अन्तत: गाजा युद्धविराम कार्यान्वयनमा आएको छ । १५ महिनाको अथक नरसंहार युद्धपछि हामी अन्ततः राहतको सास फेर्न सक्षम भएका छौँ । हामीमध्ये धेरैजना आफ्ना घर फर्कन पनि सफल भयौँ । केही मानिस फर्किने प्रक्रियामा छन् । जब हामी गोलाबारीमुक्त क्षण महसुस गर्छौं, संसार भने कसले जित्यो भन्नेबारे उग्र बहसमा व्यस्त देखिन्छ । के इजरायल विजयी भएको छ ? वा हमासले विजयको घोषणा गर्न सक्छ ? वा वीर प्यालेस्टिनी जनता विजेता हुन् ?
म एक नर्स हुँ, तर पण्डित (विज्ञ) होइन । त्यसैले मसँग प्रस्ताव गर्ने कुनै जवाफ छैन । तर, म तपाईंहरूलाई भन्न चाहन्छु प्रिय पाठक, हाम्रो अस्तित्वका कारण संसारलाई धोका दिनुहुँदैन । गाजामा जीवित रहनु वीरताको पर्याय होइन । मृत्युबाट भाग्नु विजय होइन । बल्लतल्ल बाँच्यौँ । दसौँ हजार प्यालेस्टाइनी मृत्युको मुखमा धकेलिए । नरसंहार युद्धले समयलाई एउटा गोलाकार वृत्तमा बन्दी बनायो । न कुनै सुरुवात थियो, न त अन्त्य नै । न कुनै गन्तव्य थियो, जसतर्फ हामी अघि बढिरहेका थियौँ । हामी हरेक दिन केबल वृत्तमा घुमिरहेका थियौँ र अहिले त्यही चक्रको सुरुवातमा फर्किएका छौँ ।
हरेक दिन प्रत्येक परिवार आधारभूत आवश्यकता, जस्तै– स्वच्छ पिउने पानी, सरसफाइ तथा लुगा धुने प्रयोजनमा प्रयोग हुने पानी, खानेकुरा र आगोका लागि केही खोज्न बाहिर जानुपर्थ्यो । यी सबै प्राप्त गर्न घन्टौँ लाग्थ्यो । हामीलाई दिइएको रोटी (जसलाई प्राप्त गर्नु हामीले अधिकार हो भन्ने सोचेका थियौँ) प्राप्तिका लागि ठुलो संघर्ष गर्नुपर्थ्यो । परिवारको पैसा सकियो । सहायता संस्थाहरूको रासन सकियो । कहिले किरा लागेको पिठो र म्याद गुज्रिएको डिब्बाभित्र राखिएका खानेकुरा पाउँदासमेत मख्ख पर्नुपर्थ्यो । यो चक्र बिमारी वा मृत्युले मात्र टुट्यो । आफ्ना प्रियजनलाई गाड्न र शोक मनाउन मात्र मानिसले यस्तो दिनचर्या तोड्थे ।
इजरायली सेनाको हातबाट प्यालेस्टिनी बालबालिका, महिला र पुरुषको हिंसात्मक मृत्युको धेरै तस्बिर र भिडियो बाहिरी संसारले देख्यो । तर, तिनीहरूले अर्को मौन, दीर्घकालीन बिरामी वा उपचारयोग्य रोगबाट संक्रमितको पीडादायी मृत्यु देखेनन् । एन्टिबायोटिकको अभावमा संक्रमण भएका मानिसको मृत्यु भएको थियो । हामीसँग मिर्गाैला समस्या भएका मानिसको मृत्यु भयो, किनभने कुनै समयमा डायलासिस यदाकदा मात्र उपलब्ध थियो । थोरै चिकित्सा सुविधामा मात्र यस्तो सेवा उपलब्ध थियो । यी मृत्यु आधिकारिक नरसंहारको मृत्युको संख्यामा जोडिएका थिएनन् र अझै पनि तिनीहरूमध्ये धेरैलाई रोक्न सकिने थियो ।
विस्थापित शिविरका गल्लीमा जोकोहीले पनि शोकमा बाँचेकाहरू, सुँक्कसुँक्क रोइरहेका वा चुपचाप बसिरहेका पीडित देख्न सक्थ्यो । मृत्युबाट उम्केका मानिस पनि समयको चक्रमा फर्किनेछन् । यति धेरै महिनाको सामूहिक क्षति, उत्पीडन र आकांक्षापछि मृत्युबाट उम्कनका लागि हृदयमा थप ठाउँ छैन जस्तो लाग्यो । अन्य धेरै प्यालेस्टिनीजस्तै म पनि डरलाग्दो ढंगले मौन र गतिहीन भएँ ।
हालसालै हामीले हाम्रो धर्तीलाई मुस्कान र जीवनले भरिरहेका थियौँ । हामी हाम्रा ठुल्ठुला सपना र आशा बोकेर बसेका थियौँ । तर, हामीले अब आफूलाई चिन्न सकेनौँ । ‘हामी हामीजस्तो छैनौँ । हामी अब हामी रहेनौैँ !’ हामीले यस्तै–यस्तै सोच्यौँ । सामूहिक पीडा यति निरपेक्ष र यति भारी थियो कि त्यहाँ सान्त्वना खोज्ने ठाउँ थिएन । भित्र के भइरहेको छ भनेर कसैले बताउन सक्दैनथे, किनभने सबै त्यही अँध्यारो ठाउँमा थिए । तर, प्रिय पाठक ! सामूहिक पीडा र सामूहिक मृत्युबारे रमाइलो कुरा यो हो कि तिनीहरूले सबै कुराका बाबजुद तपाईंलाई बचाउँछन् । गाजाका सबै कुराले तपाईंको मृत्युका लागि आह्वान गर्यो, तर तपाईंले त्यसबाट जीवन बनाउन सिक्नुभयो । वास्तवमा हामी अब हामी होइनौँ, तर हामी मरेका छैनौँ । संघर्ष जारी राख्न र थप समय बाँच्नका लागि हामीमा नयाँ संस्करण सिर्जना गरिएको छ । समयको अनन्त घेरामा मानिसले सन्तुष्टि वा उद्देश्यको भावना महसुस गर्ने तरिका अझै पनि खोज्छन् । मैले अस्थायी क्लिनिकमा नर्सको रूपमा स्वयंसेवा गरेर र कफीको खोजीमा लामो पैदलयात्रा गरेर त्यसो गरेँ । यी मेरो जीवनको अवज्ञाका कार्य थिए ।
भोकमरीले गाजामा ठुलो र गम्भीर असर गर्यो । खान नपाएर नै ठुलो संख्यामा मानिसको मृत्यु भयो । तर, मैले यसको अर्को पक्ष पनि हेर्ने प्रयास गरेँ । म प्रायः मनमनै खुसी पनि थिएँ कि मैले अन्ततः मैले चाहेको तौल घटाउन पाएकी छु । किनकि, मैले विगतमा प्रयास गरेको सबै स्वस्थ आहारका बाबजुद पनि तौल घटाउन सकेकी थिइनँ । मैले पालमा कठोर जीवनबिच मेरी आमाको कपालमा हिउँजस्तै सेतोले अतिक्रमण गरेको देखेँ । तर, त्यसमा पनि हामी हाँसिरह्यौँ । मलाई थाहा थियो कि यी रंगहरूले उनलाई हराउँदैनन् । उनी रङहरू मन पराउँछिन् र त्यसलाई फिट गर्नका लागि वशमा राख्ने सबैभन्दा कुशल महिला हुन्, उनी ।
१५ महिनाको नरकपछि, हामी हाम्रो आश्रय र पालबाट सर्वनाश दृश्य हेर्न निस्केका छौँ । हामी अझै पनि भग्नावशेषमुनिबाट निकालिएका मृतक गनिरहेका छौँ, जसलाई जुत्ता वा सर्टले मात्र चिन्न सकिन्छ । म विनाशमार्फत हेर्छु र हामीलाई बाँचेकाहरू देख्छु । हामी नायक भएर मृत्युले हामीलाई पराजित नगरेको होइन, बरु हामीले जीवनलाई माया गर्ने भएकाले बाँचेका हौँ । प्रिय पाठक ! के जीवनमा टाँसिनु भनेको विजय हो ?
(हदिल गाजास्थित लेखक र नर्स हुन् । नोभेम्बर २०२३ मा इजरायली सेनाले आक्रमण नगर्दासम्म उनी चर्चित अल सिफा अस्पतालमा काम गर्थिन् ।)
अलजजिराबाट