१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ९ बुधबार ११:४६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिबाट मन्त्रिमण्डल गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार ११:४६:oo

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मन्त्रिमण्डल गठन गरेका छन्। आसन्न संसदीय निर्वाचनअघि नै उनले मन्त्रिमण्डल गठन गरेका हुन्।

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा नयाँ आशाका रूपमा जनताले वामपन्थी नेता दिसानायकेलाई राष्ट्रपतिमा निर्वाचित गरेका थिए। श्रीलंकाको २२५ सदस्यीय संसदमा हाल उनको दलका जम्मा तीन सांसद छन्। 

सन् २०२२ को आर्थिक मन्दीले लाखौँ साधारण श्रीलंकालीलाई प्रभावित पारेको र आइएमएफको उद्धार योजनाको पीडादायी कार्यान्वयनपछि उनीप्रतिको समर्थन बढेको थियो। 

उनको कार्यालयले मंगलबार ५४ वर्षीया सांसद हरिनी अमरसुरियालाई न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्रीको रूपमा नियुक्त गरेको घोषणा गरेको छ। 

चार वर्षअघि पहिलोपटक संसदमा निर्वाचित भएका अमरसुरिया लैंगक समानता र अल्पसंख्यक अधिकारका मुद्दाहरूमा सक्रियताका लागि परिचित छन्। उनी र बाँकी दुई जेभिपीका सांसदले सबै मन्त्रीका जिम्मेवारी बहन गर्नेछन् र संसद् विघटन भएपछि कार्यवाहक मन्त्रीको रूपमा पनि काम गर्नेछन्।

‘हामीसँग श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रिमण्डल हुनेछ,’ पार्टीका सदस्य नमल करुणारत्नेले सञ्चारकर्मीलाई भने, ‘त्यसपछि संसद् विघटन हुनेछ। यो आगामी २४ घण्टाभित्रमा पनि हुन सक्छ।’

श्रीलंकाको संकट दिसानायकेका लागि एउटा अवसर साबित भएको छ । उनी ३८ अन्य उम्मेदवारलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्। अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले सोमबार दिसानायकेलाई बधाई दिँदै उद्धार कार्यक्रमबारे छलफल गर्न तयार रहेको बताएको छ। 

‘श्रीलंकालाई आर्थिक पुनरुत्थानको मार्गमा लैजान सहयोग गरेको कठोर परिश्रमबाट हासिल गरिएका उपलब्धिहरूलाई अगाडि बढाउने दिशामा हामी राष्ट्रपति दिसानायकेसँग मिलेर काम गर्न तयार छौँ,’ वासिङ्टनस्थित आइएमएफका एक प्रवक्ताले बताए। (एजेन्सीको सहयोगमा)