१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ असोज ९ बुधबार o६:२५:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

त्रिभुवन विमानस्थलमा पार्किङमा लुट, दोब्बरभन्दा धेरै बढाइयो शुल्क

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार o६:२५:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ शुल्क एकैपटक दोब्बर बनाएपछि सर्वसाधारणको गम्भीर असन्तुष्टि देखिएको छ । विमानस्थलमा १० भदौदेखि एकैपटक पार्किङ शुल्क दोब्बरभन्दा धेरै बढाइएको छ । 

विमानस्थल सेवा शुल्क नियमावली २०७८ बमोजिम क्यानले दुई वर्षअघि आठ गुनासम्म वृद्धि गरेको नयाँ पार्किङ शुल्क १० भदौदेखि कार्यान्वयनमा आएको हो । क्यानले १ मंसिर ०७९ देखि लागू हुने गरी ३० असोजमा देशैभर सञ्चालनमा रहेका विमानस्थलको पार्किङ शुल्क बढाउने निर्णय गरेको थियो । 

पार्किङ शुल्क बढाउने निर्णय नेपाल सरकारले अनुमोदन गरेपछि कार्यान्वयनमा आएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । विमानस्थल कार्यालयले एक महिनाको समयसीमा तोकेर १४ भदौमा नयाँ दररेटअनुसारको पार्किङका लागि नयाँ ठेक्कासमेत आह्वान गरिसकेको छ ।

नयाँ पार्किङ शुल्कअनुसार त्रिभुवन विमानस्थलमा मोटरसाइकल तथा स्कुटर पार्किङ गरेको प्रतिघण्टा ४० र कार, जिप, भ्यान पार्किङको ८० रुपैयाँ छ । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मोटरसाइकल तथा स्कुटरको प्रतिघण्टा पाँच रुपैयाँ र कार, जिप र भ्यानको २० थियो । मोटरसाइकल र स्कुटर दिनभरि पार्किङ गरेको ३० र कार, जिप, भ्यानको १२० शुल्क तोकिएको थियो । तर, पार्किङ शुल्क उठाउन ठेक्का पाएको कम्पनीले आफूखुसी दुईपांग्रेको २० र कार, जिप, भ्यानको ४० रुपैयाँ उठाउँदै आइरहेको थियो । 

त्रिभुवन विमानस्थलको माथिल्लो भागमा सिद्धगढी मारुती जेभी प्रालिले पार्किङ शुल्क उठाउँदै आइरहेको छ । र, अन्तर्राष्ट्रिय टर्मिनलको अराइभलतर्फ (तल) आइएमएस एयरपोर्ट सर्भिसेजले पार्किङ शुल्क लिँदै आएको छ । आइएमएसले यसअघि क्यानले निर्धारण गरेको नयाँ पार्किङ शुल्क लिँदै आएको छ । आइएमएसले ३० वर्षका लागि ठेक्का पाएको छ । 

अहिले ठेकेदार कम्पनीले टाइमकार्डसमेत दिन थालेको छ । एक घण्टा कट्नेबित्तिकै अतिरिक्त पार्किङ शुल्क बढी तिर्नुपर्ने हुन्छ । नयाँ भाडादर अनुसार त्रिभुवन विमानस्थलमा मोटरसाइकल र स्कुटर दिनभरि पार्किङ गरेको २४० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसअघि ३० रुपैयाँ थियो । कार, जिप र भ्यान दिनभरि पार्किङ गरेको यसअघि एक २० रुपैयाँ रहेकोमा नयाँ भाडादर ४८० रुपैयाँ कायम गरिएको छ ।

मिनिबस, माइक्रोबसजस्ता हलुका सवारीसाधन पार्किङ गरेको प्रतिघण्टा सय रुपैयाँ र दिनभरिको ६०० रुपैयाँ शुल्क तोकिएको छ । पुरानो पार्किङ शुल्क प्रतिघण्टा ३० रुपैयाँ र प्रतिदिन १५० कायम थियो । पुरानो व्यवस्थाअनुसार बस, ट्रकजस्ता ठुला सवारीसाधनको प्रतिइन्ट्री ५० रुपैयाँ रहेकोमा अहिले प्रतिघण्टा १५० रुपैयाँ र प्रतिदिन ९०० कायम गरिएको छ । 

नयाँ भाडादर अन्य विमानस्थलहरूमा १ मंसिर ०७९ देखि क्रमशः लागू हुँदै गए पनि त्रिभुवन विमानस्थलमा (आइएमएसको बाहेक) भदौदेखि लागू भएको हो । साबिकको विमानस्थल सेवा शुल्क नियमावली, २०६७ बमोजिम पार्किङको ठेक्का सम्झौता अवधि कायम रहेसम्म साबिककै पार्किङ शुल्क उठाउने व्यवस्था गरेको थियो । सिद्धगढी मारुती जेभी प्रालिसँगको सम्झौता अवधि १० भदौ ०८१ सम्म कायम रहेको हुँदा पुरानै भाडादर उठाउँदै आएको थियो ।

त्रिभुवन विमानस्थल कार्यालयले नयाँ ठेकेदार कम्पनी छनोट गरेपश्चात् निसर्त स्थान खाली गर्ने गरी क्यानले तोकेको नयाँ दररेटअनुसार शुल्क उठाउन पाउने गरी तत्कालका लागि सिद्धगढी मारुती जेभी प्रालिलाई नै पार्किङको ठेक्का दिएको छ । नयाँ दररेटअनुसार पार्किङ शुल्क उठाएबापत ठेकेदार कम्पनीले मासिक रूपमा ९२ लाख ५० हजार ९८८ रुपैयाँ अग्रिम रूपमा त्रिभुवन विमानस्थल कार्यालयलाई बुझाउनुपर्ने बताइएको छ ।

नेपाल उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले पब्लिक जमघट धेरै हुने सार्वजनिक ठाउँहरूमा बिचौलिया खडा गरेर धेरै शुल्क असुल्ने कार्य उपभोक्ताको हितबाट ठिक नभएको बताए । ‘अस्वाभाविक शुल्क लिन थालेपछि असन्तुष्टि चुलिनु स्वभाविक हो । पब्लिक जमघट धेरै हुने सार्वजनिक ठाउँहरूमा बिचौलिया खडा गरेर धेरै शुल्क असुल्ने कार्य उपभोक्ताको हितबाट ठिक होइन । यसले बिचौलियालाई मात्र फाइदा पुर्‍याएको देखिन्छ । जनआक्रोश बढाउने गरी राज्यले चर्को पार्किङ शुल्क असुल्न मिल्दैन । राज्यको सम्पत्तिमा नागरिकले उचित मूल्यमा सेवा प्राप्त गर्नुपर्छ,’ उनले भने ।

अहिले कार्यान्वयनमा आए पनि पार्किङको नयाँ दररेट दुई वर्षअघि नै निर्धारण भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक निरौलाले बताए । ‘अरू विमानस्थलमा नयाँ शुल्क लागू भइसकेको छ । त्रिभुवन विमानस्थलमा ठेकेदार कम्पनीसँग पुरानो सम्झौता अवधि बाँकी हुनाले अहिले लागू भएको हो,’ उनले भने, ‘विमानस्थलमा वर्षौँदेखि पार्किङ शुल्क परिवर्तन गरिएको थिएन । हामीले अध्ययन गरेरै रिजनेबल पार्किङ शुल्क निर्धारण गरेका हौँ ।’ 

भैरहवा र पोखरा विमानस्थलमा कति ?
पुरानो व्यवस्थाअनुसार काठमाडौंबाहिरका सबै विमानस्थलको पार्किङ शुल्क एउटै थियो । तर, नयाँ व्यवस्थाले विमानस्थलपिच्छे फरक–फरक पार्किङ शुल्क तोकेको छ । 

उपत्यकाबाहिरका विमानस्थलमा पुरानो दररेटअनुसार प्रत्येक दुई घन्टा पार्किङ गरेबापत बाइक, स्कुटर र रिक्साको पाँच रुपैयाँ, कार, जिप र टेम्पोको १० रुपैयाँ, हलुका सवारीसाधनको २० रुपैयाँ र गह्रौँ सवारीसाधनको ४० रुपैयाँ शुल्क लिने गरिएको थियो । 

तर, १ मंसिर ०७९ देखि लागू भएको नयाँ दररेटअनुसार गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुईपांग्रे पार्किङ गरेको प्रतिघण्टा ३० रुपैयाँ र प्रतिदिन १८० रुपैयाँ, चारपांग्रे कार, जिप र भ्यानको प्रतिघण्टा ६० रुपैयाँ र प्रतिदिन ३६० रुपैयाँ, हलुका सवारीको प्रतिघण्टा ८० रुपैयाँ र प्रतिदिन ४८० रुपैयाँ, गह्रौँ सवारीसाधनको प्रतिघण्टा एक सय २० रुपैयाँ र प्रतिदिन ७२० रुपैयाँ पार्किङ शुल्क तोकिएको छ ।

नयाँ विमानस्थल सेवा शुल्क नियमावली, २०७८ बमोजिम चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भरतपुर, पोखरा (आन्तरिक), नेपालगन्ज र धनगढी विमानस्थलमा पार्किङ शुल्क दुईपांग्रेको प्रतिघण्टा २० रुपैयाँ, कार, जिप, भ्यानको प्रतिघण्टा ४० रुपैयाँ, हलुका सवारीको प्रतिघण्टा ६० र गह्रौँ सवारीसाधनको प्रतिघण्टा ९० रुपैयाँ तोकिएको छ । यस्तै, तुम्लिङटार, राजविराज र सुर्खेत विमानस्थलमा प्रतिघण्टा पार्किङ शुल्क दुईपांग्रेको १५ रुपैयाँ, कार, जिप, भ्यानको ३० रुपैयाँ, हलुका सवारीको ५० रुपैयाँ र गह्रौँ सवारीसाधनको ७० रुपैयाँ तोकिएको छ ।

माथि उल्लेख गरिएभन्दाबाहेकका विमानस्थलमा पार्किङ गरेबापत प्रतिघण्टा दुईपांग्रेको १० रुपैयाँ, कार, जिप, भ्यानको २० रुपैयाँ, हलुका सवारीको ३० रुपैयाँ र गह्रौँ सवारीसाधनको ५० रुपैयाँ शुल्क तोकिएको छ ।