गोर्खा समाज बेल्जियमले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई नगदसहित सम्मान गरेको छ।
समाजले नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी तथा प्रशिक्षकसँगको समन्वयमा उपविजेता टोलीलाई दुई लाख २२ हजार ३२२ रुपैयाँ उपलब्ध गराएको हो।
सोमबार महिला टोलीको पूर्वप्रशिक्षक बालगोपाल महर्जनको समन्वयमा अखिल नेपाल फुटबल संघ (एन्फा)की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, चिफ कोच अरुणा गुरुङ, ओलम्पियन संगिना वैद्यलगायतले खेलाडीलाई उक्त रकम हस्तान्तरण गरेका थिए।
कार्यक्रममा राष्ट्रिय टोलीका खेलाडीहरू दीपा शाही, हिरा केसी, अनिता बस्नेत, सरू लिम्बू, अनिता केसी, सविता रानामगर, रेणुका नगरकोटी र निशा थोकरको सहभागिता थियो। मुख्य प्रशिक्षक राजेन्द्र तामाङ पनि कार्यक्रममा सहभागी थिए।
अञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको नेपाल घरेलु मैदानमै सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग २–१ ले पराजित हुँदा उपविजेतामा सीमित बनेको थियो।