आयोजक बागमतीलाई सडनडेथमा पराजित गर्दै संकटा क्लबले सभापति कपको उपाधि जितेको छ। बिहीबार भएको फाइनल खेलमा निर्धारित ९० मिनेट गोलरहित बराबरी र पेनाल्टी ३–३ को बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो। जहाँ बागमती ४–३ ले विजयी भयो। जितसँगै विजेता संकटाले २६ लाख प्राप्त गर्दा उपविजेता बागमतीले १३ लाख पायो।
पेनाल्टीमा बागमतीको लागि नवीन लामा, फोडे फोफाना, र विदेशी खेलाडी सेनेगलास एलेक्सले गोल गरे। बागमतीका कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार संकटाको गोलकिपर दीप कार्कीले रोकेका थिए। रजत तिवारीले बाहिर प्रहार गरे।
संकटाका लक्षु थापा, विदेशी खेलाडी साम कार्लोस, गोलकिपर दीप कार्की र सुनिल खड्काले गोल गरे । संकटाका राम थापा र रोहन पहारीको प्रहार गोलकिपर विकेश कुथुले रोकेका थिए।
फाइनल खेलमा दुवै टोलीले समान चार विदेशी खेलाडी अनुबन्ध गरेका थिए। बागमतीले राष्ट्रिय टिमबाट खेलिसकेका गोलकिपर विकेश कुथुसँगै सुरज ठकुरी, कमल श्रेष्ठ र नवीन लामालाई मैदान उतारेको थियो। सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब संकटाले गोलकिपर दीप कार्कीसँगै सुदीप गुरुङ टिममा समावेश गरेको थियो।
यद्यपि, दुवै टोलीले त्यस्ता सुन्दर अवसर बनाउन सकेनन्। निर्धारित समयमा त्यस्ता कुनै गोल हुने अवसर पनि बनेनन्। यसअघि संकटाले सेमिफाइनलमा मच्छिन्द्रलाई सडनडेथमा पराजित गरेको थियो। बागमतीले भने एनआरटीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो।