अछाम ढकारी– ८ की सरस्वती खड्का र ईशरा खड्का मृत भेटिएको घटनामा संलग्न रहेको आशंकामा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्ने ढकारी गाउँपालिका– ३ तालीका १७ वर्षीय चक्र बुढा र १५ वर्षीय कमल बुढा हुन् ।
उनीहरूलाई आइतबार बेलुकी प्रहरीले घरबाटै पक्राउ गरेको हो । ‘अनुसन्धानका लागि दुईजनालाई पक्राउ गरेका छौँ,’ अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’
पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मंगलसेन ल्याइएको छ । मृतक किशोरी र पक्राउ परेकाहरू नाताले साली–भिना हुन् । पारिवारिक स्रोतका अनुसार उनीहरूबिच फोनमा कुराकानी हुने गरेको थियो ।
गत शुक्रबार बाख्रा चराउन जंगल गएकी १५ वर्षीया सरस्वती र १४ वर्षीया ईशरा शनिबार वडा नम्बर १ को शोडषा सामुदायिक वनमा मृत भेटिका थिए । उनीहरू एकैघरका फुपू-भदै हुन् । दुवैजना स्थानीय विद्याप्रबोधनी माविमा कक्षा आठमा अध्ययनरत छात्रा हुन् ।
मृत भेटिएका उनीहरूको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । मृतकहरूको शव पोस्टमार्टमका लागि भेरी अञ्चल अस्पताल नेपालगन्ज लगिएको छ । आइतबार पोस्टमार्टमका लागि अछाम जिल्ला अस्पताल मंगलसेन ल्याइए पनि आफन्तको मागका आधारमा नेपालगन्ज लगिएको हो ।
अब पोस्टमार्टमको रिपाेर्ट आएपछि मात्र घटनाको थप तथ्य थाहा हुने भन्दै प्रहरी नायब उपरीक्षक भण्डारीले घटनाको अन्य ढंगले गरिने अनुसन्धान जारी रहेको बताए । यो घटनामा दुईथरी धारणा सार्वजनिक भइरहेका छन् ।
स्थानीयले दुवैजना मृत भेटिनुले उनीहरूको हत्या नै भएको दाबी गर्दै आएका छन् भने घटनास्थलको प्रकृति हेर्दा ढुंगा खसेर ज्यान गएको हुन सक्नेसमेत अर्कोथरीको अनुमान छ ।