बंगलादेशको अबामी लिग पार्टीले आफ्ना नेता तथा पूर्वप्रधानमन्त्री सेख हसिनाविरुद्ध लगाइएका ‘झुटा मुद्दा’ र देशमा धार्मिक अल्पसंख्यकमाथि भइरहेको उत्पीडनको विरोधमा आमहडताल र राष्ट्रव्यापी नाकाबन्दीलगायत राजनीतिक कार्यक्रमको घोषणा गरेको छ ।
पार्टीले मंगलबार राति एक विज्ञप्ति जारी गर्दै आफ्नो आगामी आन्दोलनको कार्यक्रम र मागको खाका प्रस्तुत गरेको छ । सो क्रममा उसले आफ्ना गतिविधिमा बाधा पुर्याइए कडा कदम चाल्ने चेतावनी पनि दियो ।
पार्टीले जारी गरेको विज्ञप्तिअनुसार शनिबार (फेब्रुअरी १) देखि बुधबार (फेब्रुअरी ५) सम्म पार्टी सदस्यले पर्चा वितरण गर्नेछन् भने बिहीबार (फेब्रुअरी ६) मा विरोध प्रदर्शन र जुलुस निकालिनेछ ।
त्यसपछि फेब्रुअरी १० मा दोस्रो विरोध प्रदर्शन तथा जुलुस गरिनेछ र फेब्रुअरी १६ मा पार्टीले देशव्यापी नाकाबन्दी सुरु गर्नेछ । फेब्रुअरी १८ मा बिहानदेखि साँझसम्म ‘आम हडताल’ गरिनेछ ।’