१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
तस्बिर : रबिह दाहेर / एएफपी
२o८१ असोज ९ बुधबार o९:२३:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

इजरायली हमलामा मृत्यु हुने लेबनानीको संख्या ५५८ पुग्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार o९:२३:oo

लेबनानमा सोमबार भएको इजरायली हमलामा मृत्यु हुनेको संख्या ५५८ पुगेको छ । इजरायली हमलामा ३५ बालबालिकासहित उनीहरूको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको हो । आक्रमणमा एक हजारभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको संख्या धेरै भएकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । इजरायलले दक्षिणीपूर्वी लेबनानका करिब एक हजार ६ सय स्थानमा आक्रमण गर्दा ‘ठुलो संख्यामा’ हिजबुल्लाहका लडाकुहरू मारिएको बताएको छ । इजरायली सेनाले यसलाई ‘अप्रेसन नर्दन एरो’ भनेको थियो ।

यसैबिच, इरानका राष्ट्रपति मसुद पेजेस्कियनले हिजबुल्लाह इजरायल आक्रमणविरुद्ध एक्लै खडा हुन नसक्ने बताएका छन् । ‘पश्चिमी मुलुक, युरोपेली देश र संयुक्त राज्य अमेरिकाबाट सुरक्षा र समर्थन प्राप्त भइरहेको देशविरुद्ध हिजबुल्लाह एक्लै खडा हुन सक्दैन,’ पेजेस्कियनले सिएनएनसँगको अन्तर्वार्तामा भने । संयुक्त राष्ट्र संघको वार्षिक महासभाका लागि न्युयोर्क भ्रमणमा रहेका पेजेस्कियनले इजरायललाई युद्धोन्मादको आरोप लगाएका छन् । 

इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई इजरायलविरुद्ध तत्काल कारबाही गर्न पनि आह्वान गरेको छ । ‘इरान उदासीन रहनेछैन,’ विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा भने, ‘हामी लेबनान र प्यालेस्टाइनका जनताको साथमाउभिएका छौँ ।’ उनले ‘लेबनानलाई अर्को गाजा बन्न नदिन’ अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । हिजबुल्लाहको सञ्चार उपकरणलक्षित आक्रमणमा ३९ जनाको मृत्यु भएको र लगभग तीन हजार घाइते भएको एक हप्ताभन्दा पनि कम समयमा इजरायली आक्रमण सुरु भएको हो । 

हिजबुल्लाहले उसको तेस्रो वरियताको कमान्डर अली कराके जीवितै रहेको जनाएको छ । स्रोतका अनुसार राजधानीमा भएको आक्रमणले उनलाई लक्षित गरेको बताएपछि सुरक्षित स्थानमा गएका छन् । इजरायलको तटीय सहर हाइफामा सोमबार हवाई आक्रमणको साइरन बज्दा मानिसलाई आश्रयस्थलतर्फ दौडिरहेको देखिएको थियो । 

हिंसा इजरायलको गाजासँगको दक्षिणी सीमाबाट लेबनानसँगको उत्तरी सीमातर्फ सरेपछि विश्वका शक्तिशाली मुलुकले इजरायल र हिजबुल्लाहलाई पूर्ण युद्धको अवस्थाबाट पछि हट्न आग्रह गरेका छन् । फ्रान्स र इजिप्टले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्लाई हस्तक्षेप गर्न आह्वान गरेका छन् ।