खेलकुदमन्त्री तेजुलाल चौधरीले आफैँ सञ्चालक रहेको नाइटिंगेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा नियुक्त गरेका छन् । उनले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रधान र विदुर ढुंगानालाई सदस्य नियुक्त गरेका हुन् ।
यसअघि, चौधरीले गत ३१ भदौमा प्रधानसहित सात सदस्यलाई नियुक्त गर्ने तयारी गरेका थिए । तर, नयाँ पत्रिकाले समाचार प्रकाशित गरेपछि उनी पछि हटेका थिए । अहिले राखेपका सदस्य नियुक्त भएका ढुंगाना पनि कांग्रेस निकट हुन् । राखेपको संरक्षकमा प्रधानमन्त्री र अध्यक्षमा खेलकुदमन्त्री रहने व्यवस्था छ । मन्त्री चौधरीले खेलकुद मन्त्रालयमा प्रधान र ढुंगानालाई स्वागत गरेका छन् । त्यससँगै राखेपका सदस्यसचिव टंकलाल घिसिङले पनि उनीहरूलाई स्वागत गरेका छन् ।
कार्यक्षमताका आधारमा नाइटिंगेलकी प्रिन्सिपल प्रधानलाई राखेपको बोर्ड सदस्यमा नियुक्त गरेको मन्त्री चौधरीले नयाँ पत्रिकालाई बताए । ‘तपाईंले नाम लिनु भएको व्यक्ति क्षमतावान् हुनुहुन्छ । उहाँले पहिला पनि खेलकुदमा काम गर्नुभएको थियो,’ उनले भने । प्रधान नेपाल ओलम्पिक कमिटी (एनओसी) को स्पोर्टस् फर अल कमिसनकी प्रमुख सदस्य हुन् । अदालत र सरकारको आदेशविपरीत निर्वाचन गराएर एनओसीमा लगातार तेस्रोपटक अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित हुँदा मन्त्री चौधरीले निर्वाचन प्रक्रियालाई अवैधानकि भनेका थिए । राखेपको ११९औँ बोर्ड बैठकमै एनओसीको निर्वाचन अवैधानिक बताएका चौधरीले अहिले एनओसीको स्पोटसर्् फर अल कमिसनकी सदस्य प्रधानलाई सहजै खेलकुदको कार्यकारी निकायमा प्रवेश गराएका छन् ।
नवननियुक्त सदस्य प्रधानसँग १३औँ दक्षिण एसियाली खेलकुदको समारोह समिति र एनओसीको विभिन्न कमिटीमा काम गरेको अनुभव भएको मन्त्री चौधरीले बताए । ‘प्रधानसँग १३औँ सागको समारोह समिति र ओलम्पिक कमिटीका विभिन्न समितिमा रहेर काम गरेको अनुभव छ,’ उनले भने । स्कुलकै कारण पनि कुनै क्षमतावान् खेलाडीलाई रोक्न नहुने चौधरीले बताए । ‘कुनै क्षमतावान् खेलाडी नाइटिंगेल स्कुलमा पढिरहेका छन् भने मेरै कारणले उसलाई टिमबाट हटाउने कुरा हुँदैन नि,’ उनले भने ।
पाँच महिनाअघि पनि नियुक्त दिने तयारी
खेलकुद मन्त्रालय सम्हालेपछि चौधरीले ३१ भदौमा प्रधानसहित सात सदस्यलाई राखेपमा भिœयाउने तयारी गरेका थिए । उनले तयार गरेको सूचीमा प्रिन्सिपल र आफ्नै पिए लालबहादुर जिसी थिए । दिनेश व्यञ्जनकार, रामचन्द्र श्रेष्ठ, प्रतिमा चौधरी, विनोद चन्द र थारू विद्यार्थी समाजका चन्द्रप्रसाद चौधरीलाई राखेपको बोर्ड सदस्यमा नियुक्ति दिने उनले तयारी गरेका थिए । तर, नयाँ पत्रिकाको समाचारको प्रभावपछि उनले तत्कालका लागि सबैको नियुक्ति प्रक्रिया नै रोके ।
राखेपमा एमाले र कांग्रेसको भागबन्डा
मन्त्री चौधरीले राखेपमा एमाले र कांग्रेसको भागबन्डामा ८ सदस्य नियुक्त गरेका थिए । ११ पुसमा दुवै पार्टीले समान चार व्यक्तिलाई राखेपको सदस्यका रूपमा पठाएका थिए । चौधरीले कांग्रेस पृष्ठभूमिका भानबहादुर चन्द, शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, कमलबहादुर भट्टराईलाई नियुक्ति दिएका छन् । भानबहादुर कांग्रेस सभापति शेरबहादुर देउवाका भान्जा हुन् । एमालेनिकट नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, हिमाल श्रेष्ठ र जगतसिंह धामी राखेपको बोर्ड सदस्यभित्र छिरेका थिए ।