१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
मजियार मोतामेदी
२o८१ असोज ९ बुधबार o९:३७:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

युक्रेन युद्ध ‘समाप्त’ गर्ने ट्रम्पको यस्तो योजना 

Read Time : > 3 मिनेट
मजियार मोतामेदी
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार o९:३७:oo

ट्रम्पले सन् २०२० को चुनाव जितेको भए सकभर युद्ध नै नहुने र कथंकदाचित भइहाले पनि ‘२४ घण्टामा’ समाप्त गरिदिने दाबी गरेका छन् । उनले आफ्नो दाबीलाई समर्थन गर्ने कुनै प्रमाण भने पेस गरेका छैनन् ।

डोनाल्ड ट्रम्प र रुसबिचको सम्बन्ध आठ वर्षअघिको ट्रम्पको पहिलो निर्वाचन दौडसँगै जोडिन्छ । उनलाई सन् २०१६ मा ह्वाइट हाउसमा पुग्न रुसले मद्दत गरेको क्रेमलिनमाथि आरोप लाग्दै आएको छ । आफ्नो अहिलेको जारी पुनः निर्वाचन अभियानबिच ट्रम्पले अमेरिकी राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा विस्तृत योजना प्रस्तुत नगरीकन रुस र युक्रेनबिचको युद्ध चाँडै अन्त्य गर्न सक्ने दाबी गरे ।

रिपब्लिकनतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सले एक पोडकास्टमा द्वन्द्वमा वासिंटनको आगामी भूमिकाबारे ट्रम्पको दोस्रो प्रशासनको दृष्टिकोण कस्तो रहन्छ भन्नेबारे अहिले केही विवरण प्रस्तुत गरेका छन् । उनले प्रस्तुत गरेको योजनाबारे हेरौँ र संलग्न सबै पक्षका लागि यसले के अर्थ राख्छ बुझौँ ।

ट्रम्पको हलुका विश्लेषण
पूर्वराष्ट्रपति ट्रम्पले डेमोक्य्राटिक पार्टीको नेतृत्वको विरोध गर्न धेरैपटक युक्रेनप्रति अमेरिकी नीतिलाई उद्धृत गर्दै आएका छन् । वासिंटनले एक अनिश्चित युद्धलाई ठुलो परिणाममा लगानी र हतियार प्रदान गरेको र यसले अमेरिकीलाई फाइदा नगर्ने तर्क उनले गरिरहेका छन् । ट्रम्पले सन् २०२० को चुनाव जितेको भए युद्ध कहिल्यै सुरु नहुने र ‘२४ घण्टामा’ युद्ध समाप्त गरिदिने दाबी गरेका छन् । उनले आफ्नो दाबीलाई समर्थन गर्ने कुनै प्रमाण भने पेस गरेका छैनन् ।

गत हप्ता उपराष्ट्रपति कमला ह्यारिसविरुद्ध राष्ट्रपति बहसको क्रममा आफू नोभेम्बरमा निर्वाचित भएमा जनवरीमा ‘राष्ट्रपति बन्नुअघि नै यो काम पूरा गर्ने’ उनले बताए । तर, योजनालाई विस्तृत रूपमा प्रस्तुत गर्दा वार्तामा पर्दाफास हुने उनले सुझाव दिए । ‘युक्रेन र रुसबिचको युद्ध कसरी रोक्ने भन्नेबारे धेरै सटिक योजना छ । र, मसँग एक निश्चित विचार छ । सायद योजना होइन, तर चीनका लागि भने एक विचार,’ ट्रम्पले गत हप्ता लेक्स फ्रिडम्यानसँगको एक पोडकास्ट अन्तर्वार्तामा भने । उनले अगाडि थपे, ‘तर म तपाईंलाई ती योजना भन्न सक्दिनँ, किनकि यदि मैले ती योजना सार्वजनिक गरेँ भने म तिनलाई प्रयोग गर्न सक्ने छैन । तिनीहरू असफल हुनेछन् । ’

के छ योजनामा ?
ट्रम्पले ‘युक्रेन र रुसलाई रोक्न’ आफ्नो योजनाको विवरण सेयर गर्न अनिच्छुक भएको बताए पनि उनका उपराष्ट्रपति उम्मेदवार भान्स भने त्यसमा एक कदम अगाडि देखिए । भान्सका अनुसार ट्रम्पले चुनाव जिते भने क्रेम लिन, युक्रेन र युरोपेली सरोकारवालासँग वार्ता सुरु गर्नेछन् । ‘रुस र युक्रेनबिचको सीमांकनको वर्तमान रेखा निःशस्त्र क्षेत्रजस्तै हुन्छ,’ उनले गत हप्ता जारी गरिएको एक अन्तर्वार्तामा भने । तथापि भान्सले निःशस्त्र क्षेत्र (डिमिलिटराइज्ड जोन)को स्थान वा हदबारे छलफल गरेनन् । 

‘युक्रेनले आफ्नो स्वतन्त्र सार्वभौमसत्ता कायम राख्छ, युक्रेन नेटोमा सामेल नभई तटस्थ रहन्छ भन्ने सुनिश्चितता रुसले युक्रेनबाट पाउँछ,’ उनले भने । अमेरिकी जलसेनाका भूतपूर्व सदस्य भान्सले क्रिमिया नियन्त्रण गर्न वासिंटनले युक्रेनलाई मद्दत गर्दा ‘धेरै जोखिम’ हुने बताए । सन् २०१४ को हमलापछि रुसले क्रिमियालाई आफूमा विलय गरेको थियो । सम्भावित भावी उपराष्ट्रपति विश्वास गर्छन् कि ट्रम्प तुरुन्तै सम्झौतामा पुग्न सक्छन् । भान्सका अनुसार यो द्वन्द्वलाई ‘हाम्रो समयको मानवीय मिसन’को रूपमा हेर्नु र ‘राम्रो र खराब’बिचको लडाइँ मान्नु गलत हुनेछ । उनको विचारमा रुसले युक्रेनलाई ‘आक्रमण गर्नु हुँदैनथ्यो’ तर ‘युक्रेनीसँग भ्रष्टाचारका समस्या पनि धेरै छन् ।’

योजनाले के अर्थ राख्छन् ?
भान्सद्वारा प्रस्तुत योजनाको रूपरेखा युद्ध समाप्त गर्न मास्कोले प्रस्तुत गरेका दृष्टिकोणसँग धेरै मिल्दोजुल्दो देखिन्छ । उनले हालको सीमांकन रेखाहरू कायम राख्नुपर्ने बताउँछन्, जसको मतलब यो हो कि युक्रेनले प्रभावकारी रूपमा आफ्नो कब्जामा रहेको क्षेत्रमाथिको केही नियन्त्रण छोड्नुपर्नेछ । फेब्रुअरी २०२२ मा युक्रेनमा आफ्नो आक्रमण सुरु गरेको केही महिनाभित्रै रुसले युक्रेनको लुहान्स्क, दोनेस्क, खेरसन र जापोरिझियाका क्षेत्रसहित युक्रेनको केही भाग नियन्त्रणमा लियो । रुसले सन् २०१४ यता युक्रेनको करिब २० प्रतिशत भूभाग सैन्य नियन्त्रणमा लिएको छ । उसले कुनै पनि भावि शान्ति योजनाले यस ‘वास्तविक धरातललाई’ ख्याल गर्नुपर्नेमा जोड दिइरहेको छ ।

युक्रेनले भने कुनै पनि शान्ति सम्झौताका लागि उसको सबै नियन्त्रित क्षेत्र फिर्ता हुनुपर्ने बताएको छ । यसमा रुसले आफूमा विलय गरेको क्रिमियाका युक्रेनको नियन्त्रणमा फिर्ता गर्ने समावेश हुनेछ । युक्रेनले पश्चिमी सैन्य गठबन्धनको सदस्य बन्नका लागि पनि कडा मिहिनेत गरिरहेको छ । नेटोले ३२ सदस्यीय गठबन्धनमा प्रवेश गर्न ‘अपरिवर्तनीय मार्ग’को वाचा गर्दै किभको सदस्यता प्रक्रिया सुरु गरेको छ । किभ रुसी अधिकारीलाई पनि अन्तर्राष्ट्रिय न्यायाधीकरणमा मुद्दा चलाउन चाहन्छ ।

अब के हुन्छ ?
रुस र युक्रेनबिचको युद्ध निकट भविष्यमा रोकिने कुनै संकेत देखाउँदैन । क्रेमलिनले युद्ध तुरुन्तै समाप्त गर्ने ट्रम्पको दाबीबारे निराशावादी धारणा व्यक्त गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सेप्टेम्बरको सुरुमा यस प्रकारको सोच ‘कल्पनाको दायरा’भित्र पर्छ भनेका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पछिल्लो समय ह्यारिस अभियानलाई ट्रोल गरिरहेका देखिन्छन् । मस्कोले ह्यारिसलाई ‘समर्थन’ गरेको बताएका थिए । 

यसबिच रुसी सेनाले पूर्वी युक्रेनमा सानो लाभ हासिल गरिरहेको छ । त्यस्तै युक्रेनी सेनाले कुस्र्क सीमा क्षेत्रमा आफ्नो आक्रमण जारी राखेका वेला रुस र युक्रेनले एक–अर्काको इलाकामा लडाइँ जारी राखेका छन् । रुसी नेताहरूले आफ्नो भूमिमा घुसपैठलाई कम गर्न युक्रेनी क्षेत्रबाट सेना र हतियार हटाउन अर्थपूर्ण रूपमा अस्वीकार गरेका छन्, तर बिस्तारै प्रत्याक्रमक ढंगले अगाडि बढ्न सेना परिचालन गरेका छन् ।

मोतामेदी तेहरानस्थित पत्रकार हुन् । उनले इरान क्षेत्रलाई समेटेर लेख तथा समाचार लेख्दै आएका छन् । 
– अलजजिराबाट