उदयपुरको चौदण्डीगढी नगरपालिका– ४ बसाहामा आयोजना हुँदै आएको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको दसाैँ संस्करण भोलि मंगलबारदेखि सुरु हुने भएको छ।
बसाहा क्लबको आयोजनामा चौदण्डीगढी नगरपालिका– ४ बसाहामा हुने प्रतियोगितामा आठ टिम सहभागी छन्। कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने प्रतियोगिता बसाहाको बर्खेडाँडास्थित नारदमुनि थुलुङ रंगशालामा हुने आयोजक क्लबका अध्यक्ष गौतम राईले जानकारी दिए।
अध्यक्ष राईका अनुसार मंगलबार हुने उद्घाटन खेलमा संकटा एफसी काठमाडौं र बागमती युवा क्लब सर्लाही भिड्नेछन्। दोस्रो खेलमा आयोजक बसाहा क्लब र झापा ११ फुटबल क्लब झापा भिड्नेछन्।
यसैगरी, तेस्रो खेलमा सलहेस युवा क्लब सिराहा र एलएक्स सिटी क्लब मोरङ भिड्दा चौथो खेलमा न्यु त्रियुगा स्पोर्टस् क्लब फत्तेपुर सप्तरीसँग सुनसरीको एभरेस्ट फुटबल क्लबले शक्ति दाँज्नेछन्।
माघ १९ र २० गते सेमिफाइनल हुने प्रतियोगिताको फाइनल २२ गते हुनेछ। विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख २५ हजार पाउँदा म्यान अफ दी म्याचलाई पाँच हजार प्रदान गरिने अध्यक्ष राईले जानकारी दिए।
यसैगरी, प्रतियोगिताका बेस्ट प्लेयर, बेस्ट मिडफिल्डर, बेस्ट किपर र उदीयमान खेलाडीसहित सात विधागत उपाधि विजेता खेलाडीलाई पनि जनही पाँच हजार नगदसहित कप र मेडल प्रदान गरिनेछ।
४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताबाट ६० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ। ००७ सालका प्रजातान्त्रिक क्रान्ति योद्धा नारदमुनि थुलुङ राईको स्मृतिमा बसाहा क्लबले विगत डेढ दशकदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ।
बसाहामा नारद आदर्श शिक्षा क्याम्पस, नारद आदर्श माध्यमिक विद्यालय, रंगशाला उनकै नामबाट नामकरण गरिएको छ। असोज १७ गतेदेखि हुने भनिएको गोल्डकप विविध प्राविधिक कारणले चार महिना पछि सरेको हो।