१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ९ बुधबार १४:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक अस्पष्टताका कारण प्रदेश सरकारको कामकाज प्रभावित : मुख्यमन्त्री सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १४:४२:oo

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आर्थिक तथा सामाजिक रूपान्तरणका लागि नीतिगत प्रतिबद्धता र संकल्पसहित अगाडि बढेको बताएका छन् । 

वर्तमान सरकारको सय दिनको अवधिमा प्राप्त उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा मुख्यमन्त्री सिंहले भने, ‘प्रारम्भिक र सर्वसम्मत खाका, गति र कार्यशैली सुनिश्चित गरी नूतन सोच तथा अक्षय निष्ठाका साथ अघि बढिरहेका छौँ ।’ उत्तरदायित्व र जिम्मेवारीका साथ सुशासन र विकासका पक्षमा परिणामुखी महत्त्वाकांक्षी  दीर्घकालिक कार्ययोजनाअनुसार प्रदेश सरकार काम गर्दै आएको उनको भनाइ थियो । 

चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा जटिलता आउन नदिने चुनौतीसँगै आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, विनियोजन विधेयक तयार गर्ने तथा पारित गराउने काम निर्धारित समयमा कुशलतापूर्वक सम्पन्न गरेको मुख्यमन्त्री सिंहले बताए।

संरचनागत र व्यवस्थापकीय कठिनाइ, कर्मचारी व्यवस्थापन, मानव संसाधन क्षमता एवं अनुभवको कमी, न्यून आर्थिक स्रोत आदिका कारण प्रदेश सरकारका कतिपय जिम्मेवारी प्रक्रियागत कारणले अलमलमा पर्ने गरेको स्वीकार गर्दै उनले  सिकाइ र अनुभवका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

संवैधानिक अस्पष्टता, संघीय कानुन निर्माण नहुनु तथा विद्यमान कानुन कार्यान्वयनका समस्या र अत्यावश्यक विषयमा प्रादेशिक कानुनसमेतको अभावले प्रदेश सरकारका काम प्रभावित भइरहेको मुख्यमन्त्री सिंहले गुनासो पोखे । प्रदेशको प्रशासकीय सुधार, सुशासनको प्रत्याभूति, समृद्धि, सन्तुलित एवं आत्मनिर्भर मधेशका लागि तीव्र र परिणाममुखी काममा जोड दिइएको उनले  उल्लेख गरे ।