१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ९ बुधबार १६:४१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

साहारा सहकारी ठगीमा जिबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

गोर्खा मिडियामा गएको रकमबारे थप बुझ्न प्रहरीलाई निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १६:४१:oo

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना अभियोगमा गितेन्द्रबहादुर (जिबी) राईसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको छ। मंगलबार जिल्ला अदालत चितवनमा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो।

जिबी राई भन्ने गितेन्द्रबाबु राई, सागर केसी, वीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणि भट्टराई, भूपेन्द्र राई, अनन्तबाबु राई, आशिष आनन्द, देवेन्द्रबाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, कुमार रम्तेल, शरण विश्वकर्मा र थमन भन्ने थानबहादुर बुढामगरविरुद्ध मुद्दा दर्ता भएको हो।
अदालतमा १७ जनाविरुद्ध मुद्दा दायर भए पनि चितवन प्रहरीले कसैलाई पक्राउ गरेको छैन। यसअघि कुमार रम्तेललाई भने कास्की प्रहरीले पक्राउ गरेको थियो।

गत वर्ष ९ असोजमा जिल्ला प्रहरी कार्यालय चितवनमा सहकारी ठगीसम्बन्धी जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान गरेर अदालतलाई बुझाएको थियो। तर, जिल्ला सरकारी वकिलको कार्यालय चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा मिडियामा गएको रकमबारे थप बुझ्न भनेपछि थप अनुसन्धानमा लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेष रिमालले बताए।

सहकारीबाट गोर्खा मिडियाको ग्लोबल आइएमई बैंकको खातामा जम्मा भएको भनिएको ४७ करोड रुपैयाँबराबरको कारोबार के कसरी, को–कोसँग भएको भन्ने विवरण प्राप्त नदेखिएकाले सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्न चितवन प्रहरीलाई निर्देशन दिएको हो। सरकारी वकिल कार्यालयले साहारा चितवन सहकारीबाट रकम गएको देखिएको सन्दर्भमा सहकारीबाट रकम गएको भनी खुल्न आएका कम्पनी तथा प्रालिहरूको समेत बैंक खाताको स्टेटमेन्ट मागेकोमा सोको विवरण प्राप्त हुन नसकेको बताइएको छ।

साहारा सहकारीका ४४६ बचतकर्ताले प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धान भएर आएको प्रतिवेदनका आधारमा मुद्दा दायर गरिएको हो। उजुरी दिनेहरूको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ सहकारीमा बचत थियो। उक्त बचत रकम साहारा चितवन सहकारीका एक मुख्य र दुई शाखा कार्यालयका जिम्मेवार व्यक्तिहरूले भर्पाइ गर्नुपर्ने मागदाबीसहित मुद्दा दर्ता गरेको सरकारी वकिलको कार्यालयले जनाएको छ।

यो सहकारीका कुल ६ हजार ३३४ बचतकर्ता छन्। कुल बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। अब प्रहरीले अहिले उजुरी दिएका ४४६ जनाबाहेककाले थप उजुरी दिएको अवस्थामा पनि पुनः अनुसन्धान गर्नुपर्नेछ।

सनराइज सहकारीको अनुसन्धान अन्तिम चरणमा
भरतपुर महानगरपालिका– ३ लायन्सचोकमा मुख्य कार्यालय रहेको सनसाइज बचत तथा ऋण सहकारीको अनुसन्धान पनि अन्तिम चरणमा पुगेको चितवन प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार सविता गौतम, सुजता पौडेल, लक्ष्मी न्यौपाने, सनम महतो, सञ्जीवकुमार महतो अहिले भरतपुर कारागारमा छन्।

कारागारमा रहेकामध्ये पूर्वी नवलपरासी (नवलपुर) कावासोतीमा रहेको छिपछिपे सहकारीको बचत रकम अपचलन गरेका पनि छन्। उनीहरूलाई नवलपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो। छिपछिपे सहकारीको बचत रकम अपचलन मुद्दामा राप्रपाकी समानुपातिक संघीय सांसद गीता बस्नेतविरुद्ध पनि मुद्दा चलेको छ। बस्नेत सनराइज सहकारीको रकम हिनामिनामा पनि मुछिएको बताइएको छ।