फोहोरबाट दैनिक ६० सिलिन्डर ग्यास र २५ सय किलो मल उत्पादन
धनगढी उपमहानगरपालिका– २ सन्तोषी टोलस्थित बायोग्यास प्लान्टले दैनिक करिब १८ हजार किलो फोहोरमैला खपत गरिरहेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरले यहाँ बायोग्यास प्लान्ट स्थापना गरेको हो ।
बायोग्यास प्लान्टले खपत गर्नेमध्ये दैनिक करिब आठ हजार किलो फोहोरमैला धनगढी उपमहानगरले उपलब्ध गराउने गरेको देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरका सञ्चालक रविनकान्त पन्तले जानकारी दिए । बाँकी फोहोर गौशाला, कुखुरा फर्म आदिबाट संकलन गरेर ल्याउने गरेको उनले बताए ।
घरबाट निस्कने तरकारी, खानाजन्य फोहोर, सडेगलेका फलफूल, गोबर, कुखुराको सुलीलगायत कुहिने फोहोर प्रयोग गरेर बायोग्यास प्लान्टले बायोग्यास र गोबर मल उत्पादन गरिरहेको छ । बायोग्यास प्लान्टबाट दैनिक करिब ६० सिलिन्डर ग्यास र दुई हजार पाँच सय किलो मल उत्पादन भइरहेको पन्तले जानकारी दिए ।
उत्पादित ग्यास भने सबै प्रयोगमा आउन सकेको छैन । उत्पादित ग्यासमध्ये करिब ५–६ सिलिन्डर मात्र दैनिक प्रयोग भइरहेको उनले बताए । ग्यासको बजारीकरणको प्रयास भइरहेको कम्पनीले जनाएको छ । ‘सुरु–सुरुमा भएकाले मार्केटिङको पनि समस्या छ । प्रदेश सरकारसँग मिलेर उत्पादित ग्यास पाइपलाइनबाट घरघरमा पुर्याउनका लागि प्रक्रिया सुरु भएकाले पनि ग्यास बिक्रीलाई प्राथमिकता दिएका छैनौँ,’ पन्तले भने, ‘उत्पादन हुने ग्यास प्रयोगमा नआउने अवस्था लामो समयसम्म रहँदैन ।’
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ‘बेस्ट टु इनर्जी प्रोजेक्ट’अन्तर्गत २० करोड ८४ लाख रुपैयाँ लागतमा स्थापना गरिएको ग्यास प्लान्ट गत वर्षबाट सञ्चालनमा आएको हो । कुल लागतमध्ये ४० प्रतिशत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र ६० प्रतिशत देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरले लगानी गरेको पन्तले बताए । जग्गा भने उपमहानगरपालिकाले प्रदान गरेको हो ।
बायोग्यास प्लान्ट सञ्चालनमा आएपछि उपमहानगरलाई केही हदसम्म फोहोरमैला व्यवस्थापनमा सहज भएको पन्तले बताए । पूर्ण क्षमतामा सञ्चालन भए बायोग्यास प्लान्टले दैनिक करिब ३० हजार किलोसम्म फोहोरमैलाको प्रयोगबाट सय सिलिन्डर ‘क्युरिफाइड’ ग्यास उत्पादन गर्नेछ ।