दुई ग्रेड मात्र पाउँदै आएका वरिष्ठ सइले पाँच ग्रेडसम्म पाउने
नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षकहरूको एक तह बढुवा भएर पनि तलब कम रहेको समस्या समाधानतर्फ अघि बढेको छ । अर्थ मन्त्रालयले वरिष्ठ सइको ग्रेड थप र तलब समायोजनका लागि सहमति दिएको छ । अदालतले समेत परमादेश दिएपछि सरकारले यो समस्या समाधानमा पहल थालेको हो ।
गृह मन्त्रालयका अनुसार अब मन्त्रिपरिषद्मा लगेर यससम्बन्धी निर्णय हुनेछ । त्यससँगै वरिष्ठ सइले पाँच ग्रेडसम्म पाउने भएकाले तलबसम्बन्धी समस्या समाधान हुनेछ । वरिष्ठ सइमा बढुवा भएका प्रहरी अधिकारीले सइमा भन्दा मासिक २६५ रुपैयाँ कम तलब बुझ्दै आएका छन् ।
गत ९ माघमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गृहको प्रस्तावमा सहमति दिएका हुन् । अर्थको सहमति बिहीबार आइपुगेको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए । यस सहमतिसँगै थप बजेट निकासाका लागि बाटो खुलेको छ ।
०७९ को भदौमा सरकारले प्रहरीमा वरिष्ठ पदको सिर्जना गरे पनि तलब समायोजन गर्न नसक्दा वरिष्ठ सइहरूमाथि अन्याय हुँदै आएको थियो । नेपाल प्रहरीमा वरिष्ठ सइको एक हजार ४१८ दरबन्दी छ ।
सर्वाेच्च अदालतले गत १६ साउनमा उनीहरूको ग्रेड थप गरी तलब समायोजनका लागि परमादेश दिएको थियो । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शारंगा सुवेदीको इजलासले दिएको परमादेश लामो समयसम्म कार्यान्वयन भएको थिएन । प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्य वरिष्ठ सइको तलब समायोजनसम्बन्धी समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको बताउँछन् ।
बढुवाको जाम खोज्न होला इन्स्पेक्टरमा समायोजन ?
सरकारले संघीय प्रहरी ऐनको विधेयक संसद्मा लैजाने तयारी गरिररहँदा यससँगै प्रहरी समायोजनका लागि पनि छलफल सुरु भएको छ । प्रहरी समायोजनका लागि प्रहरीमा प्रहरी निरीक्षकको दरबन्दी ३०४ अपुग हुने संगठन तथा व्यवस्थापन सर्वेक्षणले औँल्याएको छ ।
समायोजनका लागि नयाँ भर्ना गर्न समय लाग्ने भएकाले वरिष्ठ सइको पद इन्स्पेक्टरमा समायोजनसम्बन्धी प्रस्ताव पनि प्रहरीमा अघि बढेको छ । यसले कनिष्ठ प्रहरी अधिकारीको बढुवा जामसम्बन्धी समस्या हल हुने र समायोजन पनि सहज हुने प्रहरी अधिकारी बताउँछन् ।
०५८ मा असइमा भर्ना भएका प्रहरी अधिकारी अहिलेसम्म वरिष्ठ सइमै छन् । ०७२ को प्रहरी नियमावलीमा इन्स्पेक्टरमा रिक्त हुनेमध्ये ४० प्रतिशत पदमा मात्र बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था हुँदा यस्तो समस्या भएको हो । जसलाई समाधान गर्न समायोजनका लागि आवश्यक करिब तीन सय इन्स्पेक्टरका पदमा वरिष्ठ सइको दरबन्दीबाट समायोजन गरेर बढुवा गर्दा राज्यलाई भार पनि नपर्ने र तल्लो तहका प्रहरीको बढुवा जाम पनि खुल्ने अवस्था छ ।
प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्य जुनियर प्रहरी अधिकारीको बढुवाको समस्या रहेको बताउँदै त्यसलाई समाधानका लागि छलफल भइरहेको बताउँछन् । ‘जुनियर प्रहरीको लामो समयसम्म बढुवा नहुने समस्या छ,’ उनी भन्छन्, ‘यो समस्या समाधानका लागि प्रहरी नेतृत्व र गृह मन्त्रालयले पहल गरिरहेको छ ।’
हाल बढुवाबाट पूर्ति हुने इन्स्पेक्टरका ४४ पद रिक्त छन् । जसमा ०५८ मा भर्ना असइको टोली मुख्य दाबेदार छन् । जुन ब्याचमा ८८ जना हाल वरिष्ठ नायब निरीक्षक छन् । यो ब्याच इन्स्पेक्टर हुन अझ दुई वर्ष लाग्नेछ । त्यसपछि ०६० मा भर्ना भएका १३२ जना असइको ब्याच छ । सो ब्याच इन्स्पेक्टर हुन ०८७ लाग्ने अवस्था छ । यही हिसाबले त्यसपछिका असइका ब्याचका अधिकारी ३० वर्ष सेवा अवधि पुग्दा पनि इन्स्पेक्टरमा बढुवा हुन गाह्रो हुन्छ ।