अछाममा गोठालो गएका बेला मृत भेटिएकी सरस्वती खड्का र ईशरा खड्काको हत्या आरोपमा दुईजना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ । किटानी परेकाहरु १५ र १७ वर्षका बालक छन् ।
उनीहरुविरुद्ध मृतक १५ वर्षीया सरस्वतीका ठुलोबुबा तथा १४ वर्षीया ईशराका हजुरबुबा नाता पर्ने अवि खड्काले जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए । उनका अनुसार किटानी गरिएकाहरु ढकारी गाउँपालिका–३ तालीका हुन् । उनीहरु दुवैजना ढकारीकै गुरुकुल माविमा ८ र १० कक्षामा पर्ने विद्यार्थी रहेको खुल्न आएको छ ।
किटानीपछि जिल्ला अदालत अछामबाट पाँच दिनको म्याद थप गरेर उनीहरु दुबैजना विरुद्ध अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । उनका अनुसार यो घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली अछाम आइपुग्दै छ । टोली ढिलोमा बुधबार बिहानसम्ममा जिल्ला आइपुग्ने भण्डारीले बताए ।
सीआईबीले घटनाको अनुसन्धानका लागि इन्सपेक्टर सूर्यबहादुर शाही र सई श्रीभक्त श्रेष्ठको नेतृत्वको टोली खटाएको हो । घटनाको अनुसन्धानकै लागि सुदूरपश्चि प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश चन्दको टोली पनि खटिने भएको छ । सीआइबी र प्रदेश प्रहरीको टोली बुधबारदेखि अनुसन्धानमा खटिने प्रहरी नायब उपरीक्ष भण्डारीले जानकारी दिए । यो घटनाका सम्बन्धमा थप प्रमाण संकलनका लागि जिल्ला प्रहरी कार्यालय अछामको टोलीले मंगलबार फेरि घटनास्थल ढकारी–१ को छिन्ने वडार जंगलको निरीक्षण गरेको छ ।
त्यहा थप केहि प्रमाणहरु भेटिनसक्ने देखिएकाले दोस्रो पटक प्रहरी टोली त्यहाँ पुगेको भण्डारीले बताए । यो घटनाका सम्बन्धमा किटानी जाहेरी परेका दुईजना बाहेक अन्य केहि सँग सोधपुछ गरि छाडिएको छ । उनीहरु घटना घटेको दिन घटनास्थल छेउछाउ रहेका र किटानी जाहेरी परेकाहरुका नातेदारहरु छन् । ढकारी गाउँपालिका–८ घोडासैनको पल्साताकी सरस्वती र ईशरा गत शुक्रबार बाख्रा चराउन जंगल गएका बेला बेपत्ता भएका थिए ।
उनीहरु दोस्रो दिन शनिवार साँझ ढकारी –१ स्थित छिन्ने वडारमा मृत भेटिएका थिए । यस घटनाका सम्बन्धमा अछाम प्रहरीले हत्या हो या भवितव्य हो भनेर अनुसन्धानपछि मात्र भन्न सकिने बताउदै आएको छ । मृतक किशोरीहरुको शव भेरी प्रादेशिक अस्पताल नेपालगंजमा पोष्टमार्टम गरिएको छ तर रिपोर्ट आउन बाँकी छ । मृतक दुबैको बुधबार दहासंस्कार गरिने पारिवारीक स्रोतले जनाएको छ ।