१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ९ बुधबार ११:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आज जितिया पर्व, नवलपुरका स्थानीय तहले दिए सार्वजनिक बिदा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार ११:२१:oo

तराईका आदिवासी थारू समुदायका महिलाहरूले आज जितिया पर्व मनाउँदै छन् । नवलपुरसहित देशभर थारू समुदायको बाहुल्य रहेको क्षेत्रमा यो पर्व धुमधामका साथ मनाइने गरिन्छ । 

जितियामा महिलाहरू आफ्नो सन्तानको दीर्घायु, सुख, समृद्धि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिन्छन्। हिन्दु नारीले तिजमा जस्तै थारू महिलाले पनि प्रत्येक वर्ष असोज कृष्ण प्रतिपदा सप्तमीदेखि नवमीसम्म जितिया मनाउँछन् । 

परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ । विवाहित महिलालाई माइती घरमा बोलाई लामो समयको भेटघाट, दुःखसुखको भलाकुसारी गर्ने दिनको रूपमा पनि थारू समुदायमा यस पर्वलाई लिइन्छ।  

दाजुभाइ र दिदीबहिनीको माया, प्रेम तथा स्नेहको प्रतीकको रूपमा लिइने यो पर्व थारू समुदायको महत्त्वपूर्ण चाडमध्येको प्रमुख हो । यस पर्वमा दाजुभाइले दिदीबहिनीलाई माइतमा बोलाई मिठोमिठो खानेकुरा खुवाई ससुराली पठाउने गर्दछन्। दाजुभाइले ससुरालीबाट माइती आएका दिदीबहिनीलाई एक जोर कपडा फेरिदिने पनि चलन रहेको छ ।

यसैबिच जितिया पर्वको अवसर पारेर नवलपुरको कावासोती, मध्यविन्दु, विनयी त्रिवेणी, गैँडाकोट, देवचुलीलगायतका पालिकाहरूले भोलि स्थानीय बिदा दिएका छन् । पालिकाहरूले सूचना प्रकाशित गरी आजको जितिया पर्वलाई सार्वजनिक बिदा दिएका हुन् । 

जितियाको दिन कडा व्रत बस्ने र बालबालिकाहरूले भोलिपल्ट परीक्षा दिन नसक्ने भएको कारण १० गते अर्थात् भोलि हुने कावासोती नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको परीक्षा अर्को दिन सञ्चालन गर्ने निर्णय भएको कावासोती नगरपालिकाकी उपप्रमुख फूलकुमारी थनेतले बताइन् ।