प्रधानमन्त्री ओली  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १४ सोमबार १५:५९:oo

प्रधानमन्त्री केपी ओलीले आफूलाई रुघाखोकी लागेको समयमा अस्पतालको आइसियूमा रहेका वेलामा खिचिएका तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएको बताएका छन् । सरकारको विरोध गर्नेहरूले यस्तो भ्रम फैलाएको उनको  आरोप छ । 

भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटनमा बोल्दै उनले भने, ‘मलाई रुघाखोकी लागेको हो । एन्टिबायोटिकले अलि कमजोर बनाएको छ, तर हाच्छ्युँ गरेको देख्यो भने आइसियू कक्षमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आइसियूमा बसेको देखाउँछन् ।’

प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित संख्या भएकाहरूको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरूको भ्रमबाट मुक्त हुन  आग्रह गरेका छन् । 

कार्यक्रममा उनले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने  बताए।   

उनले भने, ‘अब नेपालमा विकासको क्रम अगाडि बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभईकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभए विकास हुँदैन । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठुला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नेछ । सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाती पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली कांग्रेस र नेकपा (एमाले)ले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ ।’

पूर्वसहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने उनको भनाइ छ । संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणमा व्यापक काम दिने पनि जनाउँदै सहमति भए छिट्टै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने प्रधानमन्त्री ओलीले बताए।