सर्वोच्च अदालत बार एसोसिएसनले कानुन व्यवसायीहरूलाई पेसागत आचरण तथा आचारसंहिता पालना गर्न गम्भीर ध्यानाकर्षण गराएको छ। बारका सचिव रमणकुमार कर्णले ४ माघमा भएको बैठकबारे जानकारी दिन मंगलबार विज्ञप्ति जारी गरेका हुन्।
‘..कानुन व्यवसायीहरूको पेसागत आचरणमाथिको छलफल कार्यक्रममा समेत यो विषयप्रति संवेदनशील भई आचारसंहिता पालनामा शून्य सहनशीलताको नीति अवलम्बन गरिनुपर्ने धारणा अभिव्यक्त भएकोतर्फ सरोकारवाला सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ,’ विज्ञप्तिमा छ।
१२ माघमा नेपाल कानुन व्यवसायी परिषद् र लयर्स एकेडेमीको छलफल कार्यक्रममा पनि आचरणविपरीतका काम भइरहेको गुनासो आएपछि ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। कानुन व्यवसायीले पेसागत आचरणको पूर्ण पालना नगरेकोप्रति र सामाजिक सञ्जालमा व्यक्त भएका धारणाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको बारले जनाएको छ।
विशेष गरी विद्युतीय प्रकाशन, प्रसारण तथा छापा आदि, सामाजिक सञ्जाल वा अन्य कुनै पनि माध्यमबाट न्यायपालिका, न्यायाधीश, कर्मचारी तथा अन्य कानुन व्यवसायीप्रति आघात पुर्याउन नहुने पेसागत आचरणसम्बन्धी नियमावलीले व्यवस्था गरेको छ। साथै, आफैँले अदालतमा बहस गरेको, कानुनी परामर्श दिएको वा संलग्न भएको आदेश वा फैसलाको प्रचारको उद्देश्यले सार्वजनिक गर्न नहुने प्रावधान रहे पनि नियमावलीविपरीतका कार्य भइरहेको गुनासो आएको थियो।