राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रश्न गरेकै भरमा थुनेर अभद्र व्यवहारको मुद्दा चलाउनु नागरिकको मानव अधिकार र स्वतन्त्रताको हनन भएको बताएकी छिन् ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको मंगलबार बसेको बैठकमा बोल्दै सांसद गौतमले कुनै व्यक्तिलाई थुनेरै अभियोजन गर्नुपर्छ भन्ने मानसिकता बदल्नुपर्ने बताइन् ।
गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख वसन्त कुँवर सहभागी बैठकमा गौतमले भनिन्, ‘राज्यले यो अभियोजन गर्ने क्रियाकलाप हो भन्ने लाग्यो भने पाउँछ, तर त्यो व्यक्तिलाई थुनेरै मात्र अभियोजन गर्नुपर्छ भन्ने त छैन नि । त्यसकारण कसैलाई नथुनेर पनि अभियोजन गर्न सकिन्छ ।’
सरकारबाट प्रश्न गर्नेलाई थुन्ने प्रवृत्ति देखिएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेकी छिन् । ‘कस्तो प्रवृत्ति देखिन्छ भने कसैले बोल्यो, प्रश्न गर्याे भने ती व्यक्तिहरूलाई अभद्र व्यवहारमा पक्रिने, १०–१२–२२ दिन अनुसन्धान प्रयोजन भनेर थुनामा राख्ने, अनि थुन्न मिल्ने समयसम्म थुनामा राखिसके पछाडि बल्ल अभियोजन गर्ने प्रवृत्ति देखिराखेको छ,’ उनले भनिन्, ‘एक हिसाबले भन्ने हो भने यो मानसिक रूपमा डरत्रासको वातावरण सिर्जना गर्ने, अनि बल्ल न्यायिक प्रक्रियामा जाने जस्तो गरेको देखिरहेको छ । एउटा मात्रै केसको कुरा होइन । अहिलेको प्रवृत्ति भइरहेको छ । यसमा प्रहरी प्रमुखको गम्भीर ध्यानाकर्षण होस् ।’
सांसद गौतमले न्यायिक परीक्षणअगाडि नै प्रश्न उठाउनेलाई अनुसन्धानका नाममा थुन्ने प्रवृत्तिले मानव अधिकार र स्वतन्त्रता उल्लंघन गर्ने बताइन् । ‘भोलि अपराध हो वा होइन, न्यायिक निकायले भोलि परीक्षण गर्छ । तर, आज नै कसुरदार हो भने जसरी सजाय भोग्न बाध्य पार्ने, अगाडि नै हिरासतमा लिने भनेपछि भोलि ऊ अपराधी होइन रहेछ, कुनै सजाय भोग्नुपरेन भने आज हिरासतमा बस्दा उसको मानव अधिकार हनन भयो । स्वतन्त्रता हनन भयो,’ उनले भनिन् ।
गौतमले एउटा व्यक्तिको कुराभन्दा पनि प्रवृत्ति बनिरहेकोमा चिन्ता व्यक्त गरिन् । ‘आज बाहिर देखिएका नागरिकहरू एकदमै फ्रस्टेड भएर आवाज उठाइरहेका छन् । यो भएन, त्यो भएन भनिरहेका छन् । यो कुरामा सरकारले समाधान दिन सकेको छैन । सेवा राम्रो दिन सकेको छैन,’ उनले भनिन्, ‘अनि नागरिक अति फ्रस्टेड भएर बाहिर निस्केर हुन सक्छ अलिकति आक्रोशित शैलीमा प्रस्तुत भएको हुन सक्छ, त्यस्ता व्यवहारमा समाएर अभद्र व्यवहारमा मुद्दा चलाउने भनेको त उनीहरूलाई केही हिरासतमा राख्ने, अनुसन्धान गर्ने भनेको मानव अधिकारको उल्लंघन हो ।’
सांसद गौतमले सरकारले आफैँ अभद्र व्यवहार मुद्दा चलाउने अनि आफैँ फैसला गर्ने पनि नमिलेको बताइन् । ‘प्रहरी, सरकार आफैँ अभद्र व्यवहार भयो भनेर मुद्दा दायर गर्छ । अनि सिडिओ जो सरकारको आफ्नै निकाय हो, उसले आदेश–फैसला गर्छ, के यो सही भइरहेको छ ?’ उनले प्रश्न गरिन् ।