१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
रासस वासिङ्टन
२o८१ असोज ९ बुधबार १३:२५:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

इरानबाट मेरो जीवन ठुलो खतरामा छ : ट्रम्प

Read Time : > 1 मिनेट
रासस, वासिङ्टन
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १३:२५:oo

रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले इरानले आफ्नो जीवनमा ‘ठुलो खतरा’ उत्पन्न गरेको बताएका छन्। अमेरिकी गुप्तचर निकायले तेहरानबाट ‘वास्तविक र विशिष्ट’ खतराको चेतावनी दिएको आफ्नो प्रचार टोलीले बताएपछि ट्रम्पको उक्त भनाइ आएको हो।

‘इरानबाट मेरो जीवनमा ठुलो खतरा छ, सम्पूर्ण अमेरिकी सेनाले हेरिरहेको छ र प्रतीक्षा गरिरहेको छ,’ उनले आफ्नो ट्रुथ सामाजिक प्लेटफर्ममा लेखेका छन्, ‘इरानले पहिला नै केही प्रयास गरेको थियो जुन सफल भएन, तर फेरि उसले प्रयास गर्नेछ। म पहिला कहिल्यै नदेखेकोजति धेरै मानिस, बन्दुक र हतियारले घेरिएको छु।’

ट्रम्पले आफ्नो जीवनमा भएका दुई हत्या प्रयासपछि अमेरिकी गुप्तचर सेवाको बढ्दो निगरानीलाई उल्लेख गरे। उनको प्रचार टोलीले मंगलबार एक वक्तव्यमा अमेरिकी गुप्तचर निकायले ट्रम्पलाई इरानबाट उनको हत्या गर्ने ‘वास्तविक र विशिष्ट’ खतराको चेतावनी दिएको बताएको छ।

प्रचार टोली र ट्रम्प स्वयंले उल्लेख गरेका यी खतराहरू नयाँ हुन् वा पहिले नै रिपोर्ट गरिएका खतराहरू हुन् भन्नेबारेमा तत्काल स्पष्ट भएको छैन।

‘अमेरिकामा अस्थिरता र अराजकता फैलाउने प्रयासमा ट्रम्पको हत्या गर्ने इरानको वास्तविक र विशिष्ट खतराबारे आज राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालयले राष्ट्रपति ट्रम्पलाई जानकारी दिएको थियो,’ प्रचार सञ्चार निर्देशक स्टिभन चेउङले विज्ञप्तिमा भने, ‘गुप्तचर अधिकारीहरूले यी निरन्तर र समन्वित आक्रमणहरू पछिल्ला  केही महिनामा बढेको पहिचान गरेका छन् र सबै एजेन्सीका कानुन कार्यान्वयन अधिकारीहरू राष्ट्रपति ट्रम्पको सुरक्षा र निर्वाचनलाई हस्तक्षेपबाट मुक्त राख्न काम गरिरहेका छन्।’

प्रचार टोलीले यी दाबीबारे थप विस्तार गरेको छैन। विश्व नेताहरू इरानसमर्थित हिजबुल्लाह र इजरायलबिचको शत्रुतालाई व्यापक क्षेत्रीय युद्धमा परिणत हुनबाट रोक्न प्रयासरत रहेका वेला यी दाबी आएका हुन्।

यस गृष्ममा ट्रम्पको हत्या गर्ने प्रयास गरिरहेको भन्ने आरोपलाई इरानले अस्वीकार गरेको छ। पेन्सिल्भेनियामा भएको र्‍यालीमा एक बन्दुकधारीले गोली चलाएर एक व्यक्तिको मृत्यु र ट्रम्पलाई घाइते बनाएको घटनालगत्तै यो आरोप आएको हो।

जुलाई १३ को हत्या प्रयासको केही दिनपछि अमेरिकी सञ्चारमाध्यमहरूले अधिकारीहरूले रिपब्लिकनविरुद्ध कथित इरानी षड्यन्त्रबारे खुफिया जानकारी प्राप्त गरेको र यसले उनको सुरक्षा बढाइएको बताएका थिए। इरानले यी ‘दुर्भावनापूर्ण’ आरोपहरूलाई अस्वीकार गरेको थियो।

‘यदि उनीहरूले ‘राष्ट्रपति ट्रम्पको हत्या’ गरे भने, जसको सधैँ सम्भावना छ, म आशा गर्छु कि अमेरिकाले इरानलाई नष्ट गर्नेछ, पृथ्वीको सतहबाट मेटाइदिनेछ– यदि त्यसो भएन भने अमेरिकी नेताहरूलाई कायर मानिनेछ,’ त्यसवेला ट्रम्पले आफ्नो सामाजिक मिडिया प्लेटफर्म ट्रुथमा लेखेका थिए।