१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ९ बुधबार ११:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘प्रधानमन्त्रीज्यू ! कोलम्बियामा हुँदा विश्वविद्यालय ज्ञानको मन्दिर भन्ने नेपालमा राजनीतिक खेलको मैदान बनाउने ?’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार ११:४८:oo

पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीको पाखण्ड र दोहोरो चरित्र छर्लंग भएको उल्लेख गरेकी छिन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीलाई प्रश्न गरेकी छिन्, ‘किन हाम्रा प्रधानमन्त्रीज्यू अमेरिकामा हुँदा मात्र विश्वविद्यालयलाई ज्ञानको मन्दिरको रूपमा देख्नुहुन्छ ? किन नेपालीका छोराछोरी पढ्ने नेपालका विश्वविद्यालयलाई राजनीतिक खेल मैदान बनाउनुहुन्छ ?’

उनले थपेकी छिन्, ‘कोलम्बिया विश्वविद्यालयमा प्रवचन दिँदै हाम्रा प्रधानमन्त्री भन्नुहुन्छ– ‘विश्वविद्यालय ज्ञानको मन्दिर हो।’ कसैले सोधौँ न हो– किन विश्वविद्यालयमा राजनीतिक भागबन्डामा आफ्ना आसेपासेहरूलाई नियुक्त गर्नुहुन्छ ? किन कलेजलाई ब्यारेकजस्तो बनाएर विद्यार्थीलाई कार्यकर्ता बनाउनुहुन्छ ? किन हो यो दोहोरो चरित्र ? प्रधानमन्त्रीज्यूको पाखण्ड र दोहोरो चरित्र छर्लंग छ।’

कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीको  परीक्षाको समय निश्चित नभएको भन्दै उनले आजभोलि हुने भनिएका प्रवेश परीक्षाहरू फेरि स्थगित भएको जनाएकी छिन् । उनले भनिन्, ‘विद्यार्थीहरू अब केही हुँदैन भन्ने निराशामा छन्। ‘सदनमा बोले पनि केही हुँदैन ? अब विकल्प के हो ? भनेर पीडित विद्यार्थीहरू सोधिरहेका छन्। परीक्षा ढिलो हुनुमा सत्तारूढ कांग्रेस–एमालेकै विद्यार्थी संगठनहरूको झगडा मुख्य कारण बनेको छ। कसैले पनि यो समस्याको समाधान गर्न चाहँदैन, किनभने यसले उनीहरूको ‘भविष्यको राजनीतिक सम्भावना’ अर्थात् ‘गुण्डागर्दी’लाई निस्तेज गर्नेछ। भोलि प्रोफेसर पिट्न र विद्यार्थीलाई चिट चोराउन होस् या असुली गर्न तिनै विद्यार्थी संगठन चाहिन्छन्।

प्रधानमन्त्रीज्यू ! तपाईंले विद्यार्थीको पढ्न पाउने हक बन्धक राखेर कृषि औद्योगिकीकरण गर्न सक्नुहुन्न है। न त तपाईंले विद्यार्थी–विद्यार्थीबिच घृणा फैलाएर विश्वविद्यालयलाई ज्ञानको मन्दिर बनाउन सक्नुहुन्छ। खोजेको के हो ? के तपाईं आफ्ना विद्यार्थीहरूका समस्याप्रति चासो राखेर समाधान गर्न सक्नुहुन्न ? कि समाधान चाहनुहुन्न ?’

उनले गृहमन्त्री र शिक्षामन्त्रीलाई विद्यार्थी–विद्यार्थी लडाइराख्नु, पढ्ने–पढाउने माहौल बनाउनुपर्दैन भन्ने प्रधानमन्त्रीको आदेश नै छ कि, तपाईंहरूलाई पनि बालै मतलब नभाको हो ? भनेर प्रश्न गरेकी छिन् ।