१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ९ बुधबार १३:४६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बहुवर्षीय आयोजनाअन्तर्गत मन्दिर पुनर्निर्माणको काम अलपत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १३:४६:oo

सल्यानको खैराबाङ भुवनेश्वरी भगवती मन्दिरको पुनर्निर्माणको काम अलपत्र परेको छ। बहुवर्षीय आयोजनाअन्तर्गत गत आर्थिक वर्षमा विनियोजन भएको बजेटको काम सकिएको र चालू आर्थिक वर्षमा विनियोजन भएको बजेट कार्यान्वयनमा नआएकाले तत्काललाई पुनर्निर्माणको काम रोकिएको हो । 

जिल्लाको शारदा नगरपालिका– ११ मा रहेको ऐतिहासिक, धार्मिक एवं प्राकृतिक पर्यटन क्षेत्रको रूपमा रहेको खैराबाङ भुवनेश्वरी भगवती मन्दिरमा प्यागोडा शैली पुनर्निर्माणको काम अघिल्लो वर्षदेखि थालिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्त्व विभागको सहयोगमा करिब चार दशकअघि पुनर्निर्माण गरिएको यस मन्दिरको पुनर्निर्माण गर्न सुरु गरिएको हो । जसअनुसार मन्दिरको गाह्रो लगाउने, झ्यालढोका राख्ने काम सकिएको छ । तर, मन्दिरको छाना राख्ने र रङरोगनको काम भने अझै बाँकी रहेको खैराबाङ भुवनेश्वरी मन्दिर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष छविकुमार शर्माले जानकारी दिए ।

मन्दिरको पुनर्निर्माणका लागि एक करोड ५२ लाखको लागत अनुमान गरिएको थियो । त्यसमध्ये गत आर्थिक वर्ष झन्डै ८० लाख रुपैयाँ प्राप्त भयो । मन्दिरको बाँकी काम सम्पन्न गर्न अझै ५० लाख रुपैयाँभन्दा बढी लाग्ने आकलन छ । पुरातत्त्व विभागले आवश्यकताअनुसारको बजेटको व्यवस्था गरे यस वर्ष मन्दिर पुनर्निर्माणको काम सबै सकिने अध्यक्ष शर्माले जानकारी दिए।

यस वर्षको बडादसैँ आउन करिब केही साता बाँकी छ। तर, खैराबाङ भुवनेश्वरी मन्दिरको पुनर्निर्माणको काम भने सकिने छाँटकाँट छैन । यस्तो अवस्थामा निर्माणाधीन मन्दिरबाटै पूजाआजाको व्यवस्था मिलाइने भएको छ । यस मन्दिरमा विशेष गरेर आश्विन शुक्लपक्ष र चैत्र शुक्लपक्षसँगै अरू समयमा पनि भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

खैराबाङ भगवती मन्दिरमा बर्सेनि करिब दुई लाख भक्तजनले दर्शन गर्दछन् । धार्मिक पर्यटनको धरोहर खैराबाङ भुवनेश्वरी मन्दिरमा दर्शन गर्न दाङ, रुकुम, रोल्पा, प्युठान, दैलेख, सुर्खेत, जाजरकोट, जुम्ला, डोल्पा, अर्घाखाँची, गुल्मी, बागलुङ, कैलाली, बर्दिया, बाँके, कञ्चनपुर, काठमाडौं, ललितपुर, भक्तपुरलगायत देशका विभिन्न भाग र भारतका विभिन्न स्थानबाट समेत भक्तजन आउने गर्दछन् । स्थानीय दीपेन्द्र बुढाथोकीले यस मन्दिरमा पूजाआजा गर्दा मनले चित्ताएको मनोकांक्षा पूरा हुने विश्वास लिएर पूजाआजा गर्न आउनेको संख्या धेरै भएको बताए ।