१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ९ बुधबार o९:५४:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दसैँमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार o९:५४:oo

यस वर्षको दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो संख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाख हाराहारीमा मानिस उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए । उनका अनुसार अघिल्लो वर्ष १३ लाखले दसैँमा उपत्यका छाडेका थिए । प्रवक्ता खड्काले भने, ‘यो वर्षको दसैँमा वर्षा भएन भने गत वर्षको तुलनामा पाँच लाख बढीले उपत्यका छाड्ने अनुमान छ ।’

चाडपर्वका वेला आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना पनि बढ्न सक्ने भएकाले उक्त विषयमा सरोकारवालासँग छलफल भइरहेको उनले बताए । प्रवक्ता खड्काले भने, ‘सडक राम्रो नहुनु, सावारी साधनको बढी चाप हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारहतार गरेर यात्रु ओसारपसार गर्नु, बिग्रिएका सवारी साधन पनि सञ्चालन गर्नुलगायत कारण चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ । त्यसलाई न्यूनीकरण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।’

खड्काका अनुसार सम्भावित दुर्घटनाका विषयमा उपत्यकाका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ । दसैँमा सजगतापूर्वक जाँच गरेर कडाइका साथ नियम पालना गराउन लागिपर्ने उनले बताए । 

आगामी शनिबारदेखि टिकट बुकिङ खुला 
आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागको नेतृत्वमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस वर्षको दसैँ–तिहार र छठ पर्वमा काठमाडौं उपत्यका बाहिर जाने र काठमाडौं उपत्यका प्रवेश गर्दा यात्रा सहज र सुरक्षित बनाउने सम्बन्धमा आयोजित बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकार भएकाहरूको उपस्थिति रहेको थियो । 

बैठकमा चाडपर्वलक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकले मध्यम तथा लामो दूरीका यातायातका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको विभागले जनाएको छ । बैठकले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइनबाट समेत टिकट लिने गरी व्यवस्था मिलाइने निर्णय गरिएको विभागका निर्देशक–प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए ।