काठमाडौं महानगरपालिका– २४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रुपैयाँसहित एक व्यवसायी पक्राउ परेका छन्। चितवन भरतपुर महानगरपालिका– १५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टेलिजेन्स शाखा र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका श्रेष्ठ मनी ट्रान्सफरसम्बन्धी व्यवसायमा आबद्ध छन् । मनी ट्रान्सफरको आवरणमा हुन्डीको कारोबार गरेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले बताए।