१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ९ बुधबार १३:१७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रविले सहकारीको अनुसन्धानलाई रोक्न खोजेको एमाले महासचिव पोखरेलको आरोप 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १३:१७:oo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको विषयमा भइरहेको अनुसन्धानलाई रोक्न खोजेको आरोप लगाएका छन् । प्रेस चौतारीले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले अनुसन्धान रोक्न भइरहेका गतिविधिले कानुनी राज्यको उपहास गरेको बताए ।

‘सहकारी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि लागेको आरोपमा सन्दर्भमा अनुसन्धानलाई नै रोक्ने प्रकारका जुन गतिविधि भइरहेका छन्, ती कानुनी राज्यमाथिको उपहास हो,’ पोखरेलले भने, ‘अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसको अध्यक्षले निसर्त सहयोग गर्नुपर्छ ।’ सुशासनका कुरा गर्न राजनीतिक दल घोषणा गर्नेले अनुसन्धानको प्रक्रियामा जान नचाहनु गलत रहेको उनको भनाइ छ । 

‘अनुसन्धानको प्रक्रियाबाट भागेर सुशासन दिन सकिन्छ ?’ उनले प्रश्न गरे । सरकारीको रकम जथाभावी खर्च गरेर हिनामिना गर्नमा लामिछानेको संलग्नता रहेको महासचिव पोखरलले आरोप लगाए । मिडिया आर्थिक संकटमा गुर्जिरहेका वेला सरकारीबाट पैसा ल्याउनकै लागि मिडिया कम्पनी स्थापना गरेको अनुसन्धानबाट प्रस्ट भएकोे उनले बताए। लामिछानेलाई संकेत गर्दै उनले तत्कालीन प्रबन्ध–निर्देशकले सहकारीबाट आएको पैसा जथाभावी खर्च गर्दा बचतकर्ताको रकम संकटमा परेको बताए । पोखरेलले लामिछानेको नाम भने उल्लेख गरेनन् ।

‘एउटा कम्पनी खडा गरेर सबै लगानी कानुनविपरीत सहकारीबाट ल्याएको पाइएको छ । सञ्चारमाध्यम संकटमा रहेका वेला टेलिभिजन सञ्चालनको काम किन गरियो भन्दा यो तरिकाबाट पैसा प्राप्त गर्न गरिएको रहेछ,’ उनले भने, ‘कुनै पनि प्रबन्ध–निर्देशकले स्रोत के हो, रकमको दायित्व कम्पनीको हुन्छ भन्ने नबुझी जथाभावी खर्च गर्दा रकम संकटमा पुगेको हो, संकटमा पुर्‍याउने व्यक्तिले म निर्दोष छु, मैले क्लिनचिट पाएँ भन्न मिल्दैन ।’ संसदीय समितिको प्रतिवेदनले कारबाहीको सिफारिस गरेको भए पनि क्लिनचिट पाएँ भनेर हल्ला फैलाइएको पोखरेलले बताए । 

नेपालमा सहकारीको विषयमा प्रहरी अनुसन्धानलाई प्रभावित गर्ने उद्देश्यका साथ अमेरिकामा प्रधानमन्त्री र पराराष्ट्रमन्त्रीविरुद्ध नाराजुलुस भयो भनेर कुप्रचार गर्ने प्रयत्न गरिएको उनले दाबी गरे । उनले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएका प्रधानमन्त्रीविरुद्ध त्यहाँ कुनै गतिविधि नभएको दाबी गरे ।

‘अवरोध भयो, नाराजुलुस भयो भनेर जुन हल्ला फैलाइएको छ, कुनै गतिविधि भएको छैन । चर्चामा ल्याइएका सबै अनुचित र भ्रमपूर्ण कुरा हुन्,’ पोखरेलले भने, ‘नेपालमा प्रहरी अनुसन्धानलाई प्रभावित गर्ने उद्देश्यका साथ प्रधानमन्त्री र पराराष्ट्रमन्त्रीविरुद्ध कुप्रचार गर्ने प्रयत्न गरिएको छ। यसले वैकल्पिक शक्ति निर्माण गर्नेहरूको नियत उजागर गरेको छ।’ 

अर्को प्रसंगमा उनले राजनीतिक स्थायित्वका लागि दुई ठुला पार्टी मिलेको बताए । नयाँ सरकार बनेपछि मुलुकको अर्थतन्त्र सुधार हुन थालेको, राजस्व र वैदेशिक लगानी बढ्न थालेको उनले बताए । मुलुकमा बलियो राजनीतिक शक्ति नहुँदा राजनीतिक स्थायित्व हुन नसकेको र यसले गर्दा देश समृद्धिको बाटोमा अघि बढ्न नसकेको उनको भनाइ छ ।

आगामी निर्वाचनपछि देशमा एउटा पार्टीको एकल सरकार बन्नुपर्ने धारणा उनले राखे। साना दलहरूले अस्थिरता सिर्जना गरेकाले अब देशको राजनीति त्यसको अन्त्य गर्ने प्रक्रियामा जानुपर्ने उनको भनाइ छ। कांग्रेस र एमालेले आगामी निर्वाचन एक्लै लड्ने गरेको घोषणा गरिसकेकाले मुलुकको राजनीति साना दलका कारण हुने अस्थिरता अन्त्यतिर जाने पोखरेलले बताए। 

उनले सत्ताबाट बाहिरिनुपरेपछि माओवादी अध्यक्ष प्रचण्डमा छटपटी देखिएको टिप्पणी गरे। सत्ता गुमाएको कुण्ठाले प्रचण्डले संसदमा अराजनीतिक अभिव्यक्ति दिएको पोखरेलले बताए। अहिले काम गर्न खोजेको सरकारका विरुद्ध काठमाडौंको माइतीघरमा विभिन्न नाममा भइरहेका प्रदर्शन र आन्दोलनको पनि उनले आलोचना गरे । ‘मुलुक संकटका वेला माइतीघर सुनसान हुने, तर काम गर्न खोजेका वेला माइतीघरमा प्रदर्शन सुरु हुन्छ,’ महासचिव पोखरेलले भने, ‘काम गर्न खोजिरहेको सरकारलाई बदनाम गर्न माइतीघरमा भइरहेका गतिविधि रोक्नुपर्छ।’